मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?

आइतबार, ११ फागुन २०८१, १३ : ५३
आइतबार, ११ फागुन २०८१

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन् । भिसा आइसकेको तर, उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ । 

ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर, पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन् । 

एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने अवस्था आएको बताए । एक हजार ७०० को सङ्ख्यामा आफूहरू उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ । 

‘नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिचको सम्झौताअनुसार श्रमिकहरू निश्चित समयसीमाभित्र रोजगारदातासँग आबद्ध हुनुपर्ने हुन्छ । तर, हाल उडान सङ्ख्या अत्यन्त कम हुँदा १७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेका छौँ,’ ती श्रमिकले भने । 

कतिपय श्रमिकहरूको भिजा अवधि सकिँदा उनीहरूको रोजगारी नै गुमिसकेको समेत बताए । 

नियमित उडान सङ्ख्या वृद्धि गर्न, चार्टर फ्लाइटको व्यवस्था गर्न वा वैकल्पिक उपायहरू खोज्न सरकारसँग उनीहरूले माग गरेका छन् । 

लामो संघर्ष गरेर कोरियामा रोजगारीका लागि जान छनौट भएको तर, पर्याप्त उडान नहुँदा जानबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ । 

यो विषयमा श्रमिकहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत जानकारी गराएका छन् । 

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखा कार्यालयले भिसा आइसकेका सबैले जान पाउने जनाएको छ । 

शाखा कार्यालयका शाखा अधिकृत कमल श्रेष्ठका अनुसार मार्च महिनाको पहिलो हप्ता ३५५ जनाको उडान तालिका आइसकेको छ । त्यस्तै दोस्रो हप्तामा ६२५ जनाको उडान तालिका आएको छ । भने तेस्रो र चौथो हप्ताका लागि करिब ८०० जना जतिको आउने उनको भनाइ छ । मार्च महिनाभरमा १८०० जना जति कोरिया जान पाउनेछ ।

त्यस्तै अप्रिल र मे महिनाको लागि समेत कोरियाले उडान सेड्युल पठाउनेछ । 

कोरियाका लागि उडान टेन्डर प्रक्रियाका कारण उडान तालिकामा केही फरक परेको हो । हाल ट्रान्जिट मार्फत उडान हुँदै आएको छ । यसअघि सिधा उडानमार्फत मात्रै कामदारहरू जाने गरेका थिए । अहिले ट्रान्जिटमार्फत जाँदा हवाई भाडा समेत घटेर ४८ हजार ६६५ रुपैयाँ भएको छ । यसअघि एक लाख २३ हजार हवाई भाडा तिर्दै आएका थिए । 

टेन्डर प्रक्रियाका, डिसेम्बर महिनामा कोरियामा परेका चाडपर्व लगायतका कारणले केही ढिलाइ भएको ईपीएस शाखा कार्यालयले जनाएको छ । 

भिसा क्यान्सिल हुने अवस्था आउने कामदारलाई प्राथमिकतामा राखेर त्यही अनुसार उडान गरिने शाखा कार्यालयले जनाएको छ । 

हाल भिसा क्यान्सिल भएकाहरूको हकमा भने उडान तालिकाका कारण नभई अन्य कारणले भएको कार्यालयले जनाएको छ । 

रोजगारदाताले सुरुमा कामदार माग्ने र पछि बिजनेस डाउन भएर क्यान्सिल गर्ने गरेका छन् । जसले गर्दा सम्झौता भइसकेका कतिपय श्रमिकको सम्झौता रद्द हुँदै आएको छ । तर, कामदारको तर्फबाट कुनै समस्या नभएको खण्डमा अन्य कम्पनीमा पठाउनका लागि रिरोस्टर समेत गर्दै आएको छ । 

भिसा लागेर उड्न नपाएका श्रमिकहरूले आपत्ति नपर्ने शाखा अधिकृत श्रेष्ठको भनाइ छ । कोरियाको चाडपर्व, टेन्डरको प्रक्रिया जस्ता कारणले उडानमा केही ढिलाइ भएको तर, अब नियमित हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप