काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक र निमित्त प्रधानाध्यापहरुले विद्यालय सुधारको नविनतम र रचनात्मक कार्यक्रम अघि सार्ने बताएका छन् ।
महानगरपालिकाले शैक्षिक वातावरण सुधार तथा प्रोत्साहनका लागि नविनतम तथा रचनात्मक कार्यक्रममा गरेको लगानीबाट आफूहरु थप उत्साहित भएको उनीहरूको भनाइ छ । काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित भएका हुन् ।
विद्यालय शिक्षाको स्तर उन्नतिका लाग अहिलेसम्म गरिएका काम, ती कामबाट प्राप्त नतिजा र आगामी योजनाका विषयमा महानगरपालिकाका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
प्रधानाध्यापक र निमित्त प्रधानाध्यापकहरुको कुरा सुनिसकेपछि मेयर शाहले कुनै विद्यालयमा विद्यार्थीको आकर्षण धेरै हुनु र कुनैमा कम हुनुले विद्यालयको स्तर निर्धारण हुने बताए । हरेक विद्यालयले न्युनतम मापदण्ड पूरा गर्नुपर्ने कुरालाई आफूले अपेक्षा राखेको बताए ।
‘विद्यालयहरुमा विद्यार्थीहरुको भर्ना चाप धेरै हुनु विद्यालयको स्तर मापन गर्ने सूचक हो । यसैले आफ्नो स्तरलाई औसत विन्दुभन्दा माथि लैजान प्रयास गर्नुपर्छ । औसतमा भएका विद्यालयले स्तर उन्नतिमा काम गर्नुपर्छ ।’ मेयर शाहले भने ।
शिक्षकहरुको क्षमता विकास गरेर पुस्तकरहित शुक्रबारलाई दिगो बनाउने र विद्यालयको समग्र गुणस्तर बढाउने योजना रहेको बताए । उपप्रमुख डंगोलले सामुदायिक विद्यालयहरुमा पनि धेरै राम्रा, मध्यम र सुधार गर्नै पर्ने विद्यालय भएको बताइन ।
‘राम्रा अगाडि लगाएर आफू पनि राम्रो छु भन्नुभन्दा आफैँले राम्रो गरेर नतिजा देखाउनुपर्छ,’ उनले भनिन्, ‘विद्यालयलाई प्रणालीबाट स्वचालित बनाउनुपर्छ । अहिले व्यवस्थापन गर्ने प्रधानाध्यापक वा अन्य सदस्य भोलि पदमा नरहन सक्नुहुन्छ । तर, प्रणाली बसेपछि राम्रा पक्ष स्वतः सञ्चालन हुँदै जान्छन् ।’
पहुँचका आधारमा भन्दा आवश्यकता र तथ्य प्रमाणका आधारमा कार्यक्रम कार्यान्वयन भइरहेको बताइन् । ‘विद्यालयको वस्तुस्थिति (शिक्षक, विद्यार्थी उपस्थिति, हाजिरी, दिवा खाजा, क्रियाकलाप) केन्द्रबाट निगरानी भइरहेको उनको भनाइ थियो ।
छलफलका क्रममा प्रधानाध्यापकहरुले आफूहरुलाई लेखा, सार्वजनिक खरिद, सूचना प्रविधिको प्रयोग जस्ता विषय र शिक्षकहरुलाई शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग सम्बन्धी तालिम प्रदान गर्न आग्रह गरेका थिए ।
समावेशी र पहुँचयुक्त विद्यालय शिक्षा बनाउने कार्यक्रम ल्याउन समेत माग गरे । विशेष विद्यालय सञ्चालन र व्यवस्थापन तथा त्यस्ता विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिएका थिए ।
छलफलमा मूल्याङ्कन विधिलाई बढी व्यवहारिक बनाउन, अहिलेसम्म सञ्चालन भएका सिर्जनात्मक सिकाइका उपलब्धिका बारेमा समीक्षा गरेर आगामी नीति, योजना तथा कार्यक्रममा पृष्ठपोषण दिने वातावरण बनाउने विषय उठेका थिए ।
अन्तरक्रियामा शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गतका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रम, रचनात्मक विद्यालय, हरित विद्यालय, कक्षा १० को नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, नियमित कोचिङ् कक्षा, विषयगत शिक्षकको क्षमता विकास तालिम, अन्य कक्षाका लागि एकीकृत सिकाइका लागि शिक्षक तालिम, इसिडी कक्षा सहजकर्ता, नेपाल भाषाका सबै शिक्षकहरुको क्षमता विकास तालिमबाट देखिने नतिजा आएको बताए ।
कक्षा ४ देखि ८ सम्म ६१७ वटा उपसमूह बनाएर पुस्तकरहित शुक्रबारअन्तर्गत सिर्जनात्मक सिकाइ सञ्चालन भइरहेको छ । त्यस्तै कक्षा ९ मा अध्ययनरत ४ हजार ९६३ जना विद्यार्थीलाई सिपमूलक १० वटा क्षेत्रमा १७७ वटा उपसमूह गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको छ ।
यो कार्यक्रमलाई दिगो र संस्थागत बनाउन ३७ वटा प्रयोगशाला निर्माण र सबै उपसमूहहरुको कार्यक्रम सञ्चालन मार्गदर्शन तयारी गरिएको छ । यसमा काम गर्ने फोकल शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । रचनात्मक विद्यालय कार्यक्रमअन्तर्गत आयोजना गर्न लागिएको खेल प्रतियोगितामा भाग लिन इच्छा गरेका १६ हजार विद्यार्थीबाट छनोट गरेर ८ हजार ६२३ जनालाई प्रशिक्षणको तयारी भएको छ ।
प्रारम्भिक बाल विकास कक्षाका लागि आन्तरिकत स्रोततर्फ स्वीकृत सहजकर्ता र आया नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन सम्बन्धि काम भएको छ । आइटी अडिट गरेर विद्यालयहरुमा स्मार्ट बोर्ड प्रदान गर्ने प्रक्रिया थालनी गर्न लागिएको छ । टिचर्स कलेज प्रोग्रामका लागि काठमाडौँ विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गर्ने प्रक्रिया थालिएको छ ।
यसरी सञ्चालन गरिएका कार्यक्रमबाट विद्यार्थीको नतिजामा क्रमिक रुपमा सुधार भएको छ । विद्यालयहरुको स्वच्छता र सरसफाइमा सुधार भएको छ । शिक्षकहरुको क्षमता विकास भएर शिक्षण क्रियाकलापमा सूचना प्रविधिको प्रयोग वढेको छ ।
विद्यालयले महानगरबाट सञ्चालित कार्यक्रममा अपनत्व लिएका छन् । प्रारम्भिक बाल बिकास केन्द्रको मापदण्डअनुसारका पूर्वाधार विकास हुँदै गएको छ । संस्थागत विद्यालयको नियमन प्रभावकारितामा अभिवृद्धि भएको छ ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय, १४ वटा वैकल्पिक विद्यालय, ५२४ वटा संस्थागत विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् । सामुदायिक विद्यालयहरुमा ६१ हजार ३२९ जना विद्यार्थी अध्ययनरत छन् ।
यस्तै संस्थागत विद्यालयहरुमा २ लाख १० हजार ९३४ जना विद्यार्थी अध्ययनरत छन् । यसरी हेर्दा महानगरपालिकाभित्र २ लाख ७२ हजार २६३ जना विद्यार्थीहरु विद्यालय शिक्षामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक