सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य

सोमबार, १२ फागुन २०८१, ११ : ४५
सोमबार, १२ फागुन २०८१

कास्की । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तरराष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ । 

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको जनाएको छ । 

प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै सञ्जाल विस्तार र व्यापार अवसरहरू सृजना गराउने विश्वास लिइएको छ ।

पोखरा प्रकृतिप्रेमीका साथै साहसिक गतिविधिमा रमाउनेका लागि गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि ८२२ मिटरको उचाइमा अवस्थित पोखरा तालहरूको सहर र हिमालय र पदमार्गको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ ।  यहाँबाट विश्वका १४ अग्लो चुचुराहरूमध्ये तीन धौलागिरी, अन्नपूर्ण–१ र मनास्लु हिमाल हेर्न सकिन्छ । 

‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभइ माइस पर्यटन (अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने पाटा नेपालले जनाएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोत बजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप