सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
संसदीय समिति

एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?

महानिर्देशक भन्छन्– ९९ प्रतिशत यात्रुले सुन ल्याउँदा जरिवाना लिएका छैनौँ
आइतबार, ११ फागुन २०८१, २० : ००
आइतबार, ११ फागुन २०८१

सुन कति ल्याउन पाउने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले समय समयमा कोटा निर्धारण गरेको हुन्छ । पहिले विदेशी मुद्राको सञ्चिति कम हुँदा यो परिमाण १० केजीमा झरिएको थियो, अहिले २० केजी सुन ल्याउन सकिन्छ । यो व्यावसायिक रूपमा ल्याउने सुनको कुरा भयो । 

व्यक्तिगत रूपमा ल्याउने सुनमा जरिवाना लिएको भनिएको छ, त्यो होइन । सत्य के हो भने ९९ प्रतिशत केसमा जरिवाना गरिएको छैन । कानुनअनुसार भन्सार विन्दुमा उसले स्वघोषणा गर्नुपर्छ । तर, भन्सार कति सहज छ भने उसले थाहा पाएन होला भनेर राजस्व मात्रै लिएर छाड्ने गरेको छ, एक सुका पनि जरिवाना लिएको छैन ।  

जसले अन्य औजारभित्र, सर्टको बटनभित्र राखेर वा विभिन्न तरिकाले, कोटको भित्रपटि लेप सुन ल्याएको देखिएको छ । ती केसमा हदैसम्म जरिवाना हुन्छ, किनभने त्यसमा नियत खराब छ । जसले काँचो सुनको ढिक्का ल्यायो तर घोषणा गरेन । घोषणा नगरे पनि भन्सारले पहिचान गर्‍यो भने यति राजस्व लाग्छ, त्यो तिरेर लैजानुस् भनिन्छ । 

त्यो व्यक्तिसँग राजस्व तिर्ने पैसा तत्काल छैन भने धरौटी स्लिप काटेर लकरमा राख्ने व्यवस्था गरिएको हुन्छ, यसको चाबी उसैसँग हुन्छ । उसले तोकिएको ६० दिनभित्रमा आएर राजस्व तिरेर लिएर जान पाउँछ । यसको अर्थ यहाँ जरिवाना गरिएको होइन, त्यो राजस्व तिरेको हो । राजस्व र जरिवाना भनेको कुरा हुन् । 

५० हजारको सामानमा ५० हजार नै जरिवाना तिरियो भन्नुभएको छ, यो चाहिँ हुन सक्दैन । दुनियाँमा कहीँ पनि हुँदैन । अर्को कुरा एक सय ग्रामसम्म ल्याउन दिनुपर्छ भन्नुभयो । यसमा राज्यले निर्णय गर्छ भने हाम्रो भन्ने कुरा केही कुरा रहँदैन । तर सत्य के हो, त्यो पनि हेरौँ । 

म आफैँ विमानस्थल भन्सार कार्यालयको प्रमुख हुँदाखेरी २०७८ साल मंसिर १० गतेदेखि हामीले ‘गोल्ड अपरेसन’ भनेर चलाएका थियौँ । पहिलो दिनमा २२ केजी सुन हामीले ल्याएको पायौँ । दोस्रो दिनमा १२ केजी, तेस्रो दिन १६ केजी आयो । हरेक दिनको तथ्यांक अहिले पनि मसँग सुरक्षित छ । 

राष्ट्र बैंकको पोलिसीले दिनको २० केजी सुन आयात गर्न दिन्छ । प्यासेन्जरको साथमा पहिलो दिन मात्रै २२ केजी सुन पक्रियो । यसमध्ये ९९.९९ प्रतिशत सुन जाने त बजारमै हो । त्यस्तै भइराख्ने हो भने सुन आयातको सम्बन्धमा हामीले लिएको नीतिले काम गर्छ कि गर्दैन ? नेपाल सरकारले लिएको नीति, राष्ट्र बैंकले तय गरेको सीमाले अर्थ राख्छ कि राख्दैन ? भन्ने प्रश्न उठ्न सक्छ । 

ती सुन कतिपय अवस्थामा भेरिफाइ गर्न मिल्छ, कतिपय अवस्थामा मिल्दैन । त्यो सुन पत्ता लगाउन हामीले कुन कुन च्यानल प्रयोग गर्‍यौँ, त्यसका धेरै पीडा छन्, धेरै कहानी छन् । तर आम प्यासेन्जर जसले आफ्नै प्रयोजनको लागि आफूले लगाइरहेको गहनाको केसमा कहीँ पनि कुनै पनि केसमा अप्ठ्यारो परेको छैन । यदि गाह्रोसारो अप्ठ्यारो परेको छ भने त्यसमा मलाई जानकारी गराइदिनुभयो भने त्यसलाई हामी सम्बोधन गर्छौँ । 

तर, नेपालबाट जाँदा २५ सय डलर लिएर गयो, उताबाट ५ हजार डलरको सुन ल्याउँछ भने त्यो तस्करीको सुन हो भनेर हामीले बुझ्नुपर्छ । एक हप्ताका लागि घुम्न जानुहुन्छ, ५० ग्राम सुन ल्याउँदा ५ लाखभन्दा धेरै खर्च होला । जबकि, उहाँले त्यति पैसा लिएर जानै पाउनुहुन्न । त्यति सुन किन्ने पैसा कसरी बाहिर गयो भनेर हेर्न सेकेन्ड स्टेपमा जाने हो भने त अवस्था अझै भयावह हुन्छ । 

अहिले भन्सारले पैसा कसरी लग्यो भनेर खोजी गरेको छैन । सोध्यो भने आफन्तसँग सापट लिएको हुँ, कसैले के भन्छ । तर, यथार्थ के हो भने कैयौँ व्यक्तिलाई सुन पठाउने गिरोह नै छ । हामीले आफैँ गएर परीक्षण गर्दा पनि त्यो देखियो । 

कहिलेकाहीँ कस्तो समस्या हुन्छ भने मेरो छोरा बुहारी विदेशमा छन्, १० वर्षअघि गएको थिएँ, यहीँ बिहे गरेर गएका हुन् । ती गहना लिएर आउँदा ५० ग्रामभन्दा धेरै भयो, त्यो लिएर आउँदा पनि समायो भन्ने छ । त्यो व्यावहारिक पक्ष हेरेर ६०/७०/८० ग्राम छ भने पनि छोडेको छ । 

त्यो किन छोडियो भन्ने प्रश्न पनि आउला, भन्सार प्रशासकलाई के अधिकार दिइएको हुन्छ भने कुनै व्यक्ति विदेशमा बसेको अवधि हेरेर त्यसलाई छोड्न सकिन्छ । नेपालमा बनाएको सुन कुन हो, विदेशमा बनाएको कुन हो, हामीलाई देख्नेबित्तिकै प्रस्ट थाहा हुन्छ । त्यसपछि ऊ कति वर्ष विदेश बसेको थियो, कुन पोजिसनमा बसेर आएको थियो भन्ने आधारले पनि निर्णय गर्न सकिन्छ । जस्तो विवाह गएर अष्ट्रेलिया गयो, पाँच वर्ष बसेर आउँदा ७० ग्राम सुन ल्यायो भने त्यसमा तस्करी गर्ने मनशाय हुँदैन । त्यो अनुमान गर्न हामी सक्छौँ, त्यस्तो केसमा छोडिन्छ । 

माननीयज्यूहरुलाई जसले कम्प्लेन गर्नुहुन्छ, उहाँलाई के सोधिदिनुहोला भने तपाईंहरू कहिले विदेश जानुभएको थियो ? त्यो किन्ने पैसा कहाँबाट आयो ? तपाईंसँग आफै गएको पैसाले त्यो किन्न पुग्थ्यो कि पुग्दैनथ्यो ? त्यो पुग्दैनथ्यो भने त त्यो सुन कसरी आयो ? ५० ग्राम सुन किन्न मिल्ने पैसा विदेश लिएर जान मिल्दैन ।  

भन्सार जाँचपासको प्रक्रिया 

जब प्लेनबाट प्यासेन्जर ओर्लिन्छन्, उहाँहरूले सामान पाउनुअघि नै पछाडिपट्टि बस्ने भन्सारका कर्मचारीले एक्सरेमा हालेर सामानको चेकजाँच गरेको हुन्छ । त्यहाँ बस्ने हरेक कर्मचारीलाई क्यानकै तालिम दिने केन्द्रमा ट्रेनिङ दिएका हुन्छौं । ट्रेनिङ नलिएका व्यक्ति त्यहाँ बस्न पाउँदैन । 

यो गर्नेबित्तिकै यो कस्तो वस्तु हो भनेर ९० प्रतिशत अनुमान गर्न सकिन्छ । कुनै चिज शंकास्पद देखियो भने पनि त्यो सम्बन्धित धनीको अनुपस्थितिमा खोल्न पाउँदैन । धनी भनेको प्यासेन्जर हो, ऊ अगाडिपट्टि हुन्छ । त्यो शंका लाग्यो भने ट्यागमा आरसीडी चेक भनेर लेखेर भन्सारले यता पठाइदिन्छ । यता आइसकेपछि भन्सारका कर्मचारीले चेक गर्छन् । त्यो भनेको पुनः स्क्यान मेसिनमा हालेर दोहोर्याएर हेर्ने काम हो । 

त्यसो गरिसकेपछि पनि शंकास्पद देखियो भने धनीलाई यहाँ के के छ भनेर सोधिन्छ । कहिलेकाहीँ चित्तबुझ्दो जवाफ आयो भने छाड्न पनि सकिन्छ । अझै शंका लाग्यो भने देखाउनुस् भन्न सकिन्छ । यदि घोषणा गरेको वस्तु हो र प्रतिबन्धित छैन भने छोडिन्छ, नत्र थप अनुसन्धान गरिन्छ । 

अब कुरा रह्यो एउटा व्यक्तिमा कति विश्वास गर्ने भन्ने । यसमा पछाडि बस्ने मान्छेलाई यो कसको सामान हो भन्ने थाहा हुँदैन । हरेक सामानलाई सिस्टमले चेक गर्छ । शंका लागेको सामानलाई चिह्न लगाउने हो । लगाइसकेपछि पनि यो कसको हो भन्ने कुरा उसलाई थाहा हुँदैन ।

भन्सार प्रमुखले ती व्यक्तिलाई क्रसचेक गर्ने अर्को व्यक्ति पनि खटाइरहेको हुन्छ । एक्सरे हेर्न बस्ने कर्मचारी को खटिन्छ भन्ने कुरा हरेक दिन बिहान मात्रै थाहा हुन्छ । उताबाट प्लेन उडेपछि मात्रै थाहा हुन्छ कि त्यहाँ को खटिन्छ भनेर । कुन फ्लाइटमा कुन कर्मचारी पर्छ ? त्यो प्रशासकलाई मात्रै थाहा हुन्छ । त्यसैले त्यहाँ मिलेमतो गर्ने सम्भावना पनि कम हुन्छ । 

यति गर्दागर्दै पनि बाहिर सामान पक्रेको छ, कसरी छुट्यो भन्ने प्रश्न उठ्न सक्छ । कहिलेकाहीँ मानवीय गल्ती कमजोरी हुन सक्छन्, इक्विपमेन्टका पनि केही सीमा हुन सक्लान् । 

क्षमताको पनि सीमा हुन सक्छ । यदाकदा कुनै समस्या भयो भने नियमन गर्नको लागि हामीसँग भन्सारको दोस्रो तहको निगरानी पनि छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको निगरानी पनि छ । हामी सँगसँगै रहेर यो प्रयास गरिरहेकै छौँ । 

(भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अर्थ समितिमा दिएको अभिव्यक्तिको अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश भट्टराई
महेश भट्टराई
लेखकबाट थप