यसरी फेरिँदैछ सहरीकरणको सम्भावना बोकेको रामपुरको स्वरुप

पाल्पा । रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् ।
बेझाड बजार क्षेत्रमा सडक कालोपत्रका लागि काम थालनी भएपछि यस क्षेत्रका स्थानीय उत्साहित बनेका छन् । बजार क्षेत्रमा दुईतर्फी पैदलमार्गसहितको सडक कालोपत्रको योजना सुरु भएको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत (बजार क्षेत्र) बेझाड बजार, बाङ्गेपसल र सहकारी भवनसम्म एक हजार आठ सय ३० मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए ।
“बजार क्षेत्रमा काम भइरहेको छ, नाली खन्ने काम सकिएको छ, यसपछि कालोपत्र गरिने छ, बजार क्षेत्रलाई व्यवस्थित बनाउन पैदलमार्ग तयार गर्ने र सडक बत्ति जडान गर्दैछौँ”, उनले भने।
बजार क्षेत्रमा सडकको निश्चित मापदण्ड बनाएर रेखाङ्कन गरी काम थालिएको वडाध्यक्ष पोखरेलले बताए। रामपुरको मुख्य बजार क्षेत्र भएकाले बेझाड बजारलाई हेर्न र घुम्न लायक सहर बनाउन स्तरोन्नतिमा जोड दिइएको हो । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत बेझाड बजारसहित रामपुर–५ र ६ मा पर्ने सहायक सडक स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नति गरिँदैछ । सडकको बीच रेखाबाट दायाँबायाँ दुवैतिर चार÷चार मिटर सडक क्षेत्राधिकार छ । कूल रु २६ करोड ७१ लाखको लागतमा आयोजनाको काम सञ्चालन गरिएको छ । आयोजना सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारको समपूरक कोषबाट बजेट विनियोजन भएको छ ।
सडक स्तरोन्नति गर्न रामपुर नगरपालिकामा यो हालसम्मकै ठूलो कार्य हो । यस आयोजनाअन्तर्गत रामपुर–५ स्थित सिमलघारी बसपार्क क्षेत्रअन्तर्गत जोडिएका विभिन्न सडकको काम भइरहेको छ । गत वैशाखमा सम्झौता भई जेठदेखि काम सुरू भएको हो । चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको वडाध्यक्ष पोखरेलले बताए ।
हालसम्म सबै सडकमा नाली निर्माणको काम लगभग सकिएको छ । अब कालोपत्र गर्ने तयारी छ । यी सडकले बेझाड बजार, बसपार्क, नगरपालिका कार्यालय, मालपोत तथा नापी कार्यालय र इलाका प्रशासन कार्यालयलाई जोडेको छ । नगरपालिका कार्यालय प्राङ्गण अगाडि सुविधा सम्पन्न नमूना हरियाली उद्यान बनाउने यसै योजनामा समावेश गरिएको रामपुर नगर प्रमुख रमणबहादुर थापाले बताए ।
नगरपालिका तथा वडाबाट विनियोजन गरेको साना रकमले ठूला आयोजना एकै पटक सञ्चालन गर्न कठिनाइ पर्ने हुन्छ । हाल यहाँ परेको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाले रामपुरको मुहार फेर्नेछ । तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गराउन निर्माण कार्य भइरहेका स्थलमा जनप्रतिनिधिबाट निरन्तर अनुगमन तथा निरीक्षणको कार्य भइरहेको छ ।
यो आयोजना निर्माणको काम सकिएपछि रामपुर सुगम सहरको रूपमा चिनिनेछ भने यहाँ पाल्पा मात्र नभई स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयको व्यापार व्यवसाय तथा आवतजावत गर्ने प्रमुख केन्द्र भएकाले चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि