सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
२०२४ वाईआर४

पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा

आइतबार, ११ फागुन २०८१, २१ : ००
आइतबार, ११ फागुन २०८१

गत हप्ताभर ‘२०२४ वाईआर४’ नामक क्षुद्रग्रह ठुलो चर्चाको विषय बन्यो । सुरुमा वैज्ञानिकहरूले यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावनालाई बढाएका थिए, पछि उनीहरूले नै यसलाई घटाए ।

पछिल्लो पूर्वानुमान अनुसार यो क्षुद्रग्रह सन् २०३२ मा पृथ्वीसँग ठोक्किने सम्भावना ०.२८ प्रतिशत रहेको छ । यसअघि यो सम्भावना ३.१ प्रतिशत रहेको बताइएको थियो ।

वैज्ञानिकहरूले अब यो क्षुद्रग्रह पृथ्वीभन्दा पनि हाम्रो चन्द्रमासँग ठोक्किने सम्भावना बढी रहेको बताइरहेका छन् । यसको सम्भावना १ प्रतिशत रहेको छ । 

दुई महिनाअघि चिलीको मरुभूमिबाट टेलिस्कोपको माध्यमबाट २०२४ वाईआर४ पत्ता लागे यता दशौँ यस्ता क्षुद्रग्रहहरू पृथ्वीदेखि चन्द्रमाभन्दा नजिक भएर गएका छन् । खगोलीय शब्दमा यसलाई ‘नियर मिस’ (झण्डै ठोक्किएको) भनेर भन्न सकिन्छ ।

यसबिचमा अन्य स–साना क्षुद्रग्रहरू पृथ्वीसँग ठोक्किएको वा आकाशमा नै जलेका हुनसक्छन्, जसलाई कसैले ख्याल नै गरेनन् । यसमध्ये धेरै हाम्रो लागि हानि नगर्ने खालका हुन्छन् । तर, केहीमा हाम्रो ब्रह्माण्डबारे नयाँ तथ्य खुलाउने संकेतहरू हुन्छन् । यस्ता जानकारी हात पार्नका लागि हामी सधैँ उत्साहित हुन्छौँ ।

छुद्रग्रह वास्तवमा ४.६ अर्ब वर्षअघि हाम्रो सौर्यमण्डल निर्माणका बेला छुट्टिएका स–साना ढुंगाका टुक्राहरू हुन् । अन्य ग्रहका गुरुत्वाकर्षणले धकेलिएका यस्ता छुद्रग्रहहरू पृथ्वीको वरिपरि घुमिरहेका हुन्छन् ।

मानव इतिहासको लामो समय हामीलाई यस्ता कतिवटा ठुला छुद्रग्रहहरू पृथ्वीको नजिक भएर गए भन्ने थाहा नै थिएन । पृथ्वीको नजिक भएका छुद्रग्रहहरू माथिको निगरानी २० औँ शताब्दीको अन्त्यतिरबाट मात्र सुरु भएको न्यू मेक्सिको विश्वविद्यालयका प्राध्यापक मार्क बोसलोह बताउँछन् ।

2024

अहिले भने हामीलाई ४० मिटर वा सोभन्दा ठुला  क्षुद्रग्रहहरू हरेक वर्ष कयौँ पटक पृथ्वी र चन्द्रमाको बिच भएर जान्छ भन्ने थाहा छ । सन् १९०८ मा साइबेरियामा यही आकारको छुद्रग्रह आकाशमा विस्फोट हुँदा कयौँ मानिस घाइते भएका थिए भने २ सय वर्ग माइल क्षेत्रको भवनहरूमा क्षति पुगेको थियो ।

पृथ्वीको नजिक भएर गएको वाईआर४ जस्तै ठुलो आकारको अर्को क्षुद्रग्रह एपोफिस रहेको थियो । यो सन् २००४ मा पत्ता लागेको थियो र यसको आकार ३७५ मिटर रहेको थियो । जुन एउटा क्रुज जहाज जत्रै हो ।

फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च (सीएनआरएस) का प्राध्यापक प्याट्रिक मिचेलका अनुसार हालसम्म पत्ता लागेका क्षुद्रग्रहरूमध्ये यो पृथ्वीका लागि सबैभन्दा खतरनाक थियो । सन् २०१३ मा मात्र यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किँदैन भन्ने यकिन भएको थियो ।

अहिले वाईआर४को सन्दर्भमा भने एउटा ठुलो फरक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीलाई पहिले के गर्ने भन्ने बारे थाहा थिएन । हामीले केही कुरा पत्ता लगायौँ, त्यो पृथ्वीमा ठोक्किन सक्ने सम्भावना पहिचान पनि गर्‍यौँ । त्यसपछि हामी सोच्यौँ, अब यसबारे कसलाई फोन गर्ने ?’ त्यतिबेला वैज्ञानिक र सरकार कसलाई पनि अब के गर्ने भनेर थाहा नभएको उनी बताउँछन् ।

ठुलो आकारको क्षुद्रग्रह मानवबस्तीमा खस्यो भने ठुलो क्षति हुनसक्छ । वाईआर४ कत्रो छ भन्ने अझै यकिन भएको छैन । हालसम्म यसको लम्बाई ९० मिटर रहेको बताइएको छ । अनुमान अनुसार पृथ्वीसँग ठोक्किन आएमा यो नटुक्री पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ ।

‘पृथ्वीसँग ठोक्किएमा यसले जमिन ठुलो खाडल बनाउन सक्छ । यसले भौतिक संरचनामा क्षति पुर्‍याउनका साथै दर्जनौँ किलोमिटरको क्षेत्रफलमा रहेका मानिसहरूलाई गम्भीर रूपमा घाइते बताउन सक्छ,’ लरेन्स लिभरमोर नेसनल ल्याब्रोटेरीका प्राध्यापक क्याथरिन कुनामोटो बताउँछिन् ।

एपोफिस प्रकरणपछि पृथ्वीको सुरक्षामा धेरै प्रगति भएको छ । प्राध्यापक मिचेल अन्तर्राष्ट्रिय स्पेस मिसन प्लानिङ एड्भाइजरी ग्रुपका सदस्य छन् । यो समूहले सरकारलाई छुद्रग्रहको जोखिम र ठोक्किएको खण्डमा के गर्ने भनेर अभ्यास गर्न सुझाव दिन्छ । अहिले त्यही भइरहेको छ ।

अब यो एड्भाइजरी ग्रुप अप्रिलमा वाईआर४बारे पुनः छलफलका लागि बस्नेछ । तर, त्यतिबेलासम्म यो पृथ्वीसँग ठोक्किने सम्भावना पूर्णरुपमा हट्ने उनीहरू विश्वास गर्छन् ।

‘अहिले हामीसँग छुद्रग्रहसँग ठोक्किनेभन्दा अन्य विकल्पहरू पनि छन्,’ प्राध्यापक कुनामोटो भन्छिन् । नासा र युरोपियन स्पेस एजेन्सीले यस्ता खतरनाक छुद्रग्रहको दिशा परिवर्तन गर्न सक्ने प्रविधि विकास गरिसकेका छन् । 

नासाको डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट (डार्ट) ले एउटा अन्तरिक्ष यानलाई छुद्रग्रह डिमोर्फोससँग ठोक्काएर त्यसको दिशा नै परिवर्तन गर्न सफल भएको थियो । तर, वैज्ञानिकहरू यो तरिका वाईआर४ मा काम गर्छ कि गर्दैन भन्नेमा स्पष्ट छैनन् । किनभने यो केबाट बनेको छ भन्ने अझै थाहा भएको छैन भने यसको दिशा परिवर्तन गर्नका लागि समयको पाबन्दी निकै कम छ ।

त्यसो भए पृथ्वीसँग ठक्कर खाएका अन्य छुद्रग्रह चाहिँ ? वैज्ञानिकहरूका अनुसार यस्ता छुद्रग्रहका टुक्राहरू मानिसहरू बस्ने ठाउँ भन्दा निकै टाढा खसेका छन् । 

एन्टाक्र्टिकामा मात्र करिब ५० हजार यस्ता छुद्रग्रहहरू फेला परेका छन् । यसमध्ये सबैभन्दा चर्चित एएलएच ८४००१ हो । यो मंगल ग्रहमा उत्पत्ति भएको विश्वास गरिन्छ । यसले उक्त ग्रहको इतिहासबारे धेरै जानकारी प्रदान गर्दछ । यसैको आधारमा वैज्ञानिकहरू मंगल ग्रह अर्बौँ वर्ष पहिले तातो रहेको र त्यहाँको सतहमा पानी भएको विश्वास गर्छन् ।

The Barringer Crater

सन् २०२३ मा वैज्ञानिकहरूले ३३ पोलिहाइम्निया नामक छुद्रग्रह पत्ता लगाएका थिए । यो पृथ्वीमा पाइने कुनै पनि तत्त्वमा धेरै नै सघन थियो । यो तत्त्व हाम्रो ग्रहका लागि बिलकुलै नयाँ हुनसक्छ । ३३ पोलिहाइम्निया हामीभन्दा १७ करोड किलोमिटिर टाढा रहेको छ ।

अहिले वाईआर४ पृथ्वीभन्दा चन्द्रमासँग ठोक्किने सम्भावना बढी भएको पाएपछि वैज्ञानिकहरू निकै उत्साहित रहेका छन् । यो ठक्करले हामीलाई धेरै प्रश्नहरूको उत्तर दिनसक्छ जसलाई यसअघि कम्प्युटरको माध्यमबाट स्टिमुलेट मात्र गरिन्थ्यो । 

‘वास्तविक घटनाको तथ्यांक पाउनु निकै उपयोगी हुनेछ,’ इम्पेरियल कलेज लन्डनका प्राध्यापक गारेथ कोलिन्स भन्छन्, ‘छुद्रग्रह ठोक्किँदा कतिवटा तत्त्व बाहिर आउँछ ? कति चाँडो यो उछिटिन्छ ? कति टाढासम्म जान्छ ?’

यसले पृथ्वीमा भविष्यमा हुन सक्ने छुद्रग्रहको सम्भावित ठक्करबारे सटिक अनुमान लगाउन मद्दत गर्न सक्छ । वाईआर४ ले हामीलाई ‘हामी यस्तो ग्रहमा बस्छौँ जुन कुनै पनि बेला छुद्रग्रहहरूसँग ठोक्किन सक्ने जोखिममा रहेको छ’ भनेर स्मरण गराएको छ । 

त्यसैले वैज्ञानिकहरू यो विषयलाई हल्का रुप लिन नहुने चेतावनी दिन्छन् । कुनै पनि बेला पृथ्वीमा जीवनलाई नै नष्ट गर्न सक्ने छुद्रग्रह ठोक्किन सक्ने सम्भावना रहेको उनीहरू बताउँछन्, जुन भविष्यमा केही दशकको अन्तरालमा नभएर केही शताब्दीपछि पनि हुनसक्छ ।

यसैबिच, अन्तरिक्षलाई निगरानी गर्ने हाम्रो क्षमता पनि वृद्धि भइरहेको छ । यही वर्ष चिलीमा रहेको भेरा रुबिन अब्जरभेटोरीमा अहिलेसम्मै ठुलो डिजिटल क्यामेराले काम गर्न सुरु गर्नेछ, जसले रातको समयमा आकाशलाई अझ राम्रोसँग कैद  गर्न सक्छ ।

हामी जति नजिकबाट र जति लामोसम्म अन्तरिक्षमा हेर्न थाल्छौँ, त्यति नै हामीले पृथ्वी नजिक रहेका यस्ता अन्य छुद्रग्रहरू पनि पत्ता लगाउन सक्छौँ । बीबीसी 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जर्जिना रानार्ड
लेखकबाट थप