सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग

सोमबार, १२ फागुन २०८१, १० : ३८
सोमबार, १२ फागुन २०८१

रौतहट । रौतहटको सदरमुकाम गौर–१ स्थित गौर सेन्टर हस्पिटलका सर्जन डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले घटनाको छानबिन गर्न माग गरेको छ ।

डाक्टरले गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्दा मृत्यु भएको भन्दै मृतकका काका देवेन्द्र अधिकारीले घटनाको छानबिन गर्न माग गरेका हुन् ।

देवेन्द्रका अनुसार लालुलाई पेट दुखेर उपचारका लागि शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणपछि प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको बताएका थिए । उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै उनले अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न सुझाव दिएको देवेन्द्रको भनाइ छ ।

डाक्टर पंकजले आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटलमा पु¥याएको देवेन्द्रले बताए । अप्रेसन गरेको केहीबेरमै बिरामीको अवस्था गम्भीर रहेको भन्दै आफूहरूलाई फोन आएको उनले जानकारी दिए ।

त्यसपछि आफूले प्रादेशिक अस्पतालका डाक्टर ठाकुरलाई बोलाएर देखाउँदा अक्सिजनसहित एम्बुलेन्समा राखेर नेशनल मेडिकल कलेज वीरगंज लग्न सुझाव दिएको देवेन्द्रको भनाइ छ । शनिबार राति करिब ११ बजे बिरामीलाई नेशनल मेडिकल कलेज पु¥याइएको तर डाक्टरले बिरामीको मृत्यु भएको घोषणा गरेको उनले बताए ।

उपचारमा संलग्न डाक्टर फिरोज अन्जुम, पंकज साहसहितको टीम सम्पर्कविहीन रहेको भन्दै देवेन्द्रले घटना शंकास्पद रहेको जिकिर गरेका छन् । उनले घटनाको छानबिन गर्न माग गर्दै दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रादेशिक अस्पतालका मेडिकल सुरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले आन्द्राको अप्रेसनका लागि प्रादेशिक अस्पतालबाट बिरामीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गर्नुपर्नेमा गौरकै निजी अस्पतालमा कसरी पठाइयो भन्ने नै अनुसन्धानको विषय भएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले घटनाका सम्बन्धमा डाक्टर ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्न लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप