सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल

नेपाल र म्यानमारको खेल बराबरीमा सकियो

आइतबार, ११ फागुन २०८१, २० : ०३
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेल बराबरी भएको हो । 

खेल २–२ को बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफ नै २–२ को बराबरी भएको थियो । दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । 

खेलमा नेपालले दुईपटक कम्ब्याक गर्दै खेल बराबरी गरेको हो । घरेलु टोली छैटौँ मिनेटमा नै पछि परेको थियो । म्याट नोई खिनको फ्रिकिक गोलमा परिणत भएपछि खेलको सुरुवातमा नै नेपाललाई झट्का लागेको थियो ।

तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन । ११ औँ मिनेटमा साबित्रा भण्डारीको शानदार पासमा सविता रानामगरले नेपाललाई खेलमा फर्काइन् ।

यद्यपि, १७ औँ मिनेटमा नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै म्यानमारले पुनः अग्रता लियो । मे हेट लुले प्रतियोगितामा तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

नेपालले ४१ औँ मिनेटमा पुनः कम्ब्याक गर्‍यो । यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले नेपाललाई खेलमा फर्काइन् ।

योसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । ७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । फाइनल खेल बुधबार हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप