सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा

आइतबार, ११ फागुन २०८१, १६ : ००
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका लागि निम्ताको पर्खाइमा रहेको बताएकी छन् । 

द हिन्दुसँग शनिबार कुराकानी गर्दै मन्त्री राणाले अप्रिलमा बैंककमा हुने बिमस्टेक सम्मेलनका दौरान साइडलाइनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट हुने र सन् २०२५ को ‘पहिलो भाग’मा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आउने आशा व्यक्त गरेकी हुन् ।

ओली सरकार गठन भएपछि दुईपटक भारत पुगेकी राणाको भनाइले दुई देशबिचको सम्बन्धमा असहजता कायम नै रहेको संकेत गरेको द हिन्दुमा प्रकाशित समाचारमा उल्लेख छ । मोदी सरकारले ‘असामान्य’ तरिकाले नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न ढिलाइ गरिरहेको बताइएको छ ।

भारतबाट ढिलाइ हुने संकेत पाएपछि नै प्रधानमन्त्री ओलीले सन् २०२४ को नोभेम्बरमा चीनको भ्रमण गरेका थिए । यसले पनि दिल्ली र काठमाडौँबिचको दूरी झनै बढाएको विश्लेषण गरिएको छ ।

यद्यपि, गत हप्ता मस्कटमा इन्डियन ओसन कन्फरेन्सका दौरान भारतीय विदेशमन्त्री एस जयशंकरसँग सौहार्दपूर्ण कुराकानी भएको राणाले बताएकी छन् । उनका अनुसार जयशंकरसँग नेपाली सामग्रीको गुणस्तर क्लियरेन्स, जलविद्युत आयोजनाको प्रगति, पोखरा र भैरहवा विमानस्थलका लागि हवाई रुट लगायत विषयमा खुलेर छलफल भएको थियो ।

‘दुई विदेशमन्त्रीबिच प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय भएको हो ?’ भन्ने प्रश्नमा राणाले ‘निमन्त्रणा आउने बित्तिकै’ भारत भ्रमण गर्ने खुलाइन् । यसको अर्थ हालसम्म भारतबाट कुनै पनि औपचारिक निमन्त्रणा आएकै छैन । ‘मैले मात्र यही उत्तर दिनसक्छु – आशा छ निकट भविष्यमा नै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ,’ राणाले भनिन् ।

सन् २०२४ को सेप्टेम्बरमा नै प्रधानमन्त्री ओली र मोदीबिच न्यूयोर्कमा भेट भएपछि पनि परम्परागत रूपमा नै दिइँदै आएको निमन्त्रणाका लागि किन यति धेरै समय लगाइयो ? भन्ने प्रश्नमा मन्त्री राणाले भारतमा जारी रहेको विधानसभा चुनावको कारण देखाइन् । उनले भनिन्, ‘सुरुमा मैले प्रधानमन्त्री मोदी चुनावका लागि व्यस्त हुनुहुन्छ भन्ने सूचना पाएको थिएँ । मलाई आशा छ सन् २०२५ को पहिलो भागमा नै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्नुहुन्छ ।’
दुई नेताले अप्रिल २ देखि ४ सम्म थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा भाग लिँदैछन् । त्यहाँ पनि उनीहरूबिच भेटघाट हुने अपेक्षा गरिएको छ ।

मन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमण र बीआरआईको फ्रेमवर्कमा हस्ताक्षरपछि भारतले निमन्त्रणा पठाउन ढिलाइ गरेको कुरालाई अस्वीकार गरिन् । उनले भारतले अहिलेसम्म चीनको कुनै पनि बीआरआई परियोजनाबारे औपचारिक रूपमा आपत्ति नजनाएको बताइन् । उनले बीआरआईमा हस्ताक्षर गरे पनि नेपाल असंलग्न राष्ट्र नै रहेको स्पष्ट पारिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप