मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

१० दिनको अवधिमा कांग्रेसमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला

आइतबार, ११ फागुन २०८१, १४ : ०७
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने भन्नेबारे केन्द्रीय कार्यसमितिले अहिलेसम्म निर्णय गरेको छैन । तर, महाधिवेशनको मिति निश्चित नहुँदै नेताहरू भने महाधिवेशनको तयारीका लागि गुटगत भेलामा सक्रिय भएका छन् । फागुन महिना लागेपछि मात्रै  १० दिनको अवधिमा महाधिवेशन केन्द्रित चार वटा गुटगत भेला गरिएका छन् । 

शेरबहादुर देउवा सभापतित्वको कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिने भए पनि विधानमा भएको व्यवस्था उपयोग गरी एक वर्ष थप्नेबारे अनौपचारिक कुराकानी भइरहेको छ । कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णय भएमा २०८३ मंसिरसम्म यही कार्यसमिति रहन्छ ।

फागुन लागेपछि गुटगत भेलाको सुरुवात संस्थापन पक्षले गरेको थियो । २ फागुनमा कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अग्रसरतामा सभापति देउवा निवास बुढानीलकण्ठमा भेला भएको हो । 

१४औँ महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन मुख्य भूमिका खेलेका सिटौलासहित उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री तथा वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वउपसभापति विजय गच्छदार, नेताहरू बालकृष्ण खाण, एनपी साउद, उमाकान्त चौधरीले भेला गरे । 

भेलामा नेताहरूले इतर समूहका नेताहरू सभापतिमा उम्मेदवारी घोषणा गरेर अभियान लिई मुलुक भ्रमणमा निस्किएको भन्दै संस्थापनको आधिकारिक उम्मेदवार को हो भन्दै देउवालाई सोधेका थिए । देउवाले जसलाई आफ्नो तर्फबाट उम्मेदवार घोषणा गरे पनि सबैले सहयोग गर्ने र अभियान बनाएर अघि बढ्ने बताएका थिए । देउवाले सबैलाई मिलाएर बेला आउँदा उम्मेदवार घोषणा गर्ने बताए । 

त्यसपछि १० फागुनमा सभापतिमा उम्मेदवारी घोषणा गरेर देश दौडाहामा रहेका नेता डा. शेखर कोइरालाले भेला गरे । आफ्नो सम्पर्क कार्यालय विशालनगरमा भएको भेलामा १४ औँ महाधिवेशनमा डा. कोइराला सभापतिको उम्मेदवार बन्दा महामन्त्रीको उम्मेदवार बनेका डा.मीनेन्द्र रिजाल, वर्तमान सहमहामन्त्री जीवन परियार, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी केन्द्रीय सदस्यहरू सरिता प्रसाई, सञ्जय गौतमसहितका नेताहरू उपस्थित थिए ।

 पार्टीको भ्रातृसंस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशनमा काठमाडौँमा उपस्थित आफू पक्षीय प्रतिनिधिहरूलाई चियापान गराउने बहानामा बोलाइएको भेलामा नेताहरूले छुट्टै र प्रतिनिधिहरूसँगै बसेर महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी गरेका थिए । कोइरालाले आफै सबैलाई मिलाएर अगाडि बढ्न तयार रहेको भन्दै कसरी अगाडि बढ्ने हो सुझाव दिन र नेताहरू र प्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।   

१० फागुनमा नै नेता कृष्णप्रसाद सिटौलाले आफूपक्षीय नेताहरूलाई चण्डोलस्थित निवासमा बोलाएर महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका छन् । 

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई, पूर्वरक्षामन्त्री भिमसेनदास प्रधान, कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायतलाई बोलाएर नेता सिटौलाले २ फागुनमा सभापति देउवा निवासमा भएको भेलाको निष्कर्षबारे जानकारी गराएका हुन् । 

राईले रातोपाटीसँग सिटौला निवासमा भएको छलफलमा पार्टी र समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको जानकारी दिए । विकसित राजनीतिक घटनाक्रमबारे सिटौलाले नेताहरूलाई जानकारी गराएको बताउँदै राईले पार्टीलाई कसरी संस्थागत ढंगले अघि बढाउने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको तयारीलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल जानकारी दिए । 

२ फागुनमा सिटौलाकै सक्रियतामा सभापति देउवालाई १४औँ  महाधिवेशनमा सहयोग गरेका ११ नेताहरू बूढानीलकण्ठमा भेला गरेका थिए । 

सभापतिका आकांक्षी नेताहरूले मात्रै होइन, युवा नेताहरूले पनि महाधिवेशन केन्द्रित भेला गर्न थालेका छन् ।

 नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले नेविसंघको पूर्व केन्द्रीय समिति (२०६८/२०७३) को पुनर्मिलन कार्यक्रमका नाममा शुक्रबार र शनिबार नगरकोटमा भेला गरे । भेलामा नेविसंघ व्याकग्राउण्डबाट आएका कांग्रेसका युवा नेताहरू सहभागी थिए । 

भेलामा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार खत्री, सुवास पोख्रेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीसहितको सहभागिता थियो । सहमहामन्त्री राठोर र केन्द्रीय सदस्य भट्टराई नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । 

उनीहरूले आफूलाई महाधिवेशनमा उम्मेदवार बन्दा सहयोग हुने हिसाबले पुनर्मिलन कार्यक्रमको नाममा भेला गरेको पनि चर्चा परिचर्चा छ । 

भेलामा युवाहरूलाई आफ्नो पक्षमा पार्न पार्टीमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । 

जनसंख्याको ४२.५ प्रतिशत युवाहरू भएपनि कांग्रेसमा युवा सहभागिता तुलनात्मक रूपमा कम रहेकाले विधानमा संशोधन गरेर वडादेखि केन्द्रीय तहसम्म पार्टीका हरेक समितिमा ४० वर्ष मुनिको कम्तीमा ३० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेर महाधिवेशनमा आउने युवा महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने प्रयास पनि गरिएको नेताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप