नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित

नेपालको राजनीति एउटा चङ्गुलमा फसेको छ । यो चङ्गुलमा फसेको राजनीतिलाई निकास दिन अहिलेको नेतृत्वबाट सम्भव छैन, किनकि यो नेतृत्व पटकपटक अक्षम प्रमाणित भएको छ ।
नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः प्राप्ति भएको ३४ वर्ष बितेको छ । देशको समृद्धिको मुख्य बाधक व्यवस्था नै हो भनेर पटकपटक आन्दोलन भए, हजारौँ नेपाली सहादत भए र देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । तर जनताको अवस्थामा तात्त्विक परिवर्तन आउन सकेको छैन ।
आज देशमा भौतिक पूर्वाधारको विकासका कुरा त के गरौँ, नेपाली जनताका आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य)मै मुख्य समस्या छन् । अब त जनताको प्रतीक्षाको बाँध टुट्न पो लागेको हो कि जस्तो देखिन्छ । देशका कुनै पनि सूचकाङ्कहरूमा शुभ सङ्केत देखिँदैन । देश छोड्नेहरु बढिरहेका छन् । देशको सामाजिक र आर्थिक अवस्था अत्यन्तै दयनीय छ । सत्तासीनहरू आरोप र प्रत्यारोपमै समय व्यतीत गरिरहेका छन् ।
कुनै पनि देश बन्न वा बनाउनका लागि तीन दशक भनेको पक्कै पनि थोरै समय होइन । निरपेक्ष रूपमा पञ्चायत वा बहुदलको तुलनामा देशमा परिवर्तन हुँदै भएन भन्न खोजेको होइन तर जुन रफ्तारमा जे हुनुपर्ने हो त्यो हुन सकेन । राजनीतिक नेतृत्वमा इमानदारिता भएको भए आज नेपाली जनताले यो गरिबी र बेरोजगारीको अवस्था भोग्नुपर्ने थिएन । देशको समृद्धि र यसको रफ्तार कस्तो हुनुपर्छ भनेर हेर्न धेरै टाढा जानैपर्दैन, छिमेकी मुलुकहरू भारत र चीनको आजको अवस्था र उचाइ हेरे नै पुग्छ ।
आजको नेपाली काङ्ग्रेस माओवादी हुँदै एमालेको पञ्जामा फस्न पुगेको देखिन्छ । कम्युनिस्टहरूको झन् के भरोसा छ र ! बिहान एकातिर अनि बेलुका अर्काेतिर । पार्टीका सटरहरू खोल्दै नेता बनिरहेका हुन्छन् । यिनीहरू जोडिन र छुट्टिन कुनै आइतबार कुर्नुपर्दैन ।
नेपालको समृद्धि हुन नसक्नुको प्रमुख कारण भनेकै राजनीतिमा वैचारिकता, इमानदारिता र जिम्मेवारबोध हुन नसक्नु नै हो । लामो इतिहास बनाएका र आफूलाई जिम्मेवार राजनीतिक दल भन्नेहरूले राजनीतिलाई नै व्यवसाय बनाउँदा आज देशले यो अवस्था भोग्नुपरेको छ । राजनीति केवल सत्ता प्राप्ति र भागबन्डामा मात्रै सीमित रह्यो । दलहरूले आफ्ना नीति, सिद्धान्त र विचारहरू पोलेर खानाले लोकतन्त्रले परिपक्वता पाउनै सकेन र आज नेपालको लोकतन्त्र पूरै लुटतन्त्रमा परिणत भएको छ । नेपाली जनताहरू अभिभावकविहीन अवस्थामा पुगेर अत्यन्तै निराशामा छन् र उनीहरूमा असन्तुष्टिका ज्वारभाटा र विद्रोहका स्वर देखिँदै छन् । राजनीतिमा जे पनि हुन सक्छ भन्ने भाष्य निर्माण गरी राजनीतिलाई लाजनीति नै बनाइएको छ ।
नीतिहरूको मूलनीति भनेकै राजनीति हो । जब राजनीति नै विषाक्त र लाजनीति हुन्छ भने समाज, संस्कृति, संस्कार, भाषा आदिजस्ता सबै क्षेत्रमा केही न केही प्रभाव परेकै हुन्छ । आज नेपालका सबैजसो सरकारी अङ्गहरू चरम भ्रष्टाचारका अखडा बनेका छन्, कुनै पनि अङ्गहरू स्वच्छ, सफा र पारदर्शी छैनन्, शून्य सहनशीलता भन्ने कागजमा मात्र सीमित छ । जनतामा राज्यप्रति विश्वास नै छैन ।
न्यायालयदेखि लिएर गाउँपालिकासम्म राजनीतिक दुर्गन्ध, अनियमितता, भ्रष्टाचार मात्रै देखिन्छन् । देशको विकास र सुशासनको सवालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद, योजना आयोग र अङ्गहरूमा अन्तर्मनदेखि नै कुनै दिन कसैले बहस गरी निष्कर्ष निकालेर कार्यान्वयनको पाटो अवलम्बन गरेको कहिल्यै समाचार बन्दैनन् । आमसञ्चारका हेडलाइन विकास बारेमा कहिल्यै बन्न सकेका छैनन् । बाटोघाटो, चिया–चौतारो हुँदै सञ्चार र सञ्जालमा केवल विकृत राजनीतिले मात्र स्थान पाएको देखिन्छ । देशमा विकास भनेको कुनै जादुमन्त्र लगाएर, कागजमा कोरेर, थोत्रा भाषण गरेर अनि एक अर्कालाई सत्तोसराप गाली गरेर आउँदैन । पूर्वीय शास्त्रमा मुखमा राम र हातमा काम भनेजस्तै राज्यले दृढइच्छा शक्तिसहित निश्चित उद्देश्य राखेर तनमनधनका साथ काम गर्यो भने मात्र विकास सम्भव छ ।
नेपालका राजनीतिक दलहरूका नेतृत्वहरू नै असक्षम र जिम्मेवारहीन हुनाले देशले अहिलेको दुरावस्था भोगिरहेको छ । पटकपटक असक्षम र अयोग्य प्रमाणित भएका नेतृत्वले नै राज्य सञ्चालन गरेकाले देशको परिवर्तन हुन सकेको छैन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै बारम्बार पुरानै व्यक्तिहरू दल र राज्यको नेतृत्वमा आइरहने हुनाले देशले केही नयाँ पाउनै सकेन । दलहरू व्यक्तिको कब्जामा गई प्राइभेट कम्पनीजस्ता भएका छन् । नेतृत्वले जनतामा चेतनाको स्तर कम हुनुको फाइदा उठाई भ्रममा पारेर राज्य सत्ताको दोहन गरी ब्रह्मलुट मच्चाइरहेको देखिन्छ । दलहरू देशको ढुकुटी रित्त्याएर केवल कार्यकर्ता पोस्ने, पाल्ने र कमाउने धन्दामा केन्द्रित छन् ।
आम जनताले तिर्ने कर र विदेशी सहयोग र अनुदानहरू कार्यकर्ता पालिने स्रोत बनेका छन् । विश्वको एक शक्तिशाली राष्ट्र प्रमुखले नै एक सार्वजनिक समारोहमै नेपालमा दिएको अनुदान ठगीमा प्रयोग भयो भनेर घोषणा गरे । यसले गर्दा आज नेपालको इज्जतमा ठुलो दाग लागेको छ ।
आज राजनीतिक दलहरूमा विचारको स्खलनले गर्दा दलहरू बिचको भिन्नता छुटाउने आधार नै केही छैनन् । दलहरू गठबन्धनविना आवधिक निर्वाचन सहभागी हुनै नसक्ने अवस्थामा पुगेका छन् । कुनै एउटा दलको नेतृत्व नै अर्काे दलले गरेजस्तै देखिन्छ । आजको नेपाली काङ्ग्रेस माओवादी हुँदै एमालेको पञ्जामा फस्न पुगेको देखिन्छ । कम्युनिस्टहरूको झन् के भरोसा छ र ! बिहान एकातिर अनि बेलुका अर्काेतिर । पार्टीका सटरहरू खोल्दै नेता बनिरहेका हुन्छन् । यिनीहरू जोडिन र छुट्टिन कुनै आइतबार कुर्नुपर्दैन । यस्ता किसिममा विकृतिले गर्दा राज्य र लोकतन्त्र कमजोर हुँदै गएको छ । सरकार गठबन्धनबाटै बनाइरहने हुनाले शपथ लिएको दिनदेखि ढाल्ने फोहोरी र घीनलाग्दो खेल सुरु हुन्छ ।
नेपालको राजनीतिको तीन दशकको मुख्य उपलब्धि भनेको केवल सरकार बनाउने र ढाल्ने खेलहरू खेलिरहनु नै हो । यस खेलमा दलहरू सक्षम देखिए । राजनीतिक दलहरू केवल चुनावदेखि चुनावसम्म सीमित भए । नेतृत्वमा कहिल्यै कुनै नयाँ अनुहार आउला भन्नुरहेन । प्रधानमन्त्रीमा देउवा, ओली र प्रचण्डको अनुहारबाहेक अरु को अनुहार देख्नु नै छैन । यी तीनजनाले वर्षौंसम्म आ–आफ्नो पार्टी कब्जा गरी देशलाई समेत बन्धक बनाएका छन् र नेपाली राजनीतिलाई डरलाग्दो चङ्गुलमा फसाएर फाइदा लिइरहेका छन् ।
काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपाली जनताप्रति जवाफदेही हुन सकेनन् । उनले पार्टीलाई जीवन्त, चलायमान र लोकतान्त्रिक बनाउन सकेनन् । पार्टीले जति लामो इतिहास बनाउँदै गएको साङ्गठनिक रूपमा त्यति नै कमजोर हुँदै गएको देखिन्छ । देउवाको क्षमता भनेको मौन बसेर पनि सत्ता र शक्तिको साँचो आफ्नो हात पार्नु र पार्टीभित्र आफ्नो गुट बलियो बनाउनु नै देखियो । उनको पाँचपटकसम्मको प्रधानमन्त्रीको कार्याकालको स्मरणयोग्य उपलब्धि भनेको उनी अब छैटौँपटक पनि प्रधानमन्त्री बन्दै छन् भन्नु नै हो । देउवाको मौनताभित्र सत्तालिप्साको फोहोरी खेल मात्रै खेलिरहेको देखिन्छ । उनी आफूमा अन्तिम सास रहुन्जेलसम्म प्रधानमन्त्री बन्न चाहन्छन् । आज देउवाले नेपाली काङ्ग्रेसलाई विचारविहीन बनाउँदै चरम गुटबन्दीमा परिणत गराई भाउजू र देवरको पार्टी बनाए भन्ने धेरैको आरोप छ । आज नेपाली काङ्ग्रेस विचार, सिद्धान्त र संगठनमा कमजोर भएकै कारण प्रचण्डपथ हुँदै ‘बा’वादको सिकार भइरहेको पनि देखिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अक्षमता, अहंकार र स्वेच्छाचारीका कारण देशले प्रगतिको खुड्किला प्राप्त गर्न सकेन । उनले आफ्नो कार्यकालमा देशको विकासभन्दा पनि बकम्फुसे गफ र उखान टुक्कामै समय बर्बाद गरे । जनतालाई केवल समृद्धिको सपना मात्रै बाँडे । संविधानको उल्लंघन गर्दै संसद् नै विघटन गरेर देशलाई शून्यतामा धकेल्नेसम्मको प्रयास गरे । उनका समृद्धि भनेका ‘भ्युज’विनाका भ्युटावर, बजेटविनाका शिलान्यास, पूर्ण नभएका पूर्वाधारमा पटकपटक उद्घाटन र डोजरे विकास भन्ने मात्र रहे । उनका भाषण र टुक्कामा त पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, घरघरमा ग्यास पाइप, पानीजहाज लगायत खपत गर्न सक्ने सबै कुरा खपत गरे तर चारपटक प्रधानमन्त्री हुँदा समेत जनताले ओली आएपछि यो कुरा पाइयो भनेर भन्नलायक केही पाउन सकेनन् ।
सत्ताको दाउपेचको खेलमा अहिले पुनः कुर्सीमा पुग्न सफल भएका ओलीका दिन गन्तीहरू प्रचण्डले गनिरहेका छन् । प्रचण्ड भन्दै छन्, यो अप्राकृतिक गठबन्धन ‘ढल्यो ढल्यो । ओली भने ‘ढल्दैन ढल्दैन’ भन्दै सशंकित र त्रसित हुँदै पदासीन छन् । ओलीको अहिलेसम्मको चौथो कार्यकालको समृद्धि भनेको बकम्फुसे उखान–टुक्के गफ मात्रै रहेभन्दा उनलाई आरोप र लाञ्छना लगाएको हुँदैन । यो कार्यकाल पनि केपी ओली चौथोपटक प्रधानमन्त्री भएको रेकर्ड मात्र हुनेछ, देश र जनताले केही पाउन सक्दैनन् भन्ने उनका अहिलेसम्मका क्रियाकलापबाट सहजै अनुमान गर्न सकिन्छ ।
देउवाले नेपाली काङ्ग्रेसलाई विचारविहीन बनाउँदै चरम गुटबन्दीमा परिणत गराई भाउजू र देवरको पार्टी बनाए भन्ने धेरैको आरोप छ । आज नेपाली काङ्ग्रेस विचार, सिद्धान्त र संगठनमा कमजोर भएकै कारण प्रचण्डपथ हुँदै ‘बा’वादको सिकार भइरहेको पनि देखिन्छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि नेपाली राजनीतिका एक मुख्य खेलाडी हुन् । नेपालमा दशवर्षे सशस्त्र युद्धको परिणामबाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्ने प्रचण्ड तीनपटकसम्म नेपालका प्रधानमन्त्री बने । २०६४ को निर्वाचनमा सबैभन्दा ठुुलो दल बनेको माओवादी आफ्नै कारणले खुम्चिँदै खुम्चिँदै अहिले संसदमा ३२ सिटमा पुगेको छ । प्रचण्डले पनि ओलीले जस्तै नेपाली जनतालाई धेरै सपनाका चाङ मात्रै बाँडे । उनकै नेतृत्वमा गरिएको सशस्त्र युद्धमा १७ हजार नेपाली सहादत भएका थिए भने हजारौँ अपाङ्ग भएका थिए, तर माओवादीले पटकपटक सरकारमा रहँदा समेत ती सहादत प्राप्त गरेकाको सपना र अपाङ्गको रोदन बुझ्न सकेन । प्रचण्डले केवल विद्रोहीको ध्वाँस देखाउँदै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कहीँ न कतैबाट सरकारमा गाँसिरहने मौका पाए । राज्य सत्ताको चास्नीमा डुबुल्की मारिरहे ।
प्रचण्डले सरकारमा रहँदा यसो कहिलेकाहीँ भ्रष्टाचार काण्डका फाइल खोलेझैँ गर्ने अनि मिडियामा आएर ठुलो स्वरमा ‘यो त ट्रेलर हो पूर्ण सिनेमा आउन बाँकी नै छ, अब छिटै हेर्नुहुन्छ’ मात्रै भन्ने तर कहिल्यै भ्रष्टाचारका काण्डका फाइल खोलेर देखाउने हिम्मत गर्न सकेनन् । उनका तीन कार्यकालको सिनेमा पनि राज्यसत्ता दुरुपयोग गरी नेता र कार्यकर्ता पाल्ने र पोस्ने खेल मात्रै देखियो । प्रचण्डको क्षमता वा खुबी भनेको संसदीय गणितमा कमजोर हुँदै जाँदा पनि सत्ता प्राप्तिको खेलको गणितमा भने बलियो हुनु नै मात्र देखियो ।
नेपालका प्रधानमन्त्रीको रूपमा नाम लेखिएका देउवा, ओली र प्रचण्डका बारेमा उनीहरूको कार्यकाल र परिणतिलाई सर्सती केलाउँदा यो काम त गरेँ है भन्ने केही पनि देखिँदैन । यद्यपि यिनीहरूको लोकतान्त्रिक आन्दोलन र व्यवस्था परिवर्तन गर्न भने योगदान रहेकै देखिन्छ । यिनीहरू राज्यको नेतृत्वमा रहँदा देशमा आम जनताको अवस्थामा तात्त्विक परिवर्तन हुनै सकेन । देशमा परिवर्तन हुन नसक्नुका प्रमुख कारक र बाधक भनेका देउवा, ओली र प्रचण्ड नै रहे । देशमा जनताको अवस्थामा परिवर्तन ल्याउन यिनीहरूमा कुनै किसिमको योग्यता, क्षमता र दक्षता नै देखिएन । यिनीहरू भ्रमको खेती गर्न भने अत्यन्तै सिपालु देखिए ।
राजनीतिक दलको नाममा देउवा, ओली र प्रचण्ड भिन्नभिन्न पार्टीकै नेता भनिए पनि विचार र प्रवृत्ति हेर्दा यिनमा एउटै अनुहार देखिन्छ भन्नलाई गाह्रो मान्नुपर्दैन । यिनीहरूको विचार, शैली र प्रवृत्तिमा केही फरक छैन । कुन दिन कोसँग ‘लिभिङ टुगेदर’ र ‘ब्रेकअप’ हुन्छ पत्तो नै हुँदैन । त्यसैले यिनीहरूले आज नेपाली जनतामाझ कुनै किसिमको सम्मान पाउन सकेका छैनन् । राजनीतिका फोहोरी खेलाडीका रूपमा परिचित हुन पुगेका छन् । जबसम्म यी फोहोरी खेलाडीको नेतृत्व र यिनका प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म नेपाल देशले समृद्धिको कोल्टो फेर्न सक्दैन ।
(भर्जिनिया, अमेरिका)