सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

छोटो दुरीको हेटौँडा–फाखेल–फर्पिङ सडक २० दिनलाई एकतर्फी

आइतबार, ११ फागुन २०८१, १२ : ५८
आइतबार, ११ फागुन २०८१

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–कुलेखानी–फाखेल फर्पिङ सडक २० दिनका लागि एकतर्फी रूपमा सञ्चालन गरिने भएको छ । सडक मर्मत तथा स्तरोन्नति कार्य भइरहेकाले छोटो दुरीको हेटौँडा– काठमाडौँ सडकको हेटौँडा–फाखेल–फर्पिङ खण्ड २० दिनका लागि एकतर्फी गरिएको हो ।

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै १० गते शनिवारदेखि २० दिनका लागि सवारी साधनको आवागमन एकतर्फी गरिएको जानकारी दिएको छ । कार्यालयले हेटौँडा फाखेल हुमाने भञ्ज्याङ आयोजनाको मकवानपुर अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मीखोलासम्म सडक ढलान गर्नुपर्ने भएकाले सवारी साधन आवागमन एकतर्फी गरेको जनाएको छ ।

इन्द्रसरोवर गाउपालिका वडा नम्बर ४ र २ को सीमा क्षेत्रमा पर्ने माहलक्ष्मी खोलामा पक्की पुल निर्माणको काम पनि भइरहेको छ । सडक ढलानका क्रममा सवारी साधनको चापका कारण निर्माण कार्यमा असहजता हुने भएकोले सवारी एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको पूर्वाधार विकास कार्यालय, मकवानपुर प्रमुख सुजन भण्डारीले जानकारी दिए । 

हेटौँडा फाखेल हुमाने सडकबाट हेटौँडा काठमाडौँ जाने गरी एकतर्फी सवारी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौँ र मकवानपुर जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ । यस क्रममा हेटौंडाबाट काठमाडौंतर्फ जान हेभी सिस्नेरी दक्षिणकालीलाई वैकल्पिक रुटका रूपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

यता महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग पनि स्तरोन्नतिका क्रममा गत आइतबारदेखि डेढ महिनाका लागि बन्द छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ अन्तर्गत महालक्ष्मी दोभान घट्टेखोला चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको केही स्थानको मोडहरुमा सडक ढलानको काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप