सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

सोमबार, १२ फागुन २०८१, १० : ०६
सोमबार, १२ फागुन २०८१

धनगढी । पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर आफूलाई धम्की दिइएको भन्दै पत्रकार दीर्घराज उपाध्यायले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।

उपाध्यायले धनगढीका नागरिकका तर्फबाट आएका गुनासो उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमबार ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो ः भ्रम र वास्तविकता’ शीर्षकसहितका समाचार लेखेकै कारण आफूमाथि धम्की आएको बताएका छन् ।

धनगढी उपमहानगर प्रमुख गोपाल हमालका समर्थकहरूले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको मागसहित आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई उजुरीसहितको निवेदन दिएका हुन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले समाचार लेखेकै कारण पत्रकारलाई धम्क्याउने, मानसिक तनाव दिने र समग्र पत्रकारिता क्षेत्रमाथि नै धावा बोल्ने कार्य लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताए । शाहले पत्रकार उपाध्यायको सुरक्षा र सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा लक्षित गरी धम्क्याउने र मानसिक तनाव दिने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

प्रमुख जिल्ला अधिकारी हमालले सामाजिक सञ्जालको दुरुयोग गर्दै धम्क्याउने, अनर्गल भ्रम फैलाउने र मानसिक तनाव दिने व्यक्तिलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य योगेन्द्र बलायर, कैलालीका अध्यक्ष श्रवण देउवा, पूर्वअध्यक्ष हिमाल जोशी लगायतका पत्रकारले पत्रकारिता क्षेत्रमाथि भइरहेका आक्रमण रोक्न र पत्रकारहरुको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न प्रमुख जिल्ला अधिकारी हमालसँग आग्रह गरे ।

यसैबिच नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार उपाध्यायलाई मेयर हमालका समर्थकले सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा धम्की दिएको घटनाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप