सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व

आइतबार, ११ फागुन २०८१, १७ : ५६
आइतबार, ११ फागुन २०८१

समाजशास्त्रीय दृष्टिकोणले विभिन्न समयमा जन्मिएका व्यक्ति र तिनीहरूको मानसिकता तथा जीवनशैलीलाई बुझाउनका लागि चारवटा पुस्तामा वर्गीकरण गरिएको छ । जसको सुरुवात ‘बेबी बुमर’ भनिने पुस्ताबाट भएको हो । 

दोस्रो विश्व युद्धमा आकलन, मूल्याङ्कन वा यकिन गर्न नसकिने गरी ठुलो संख्या र परिणाममा जनधनको क्षति भयो । त्यसपश्चात् सन् १९४६ देखि १९६५ सम्मको समयको अन्तरालमा विश्वव्यापी रूपमै जन्मदर उच्च भयो । समयको यही अन्तरालभित्र जन्मेको पुस्तालाई ‘बेबी बुमर’ भनी नामकरण गरियो । 

यो पुस्ता औद्योगिक विकास, आर्थिक समृद्धि तथा सामाजिक, राजनीतिक, सांस्कृतिक र वैज्ञानिक परिवर्तनको महत्त्वपूर्ण समयमा हुर्कियो । यो समयावधिमा विश्वले अग्रगामी परिवर्तनतर्फ कोल्टे फेर्दै थियो । उच्च जन्मदर, औद्योगिकीकरणको लहर, प्रजातान्त्रिक प्रणालीमा आधारित राजनीतिक परिवर्तन, दुई ध्रुवीय विश्व–व्यवस्था प्रणालीको स्थापना र टक्कर, शिक्षा, स्वास्थ्यको साथै तीव्र रूपमा सामाजिक परिवर्तन भयो । 

प्रविधिको विकासमा रेडियो, टाइपराइटर, टेलिफोन, कम्प्युटर र इन्टरनेटजस्ता प्रविधिको विकास यो समयका महत्त्वपूर्ण विशेषता थिए । त्यसकारण यो पुस्ता निकै अनुभवी र वर्चस्वशाली बन्न पुग्यो । त्यसैगरी सन् १९६६ देखि १९८० बिचको पुस्तालाई जेन एक्स, सन् १९८१ देखि १९९७ बिचको पुस्तालाई जेन वाई, सन् १९९७ देखि २०१३ बिचको पुस्तालाई जेन–जेड ९जेनजी पनि भनिन्छ०, सन् २०१३ देखि २०२४ बिचको पुस्तालाई जेन अल्फा भनिन्छ । 

पछिल्लो पुस्ता प्रविधि र नवप्रवर्तनमा आधारित उन्नत र विश्वस्तरको सामाजिक चेतना, सशक्तीकरण, लोकतन्त्र र समावेशीकरणप्रति प्रतिबद्ध तथा स्मार्ट प्रविधिमा आधारित एआई पुस्ता हुन् । अझ समाजशास्त्री मार्क म्याक्रिन्डलले सन् २०२५ देखि २०३९ बिचमा जन्मेको पुस्ता र तिनीहरूको जीवनशैलीलाई ‘जेन बिटा’ भनी नामकरण गरेका छन् । यो अवधिमा स्वास्थ्य, शिक्षा, सेवा, मनोरञ्जनजस्ता कार्य एआईमा आधारित हुनेछन् । प्रविधिको एकीकरण, दीर्घजीवन, दिगोपन, विश्वव्यापी प्रभाव तथा डिजिटल अर्थतन्त्र, उद्यमशीलता र स्वतन्त्रता ‘जेन बिटा’का विशेषता हुनेछन् । यस्तो पुस्ताको मानसिकता वा जीवनशैली अपनाउने युवाद्वारा गरिने शासन प्रणाली ‘निओक्रेसी’ हो । यो शासन कुनै शासन प्रणालीका आधारमा वर्गीकरण गरिएको शासनको प्रकार होइन । तुलनात्मक रूपमा नयाँ वा अनुभव कम भएका युवाबाट सञ्चालन हुने शासन प्रणाली हो । यस्तो नेतृत्व खासगरी क्रान्ति वा राजनीतिक परिवर्तनपछि पुरानालाई हटाएर स्थापित हुन्छ । यस्तो शासन प्रणालीमा युवा पुस्ताले शासन सञ्चालन गर्ने हुँदा नवीन सोच, तीव्र इच्छाशक्ति, प्रविधिमैत्री शासन प्रणाली, गतिशीलता र शीघ्र निर्णय गर्ने क्षमता, भ्रष्टाचारविरोधी मानसिकता, रोजगारी, स्वतन्त्रता र उद्यमशीलताप्रति प्रतिबद्ध, प्रियतावादतर्फ उन्मुखजस्ता सकारात्मक पक्ष हुन्छन् । कहिलेकाहीँ राजनीतिक, प्रशासनिक, आर्थिक, कूटनीतिकजस्ता क्षेत्रको अनुभवको कमीका कारण नीतिगत अस्थिरता हुन सक्ने जोखिम भने रहन्छ । तथापि ‘निओक्रेसी’ आजको युगको तथा वर्तमानमा नेपालको आवश्यकता हो । 

यसरी समाजशास्त्रीय तथ्यले पनि के पुष्टि गर्छ भने आजको युग जेन–जीको युग हो । जुन एआईमा आधारित बन्दै गएको छ । जुन युगमा जुन पुस्ताको बाहुल्य रहेको हुन्छ, त्यो युगको नेतृत्व त्यही पुस्ताले गर्नुपर्छ । विडम्बना, हाम्रो देशमा जेन–जीको युगमा ‘जेरोन्टो’ले विगत लामो समयदेखि शासन गरिरहेका छन् । वृद्ध वा उच्च उमेरका मानिसबाट गरिने शासन प्रणाली नै ‘जेरोन्टोक्रेसी’ हो । परम्परागत समाजको बाहुल्य रहेको तथा अविकसित र एक दलीय शासन प्रणाली रहेको मुलुकमा यस्तो नेतृत्वको वर्चस्व रहेको हुन्छ । यस्तो शासन प्रणालीमा पाका उमेरका मानिसबाट सञ्चालन हुने भएकाले उनीहरूमा विगतको अनुभव र ज्ञान हुन्छ तर भविष्य द्रष्टा हुँदैनन् । शासन प्रणालीमा स्थायित्व हुन सक्छ तर यथास्थितिवाद हाबी रहन्छ । यस्तै गतिशीलतामा कमीस परम्परागत मूल्य–मान्यता, संरचना र सोचस निर्णय प्रक्रियामा ढिलासुस्तीस नवप्रवर्तनप्रति अज्ञानता र उदासीनतास नेतृत्व हस्तान्तरणप्रति अनुदारजस्ता कमी–कमजोरी रहेको हुन्छ ।

वृद्ध वा उच्च उमेरका मानिसबाट गरिने शासन प्रणाली नै ‘जेरोन्टोक्रेसी’ हो । परम्परागत समाजको बाहुल्य रहेको तथा अविकसित र एक दलीय शासन प्रणाली रहेको मुलुकमा यस्तो नेतृत्वको वर्चस्व रहेको हुन्छ ।

नेपालको सन्दर्भमा अधिकांश दलको नेतृत्वमा पाका उमेरका नेताको वर्चस्व  छ— देउवा, ओली, प्रचण्ड, नेपाल, खनाल, महन्त ठाकुर, चित्रबहादुर केसी, राजेन्द्र महतो, डा‍. बाबुराम भट्टराई, मोहनविक्रम सिंह, उपेन्द्र यादव आदि । यसरी युवाहरूको युगमा वृद्धहरूले शासन गर्नु भनेको वर्तमानमाथि विगतले शासन गर्नु हो, शासन गर्नुपथ्र्यो भविष्यले । विगतले शासन गरेपछि मुलुक यथास्थितिमा रहनु वा उल्टो गतिमा जानु स्वाभाविक हो । 

नेपालमा विगत लामो समयदेखि वृद्ध शासकले जरा गाडेर बसेका छन् । चाहे पञ्चायती व्यवस्थामा होस्, चाहे बहुदलीय व्यवस्था स्थापना भएपश्चात् होस्— कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्ददेखि माथि उल्लिखित नेताहरू हुन् । पाका उमेरका नेताहरूले गाडेको जरा उखेल्न नसक्नुको प्रमुख कारण दोस्रो र तेस्रो पुस्ताका नेताहरूको कमजोर मानसिकता, आत्मविश्वासको कमी र लाए–अह्राएको काम गर्ने कार्यकर्ता भएर बस्ने मनोवृत्ति हो । 
तसर्थ अब केही कानुनी सुधार, नीतिगत परिवर्तनद्वारा युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता खट्किँदै गएको छ । किनकि उनीहरू आफ्नो क्षमता र प्रतिस्पर्धाबाट मूल नेतृत्वमा आउन सकेनन् । पार्टी विधानमा आफ्नो प्रतिकूल हुने प्रावधान वृद्ध नेतृत्वले समावेश गर्दैनन् । भएको प्रावधानलाई पनि विभिन्न बहानामा हटाउँछन् । त्यसकारण संविधान र कानुनमै राजनीतिक पदको उम्मेदवार हुनका लागि उमेरको हद, शैक्षिक योग्यता, युवा उमेर समूहका लागि निश्चित प्रतिशत आरक्ष तोक्ने तथा युवाकेन्द्रित नीति निर्माण गर्नुपर्छ । शैक्षिक पाठ्यक्रममै लोकतन्त्र, सुशासन, नेतृत्व विकासजस्ता विषय समावेश गर्नुपर्छ । डिजिटल लोकतन्त्रको विकासद्वारा युवाहरूलाई नेतृत्वमा ल्याउने वातावरण सिर्जना गर्नुपर्छ । सामाजिक र सांस्कृतिक सचेतनामार्फत समाजमा पुरानो मानसिकतालाई त्याग्ने, पाका उमेरका मानिस मात्र सक्षम र योग्य हुन्छन् भन्ने मान्यतालाई तोड्ने र युवाहरूप्रतिको विश्वासनीयतालाई अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्नुपर्छ । 

विश्वको अधिकांश विकसित मुलुकहरूको नेतृत्वमा युवाहरू नै रहेको दृष्टान्त दिँदै राजनीतिक पार्टीहरूमा पनि युवाहरूलाई नेतृत्वमा प्राथमिकता दिन दबाब समूहहरू निर्माण गरी अभियानहरू सञ्चालन गर्नुपर्छ । समग्रमा नेपालमा ‘जेरोन्टोक्रेसी’ अन्त्य गर्नका लागि कानुनी र नीतिगत सुधार, सामाजिक चेतनाको विकास र प्रविधिको उपयोग गर्न सकिन्छ । 

हरेक राजनीतिक दलका युवाहरू पनि उमेर समूहमा मात्र युवा भएर पालो पर्खने होइन, दासता स्वीकार गर्ने होइन । आफूलाई सशक्तीकरण गर्दै उच्च मनोबल र आत्मविश्वासका साथ नेतृत्वका लागि धावा बोल्ने हिम्मत र सामथ्र्य राख्नुपर्छ । नेतृत्व मागेर पाइँदैन । राजनीतिमा कर्मचारीको जस्तो स्वतः बढुवा हुँदैन, आफ्नो योग्यता र क्षमताले लिनुपर्छ । राष्ट्रपति, उपराष्ट्रपति र पालिका प्रमुखको निश्चित कार्यकाल संवैधानिक रूपमा तोकेजस्तै प्रधानमन्त्री र मन्त्रीहरूको पनि तोक्नुपर्छ । गुटतन्त्र र भ्रष्टाचारले थला परेको अनि दण्डहीनता मौलाएको लोकतन्त्र ‘जेरोन्टोक्रेसी’को परिणाम हो भनी बुझ्न अब ढिलो गर्नु हुँदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप