सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
प्रदेश

को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी

आइतबार, ११ फागुन २०८१, २० : ५९
आइतबार, ११ फागुन २०८१

विराटनगर । नेकपा एमाले मोरङको (फागुन १७–१९ गतेबाट सुरु हुने) जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यस्तोमा संस्थापन र अर्को पक्षका नेताहरूले आ–आफ्नो पक्षमा हिसाब निकाल्न थालेका छन् ।

उनीहरूसँगको कुराकानीलाई आधार मान्दा दुवै पक्ष आफ्नो पक्षको बहुमत पुग्ने दाबी गर्छ । संस्थापन पक्षले मोरङको भूगोलबाट आउने ६ सय ७६ प्रतिनिधि र जनवर्गीय संगठनहरूबाट आउने १ सय ८८ प्रतिनिधिमध्ये ६६ प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गरेको छ । उता संस्थापनइतर पक्षले भने ५९ प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ । 

मोरङका १७ स्थानीय तहमा रहेका १ सय ५९ वडाबाट शनिबार प्रतिनिधि निर्वाचित भएका हुन् । जनवर्गीय संगठनहरूका प्रतिनिधि भने आइतबार अबरेसम्म सम्पन्न भएको एमाले मोरङले जनाएको छ । ‘अधिकांश वडाहरूबाट यस पटक सर्वसम्मत प्रतिनिधि चयन भएका छन्,’ एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले भने । 

एमाले मोरङको आउँदो अधिवेशनमा ९ सय १० प्रतिनिधि सहभागी हुनेछन् । त्यसमध्ये भूगोलबाट ६ सय ७६ र जनवर्गीय संगठनबाट १ सय ८८ जना अधिवेशन प्रतिनिधि छन् । ४६ जना भने जिल्ला कमिटीले मनोनीत गर्नेछ । 

जिल्ला अधिवेशनबाट अध्यक्ष बन्न दुई समूहबाट करिब ६ जना अध्यक्ष पदका आकांक्षी थिए । दुई दाबेदार रुपेश खतिवडा र अञ्जु उपाध्यायले भने प्रतिनिधिको चुनावबाटै हटेर उम्मेदवारी फिर्ता लिए । यद्यपि, उनीहरूलाई जिल्ला कमिटीबाट मनोनीत गरिने सम्भावना रहेको पार्टीले जनाएको छ । 

अध्यक्ष पदमा दाबी गरिरहेका ६ मध्ये विभिन्न ठाउँबाट प्रतिनिधिका रूपमा निर्वाचित भएका छन् । जिल्ला अध्यक्ष बाबुराम कार्की, विराटनगर महानगरका पूर्व अध्यक्ष सागर थापा, कोशी प्रदेशका पूर्वमन्त्री राजकुमार ओझा, नेताहरू महेश भट्टराई, इरान राई र जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई भूगोलबाट प्रतिनिधिमा निर्वाचित भएका छन् । 

एमालेको संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली र संस्थापनइतर पक्ष भन्नाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुझिएको छ ।

मोरङबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने चार जना नेताहरू छन् । जसमा रामलाल साह, जीवन घिमिरे, युवराज बास्कोटा र नयनकला ओझा हुन् । 

घिमिरे मोरङ इन्चार्जसमेत हुन् । उनीबाहेक अन्य केन्द्रीय सदस्य भने इतरपक्षका हुन् । यस्तै एमाले मोरङका स्थापित नेता विनोद ढकाल पनि इतर समूहका हुन् । 

यसअघि सबै जिल्लाको अधिवेशनहरू सम्पन्न भइसक्दा एमालेले मोरङको भने संस्थापन पक्ष पराजित हुने डरले मिति सर्दै आएको थियो । यद्यपि, अहिले भएका प्रतिनिधि चयनमा संस्थापन पक्षले मोरङका १७ पालिका र जबस (जनवर्गीय संगठन) मोर्चामध्ये बुढीगंगा गाउँपालिका मात्रै कमजोर रहेको स्वीकार गरेको छ । ‘केराबारी, जहदा र विराटनगरमा बराबरी प्रतिनिधि छनोट भएको छ । हाम्रो बुढीगंगामा अलिक कमजोर भयो । त्यहाँ ४० प्रतिशत मात्रै हाम्रा प्रतिनिधि छन्,’ संस्थापन पक्षका एक नेताले भने । 

उता इतर पक्षले पनि १७ पालिकामध्ये मिक्लाजुङ, लेटाङ र सुनवर्षी कमजोर रहेको स्वीकार गरेको छ । ‘ती पालिकामा ३० प्रतिशत हाराहारीमा हाम्रो मत आउला,’ इतर पक्षका एक नेताले भने । विराटनगरमा ८० प्रतिशतभन्दा बढी आएको तथा कटहरी र बुढीगंगा गाउँपालिकाबाट शतप्रतिशत मत आफ्नो पक्षलाई आउने आकलन गरेको छ । 

२०५० को दशकबाटै ओली समूहको वर्चश्व रहेको मोरङमा यस पटक भने फरक देखिएको इतर पक्षको दाबी छ । 

संस्थापन पक्षको नेतृत्व उपाध्यक्ष गुरुप्रसाद बराल हुँदै मोरङका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका अध्यक्ष ऋषिकेश पोखरेल र पर्शुराम बस्नेतहरूले गरिरहेका छन् भने जिल्ला पूर्वअध्यक्ष विनोद ढकालले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग नजिक भएर नेतृत्व गरिरहेका छन् । 

संस्थापन पक्षले यस पटक वर्तमान अध्यक्ष बाबुराम कार्कीलाई नै अध्यक्ष बनाउने तयारी गरेको छ । कार्कीलाई अध्यक्ष जिताउन नसकिने अवस्थामा उक्त समूह राजकुमार ओझालाई अगाडि सार्ने तयारीमा छ । ओझालाई अगाडि सार्दा उत्तरपूर्वी मोरङका मतहरू केन्द्रित गर्न सक्ने अनुमान उनीहरूले गरेका छन् । 

ढकाल समूहबाट भने अध्यक्षमा दाबी गर्नेहरू धेरै देखिएका छन् । अध्यक्षका उम्मेदवारका लागि दाबी गरिरहेका अजम्बर राई, महेश भट्टराई, सागर थापा तीनै जना ढकाल समूहका हुन् । अहिलेसम्म सहसचिव पदमा आकांक्षा राखिरहेका इरान राई भने दुवै समूहका साझा उम्मेदवार भएर अध्यक्ष बन्ने प्रयत्न पनि सँगसँगै गरिरहेका छन् । मोरङका १७ स्थानीय तहका १ सय ५९ वडाबाट निर्वाचित भएका प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले संस्थापनइतर पक्ष बढी उत्साहित देखिएको छ । 

दुवै पक्षले दाबी गरेको तथ्यांक

um

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप