सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?

सोमबार, १२ फागुन २०८१, ०८ : ४४
सोमबार, १२ फागुन २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ आजदेखि सुरु हुँदैछ । सो अभियान झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन हुनेछ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा र सुनसरीमा एक–एक दिन तथा मोरङमा २ दिन अभियान चल्ने भएको छ । अभियानमा अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए । जसअनुसार सोमबार झापाको कचनकवल गाउँपालिकाको बनियानीमा बिहान ९ बजे उद्घाटन हुनेछ । त्यसपछि बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । 

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ । यस्तै फागुन १४ गते दिनभर प्रचण्ड विराटनगरमै रहने कार्यक्रम छ । उक्त दिन शिवरात्रि परेको कारण सुनसरीमा हुने कार्यक्रम स्थगित भएको छ । सुनसरीमा भने १५ गते सुरु हुनेछ । सो दिन सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, अन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ । 

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी हुनेछ । अभियान अवधिमा झापा, मोरङ र सुनसरीबाट मात्रै कम्तीमा ५ हजार अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य माओवादीको छ । हालसम्म मोरङको कानेपोखरीमा जयराज संयोगको नेतृत्वमा ५ सय बढी पार्टी प्रवेश गराउने माओवादीको तयारी छ । उनी काँग्रेसका नेता हुन् । यसअघि उनी प्रतिनिधिसभाको निर्वाचन सुनिल शर्मासँग प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले ३८८ मत ल्याएका थिए । 

अभियानमा ०६४ मा माओवादीलाई मतदान गर्ने जनतासँग भेटघाट, स्वागत र पुनर्मिलन गराउने अध्यक्ष नेम्वाङले बताए । अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको सिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरूलाई संगठित गर्ने, किसानहरू समस्याहरूलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने पनि उनले जानकारी दिए । 

WhatsApp Image 2025-02-24 at 07.32.49_4bf53b9b

  • अभियानको रूप कस्तो ?

माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ । अभियानको क्रममा बिहान चिया खाने बेलामा पनि जनतासँगै खाने । त्यहाँ पनि संवाद गर्ने । खाजा खाँदा पनि बुद्धिजीवीहरूसँग संवाद अन्तरक्रिया गर्ने । पार्टीका अगुवाहरूसँग प्रशिक्षण र पार्टीको लेखाजोखा गर्ने, पत्रकारहरूसँग भेटघाट गर्ने, सहिद परिवारसँग पनि भेटघाट गर्ने खालको कार्यक्रम बनेको छ । त्यस अभियानलाई देशव्यापी प्रचार गर्न माओवादीले आफ्ना निकटका पत्रकारको टोली पनि केन्द्रबाटै परिचालन गर्ने भएको छ । काठमाडौँबाट आउने नेताहरू आफ्नै सवारी साधनमा आउनेछन् । केन्द्रबाटै केही कलाकार र केही पत्रकारहरू पनि आउने प्रचण्डको भनाइ छ । अभियानको व्यवस्थापन खर्चको लागि केन्द्रबाट आएको खर्च केन्द्रले नै व्यहोर्ने छ । खाने बस्ने व्यवस्था भने जिल्ला र प्रदेशले गर्ने बताइएको छ । माओवादीले ठुला होटेलमा नेताहरूलाई नराख्ने भएको छ । जनताकै फरक फरक घरमा राख्ने गरी व्यवस्थापन गर्ने र जनताकै घरघरमा राख्दा राती बस्दा, खानपिन गर्दा पनि जनतासँग संवाद गर्ने कार्यक्रम बनाउने माओवादीको तयारी छ  । त्यसक्रममा केन्द्रीय समितिबाट पारित भएको दस्ताबेज, प्रचण्डले संसद्मा सम्बोधन गरेका एकीकृत सामाग्री र सरकारमा गएर गरेका कामहरूको संक्षिप्त रुपका पर्चा तथा हाते पुस्तिकाहरू वितरण गरिने छ । 

  • ६४ सालमा फर्काउने दाबी

माओवादीले ६४ सालमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थियो भने झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो । ८४ सालको निर्वाचनमा सोही अवस्थामा पार्टीलाई पुर्‍याउने माओवादीको दाबी छ । जसका लागि ६४ सालमा माओवादीलाई मत दिनेलाई र उनीहरूका सन्तानलाई पनि अभियानका क्रममा संगठित गर्न प्रयास गर्ने कार्यक्रम बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप