ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद

काठमाडौँ । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई लिएर संसद् बैठकमा सांसदहरूबिच ‘घोचपेच र वादप्रतिवाद’ भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरूले पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिलाई प्रतिवाद गरे भने प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद ‘मौन’ जस्तै रहे ।
यद्यपि एमाले र माओवादी केन्द्रका सांसदहरू पूर्वराजाबारे कित्ता क्लियरको प्रशंग निकाल्न पुगे । तर माओवादी सांसदले पूर्व राजाको अभिव्यक्तिबारे उच्चारण समेत गरेनन् ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाही भने पूर्वराजाको अभिव्यक्तिको सशक्त बचाउमा उत्रिन पुगे । प्रतिनिधि सभा बैठकमा मात्र होइन, राष्ट्रिय सभा बैठकमा समेत पूर्वराजा शाहको अभिव्यक्तिको विरोध भयो ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद गोकुल बास्कोटा र माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबिच कित्ता क्लियरको सांकेतिक घोचपेच चलेको दृश्य नै देखियो ।
सांसद बास्कोटाले प्रतिपक्ष माओवादी केन्द्रमाथि प्रश्नै गर्दै भने, ‘गणतन्त्रको विकल्प खोजेको हो ? के प्रमुख प्रतिपक्ष (माओवादी केन्द्र)ले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो?,’ बास्कोटाले माओवादीको मौनतामाथि प्रश्न गर्दै थप सोधे, ‘याद गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एकदुई तीन पाक्दैन, भ्रममा नरहनुहोला ।’
बैठकमा बोल्ने क्रममा बास्कोटालाई माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सांकेतिक रूपमै जवाफ फर्काए । ‘पूर्व वक्ता माननीयले माओवादीको कित्ता क्लियर होस् भन्नुभयो । क्लियरै छ । हामी हिजो जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको हो’, पौडेलको भनाइ थियो ।
पूर्वराजाबारे बास्कोटालाई यस्तो जवाफ दिनुअघि पौडेलले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरी नै संविधान संशोधनका कुरा गरेको भन्दै माओवादी विना संविधान संशोधन कुनै हालतमा नहुने जिकिर गरे ।
‘तपाईँहरूले सल्लाहै नगरीकन किन संविधान संशोधनको कुरा गरिरहनुभएको छ ? एक, दुई, तीन कुनै पनि हालतमा माओवादीको रोहवरबिना संविधान संशोधन किमार्थ सम्भव छैन,’पौडेलको जिकीर थियो ।
बैठकमा नेपाली कांग्रेसकी सांसद इश्वरी न्यौपानेले पनि पूर्वराजा शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरेको अभिव्यक्तिले समाजमा अराजकता फैलाएको भन्दै आपत्ति जनाइन् ।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए’, सांसद न्यौपानेले बैठकमा भनिन्, ‘यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए विडम्बना उनैले संविधानको भावनाविपरीत लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२÷०६३ को जनआन्दोलन र गणतन्त्रका लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु ।’ लोकतन्त्रमा बोल्न पाइने तर समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको न्यौपानेको भनाइ थियो ।
न्यौपाने बोलेपछि पालो आयो राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको । शाहीले पूर्वराजा शाहको विरोध गर्नुभन्दा बरु ८४ को निर्वाचनमा राजा चाहिन्छ कि चाहिँदैन भनेर जनमत सङ्ग्रह गर्ने हिम्मत गर्न गणतन्त्रवादी दलहरूलाई चुनौती दिए । साथै उनले माओवादीले राजा चहिँदैन भन्नु स्वभाविक भएपनि कांग्रेस –एमालेले राजा चाहिँदैन भनेर भन्नै नसुहाउने दाबी गरे ।
‘राजाको पालामा प्रधानमन्त्री खाएका, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज राजाको विरोध गर्न पाइँदैन,’ शाहीको भनाइ थियो । उनले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले समेत राजालाई मानेको भन्दै कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भन्ने गरेको सुनाए ।
प्रतिनिधि सभा बैठकमा शाहीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको पनि नाम लिए । उनले भण्डारीले भनेको शब्द भन्दै एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको स्मरण गरे ।
एमाले सांसद ईश्वरबहादुर रिजालले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश दिने क्रममा आफूले गरेको त्यागलाई कमजोरी नठान्न भनेर दलहरूलाई धम्क्याएको भन्दै जनताको मतलाई शाहले अन्यथा व्याख्या गरेकोमा आपत्ति जनाए । रिजालले राज्य शक्तिको स्रोत विष्णुको अवतारमा नपाइने भन्दै कवितात्मक शैलीमा राज्य शक्तिको स्रोत कहाँ हुन्छ भनेर शाहलाई ख्याल गर्न पनि आग्रह गरे ।
ज्ञानेन्द्रलाई वामदेवको सुझाव र चेतावनी
आइतबारको राष्ट्रिय सभा बैठकमा सदस्य वामदेव गौतमले पूर्व राजाले प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा आफूलाई पुनः राजा बनाउन गरिएको आग्रहप्रति आपत्ति जनाए ।
उनले प्रधानमन्त्री हुन मन भए प्रजातान्त्रिक ढंगले राजनीति गर्न सुझाव दिए । गौतमले नेपालमा राजाहरूको शासन राजाहरूले नै समाप्त गरेको भन्दै द्वैध शासन गर्नेहरू पनि नेपालका पूर्व राजाहरू नै रहेको स्मरण गराए ।
‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्’, गौतमले भने, ‘राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए ।’
राष्ट्रको मालिक भइसकेका नपाली जनतालाई रैती बनाएर शासन गर्ने ज्ञानेन्द्र शाहलाई जनआन्दोलनको माध्यमबाट गद्दीबाट नागरिकस्तरमा झारिदिएको गौतमको भनाइ छ ।
‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्’, गौतमले भने, ‘निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
तर ज्ञानेन्द्रले फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने गौतमको चेतावनी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक