लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ मा लेबननले सान्त्वना जित हासिल गरेको छ । लेबननले आइतबार दशरथ रंगशालामा खेलिएको आफ्नो अन्तिम खेलमा किर्गिस्तानलाई २–० गोलले हरायो ।
यी दुबै टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् । किर्गिस्तान जितविहीन बन्दै उपाधि होडबाट बाहिरिन बाध्य भयो । किर्गिस्तानविरुद्धको खेलमा १३औँ मिनेटमा लेबननले अग्रता लिएको थियो । लेबननका लागि क्रिस्टी मालुफले पहिलो गोल गरिन् ।
निर्धारित समयको २२औँ मिनेटमा मया रोज महानाले लेबननको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको दोस्रो हाफमा भने दुबै टोलीले गोल गर्न सकेनन् ।
आइतबारको दोस्रो खेल आयोजक नेपाल र म्यानमारबिच खेलिने छ । नेपाल र म्यानमारबिचको खेल साँझ १८ः०० बजे सुरु हनेछ । नेपाल र म्यानमार यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेका छन् ।
त्यसैले, यी दुई टोलीबिच आइतबार खेलिने खेलले प्रारम्भिक चरणको विजेताको टुंगो लगाउने छ । यी दुबै टोली आफूले खेलेका अघिल्ला दुबै खेलमा विजयी भएका थिए । प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने प्रावधान छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई र दोस्रो खेलमा लेबननलाई समान १–० गोलले हराएको थियो । किर्गिस्तानविरुद्ध विमला चौधरी र लेबननविरुद्ध सावित्रा भण्डारीले निर्णायक गोल गरेका थिए ।
म्यानमारले भने आफ्नो पहिलो खेलमा लेबननलाई ३–१ गोलले र दोस्रो खेलमा किर्गिस्तानलाई ५–० गोलले हराएको थियो । चार राष्ट्र सम्मिलित जारी प्रतियोगितामा म्यानमार सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ । फिफा वरीयतामा पनि म्यानमार सबैभन्दा अगाडि छ ।
फिफाद्वारा सार्वजनिक गरिएको पछिल्लो महिला वरीयतामा म्यानमार ५५औँ स्थानमा आसिन छ । अन्य तीन राष्ट्र भने एक सयभन्दा तलको वरीयतामा छन् । वरीयतामा नेपाल १०३औँ, किर्गिस्तान १२८औँ र लेबनन १३४औँ वरीयतामा रहेका छन् ।
आफूभन्दा बलियो टोली भए पनि आइतबारको खेलमा घरेलु मैदान र दर्शकको अपार समर्थन नेपालका लागि सकारात्मक पक्षका रुपमा रहने छ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन भएको हो । प्रतियोगिताको फाइनल खेल फागुन १४ गते साँझ १८ः०० बजे दशरथ रंगशालामा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु