बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी

कोहलीको शतक, पाकिस्तान पराजित

आइतबार, ११ फागुन २०८१, २२ : ०८
आइतबार, ११ फागुन २०८१

दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तर्गतको दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । आयोजक पाकिस्तान भने न्युजिल्याण्डसँग स्तब्ध बनेको थियो ।

आइतबारको खेलमा भारतका लागि स्टार ब्याटर विराट कोहली नायक बने । उनले नटआउट रहँदै शतक बनाए । १११ बलको सामना गर्दै कोहलीले ७ चौकाको मद्दतले १ सय रन बनाए ।

त्यस्तै, श्रेयस ऐयरले ६७ बलमा ५६ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । अघिल्लो खेलमा शतक बनाएका शुभमन गिल अर्धशतक बनाउनबाट चुके । उनले ५२ बलमा ४६ रन जोडे । कप्तान रोहित शर्मा २० रन बनाएर आउट भए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने अबरार अहमद र खुसदील शाहले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । टोलीका लागि साउद शकिलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ७६ बलमा ५ चौका प्रहार गरे । कप्तान मोहम्मद रिजवानले ७७ बलमा ४६ रन जोडे । उनले ३ चौका हिर्काए ।

खुसदिल शाहले ३९ बलमा ३८ रन बनाए । उनी अन्तिम ओभरमा आउट हुनअघि २ छक्का प्रहार गरे । त्यस्तै, बाबर आजमले २६ बलमा २३ रन तथा सलमान आघाले १९ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ९ ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट हात पारे भने हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाको नाममा एक–एक विकेट रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप