सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’

आइतबार, ११ फागुन २०८१, १४ : ५१
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । फिल्म ‘कल्ली’ को आजबाट छायाङ्कन सुरु भएको छ । काठमाडौँको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायाङ्कन काठमाडौँमा गरिनेछ । 

त्यसपछि भने बाँकी छायाङ्कनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ । ३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायाङ्कन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । निसाल पौडेलले यो फिल्मको छायाङ्कन गरिरहेका छन् । १३ वर्षपछि फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान निकै उत्साहित देखिए ।

उनले भने– ‘यो फिल्मको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका फिल्मको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै फिल्मबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नवुझेका कारण मैले फिल्ममा काम गरिनँ ।’

सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरु श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप