सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
स्वास्थ्य विज्ञका कुरा

नसर्ने रोग नियन्त्रणमा व्यक्ति, समाज र सरकारको भूमिका

आइतबार, ११ फागुन २०८१, ११ : ५६
आइतबार, ११ फागुन २०८१

भनिन्छ, हाम्रो स्वास्थ्य हाम्रो आफ्नै हातमा हुन्छ । कुनै व्यक्तिलाई मधुमेह, उच्च रक्तचाप, मुटु रोग वा अन्य नसर्ने रोग लाग्यो भने पहिलो दोषी ऊ आफैँ हुन्छ । खानपान राम्रो गरेन, व्यायाम गरेन, तनावलाई व्यवस्थापन गर्न सकेन र त यी रोग लाग्यो— यस्तै तर्क दिइन्छ । यो तर्क पूर्ण सही होइन । समाज र सरकारको पनि यसमा कुनै न कुनै भूमिका हुन्छ । 

नसर्ने रोगहरूको बढ्दो प्रकोप व्यक्तिगत मात्र नभई सामाजिक, आर्थिक र संरचनागत कारणहरूसँग गहिरोसँग गाँसिएको छ । व्यक्तिगत, सामाजिक र सरकारी तहले नसर्ने रोग नियन्त्रणमा के कस्ता उपाय अपनाउन सक्छन् ? यो लेख त्यसैमा केन्द्रित छ । 

व्यक्तिगत रूपमा के हामी सचेत छौँ ?

‘तपाईं आफ्नो स्वास्थ्यका लागि आफैँ जिम्मेवार हुनुहुन्छ ।’ यो भनाइ सत्य हो, तर अपूर्ण पनि । हामी सबैलाई थाहा छ कि स्वस्थ खाना खानुपर्छ, नियमित व्यायाम गर्नुपर्छ, धुम्रपान र मादक पदार्थ सेवन त्याग्नुपर्छ, पर्याप्त निद्रा लिनुपर्छ, तर प्रश्न उठ्छ— यी कुरा गर्न कति सहज छ ? 

पहिले कुरा गरौँ, सस्तो अस्वस्थ खानाको । फास्ट फुड, प्याकेट बन्द चाउचाउ, चिप्स जस्ता ‘जङ्क–फुड’ (पत्रु खाना) सस्तो र सजिलै उपलब्ध छन् तर ताजा तरकारी र फलफूल किन महँगो छ ? समाज र राज्यले यस प्रश्नमा ध्यान आवश्यक छ । 

फास्ट फुड, प्याकेट बन्द चाउचाउ, चिप्स जस्ता ‘जङ्क–फुड’ (पत्रु खाना) सस्तो र सजिलै उपलब्ध छन् तर ताजा तरकारी र फलफूल किन महँगो छ ? समाज र राज्यले यस प्रश्नमा ध्यान आवश्यक छ । 

तनाव र मानसिक स्वास्थ्यको कुरा छ । कार्यस्थलको दबाब, बेरोजगारी, पारिवारिक तनाव— यी सबैले मानसिक स्वास्थ्य बिगार्छन्, जसले अप्रत्यक्ष रूपमा नसर्ने रोग निम्त्याउँछन् । 

यसरी हेर्दा व्यक्तिगत स्वस्थ बानी बसाल्न चाहेर पनि हामीलाई हाम्रो वातावरणले साथ दिइरहेको छैन ।

अर्कोतिर प्रश्न यो पनि छ, हाम्रो समाजले स्वस्थ जीवनशैलीलाई समर्थन गर्छ कि भत्काउँछ ? केही उदाहरण हेरौँ, जसले हामीलाई स्वस्थ रहन बाधा पुर्‍याइरहेका छन् । 
सहरमा पैदल हिँड्ने ठाउँ नै छैन । ट्राफिक जाम, सवारी–साधनको धुँवा, अपर्याप्त फुटपाथ आदि समस्या छन् ।

विद्यालयहरूमा स्वस्थ खानाको अभाव छ । बच्चाहरूलाई पौष्टिक खाना खुवाउने संस्कार छैन, स्कुल क्यान्टिनमा जङ्क–फुड मात्र पाइन्छन् ।

कार्यस्थल संस्कार पनि स्वस्थकर छैन । कम्पनीहरूले कर्मचारीलाई लामो समय कम्प्युटर अगाडि बस्न बाध्य पार्छन् । नियमित ब्रेक, योग वा फिटनेसको सुविधा छैन ।
हामीले मनोरञ्जनलाई त्यति महत्त्व दिँदैनौँ । बालबालिकाका लागि खेल्ने मैदान छैनन् । पार्कहरू व्यक्तिगत सम्पत्तिमा परिणत भइरहेका छन् ।

  • नसर्ने रोग नियन्त्रणका उपाय 

कार्यस्थल स्वास्थ्य सुधार : कम्पनीहरूले कर्मचारीको स्वास्थ्यको ख्याल गर्नुपर्छ । जस्तै : ब्रेक दिने, योग वा व्यायामको समय सुनिश्चित गर्ने ।

विद्यालय तहमा सुधार : पौष्टिक खानाको नीति अनिवार्य गरिनुपर्छ, खेलकुदको उचित प्रवद्र्धन हुनुपर्छ ।

स्वस्थ समाज निर्माण : पैदल हिँड्न सजिलो बनाउने, साइकल लेन बनाउनुपर्ने, पार्कहरू जोगाउनुपर्ने ।

समाज नै अस्वस्थ छ भने त्यस समाजका मानिसहरू स्वस्थ हुन सम्भव छैन ।

  • सरकारको भूमिका र कमजोरी

सरकारले नसर्ने रोग नियन्त्रणका लागि के गर्दै छ ? नीति कागजमै सीमित छन् कि व्यवहारमा लागू छन् ?

स्वस्थ खानाको पहुँच छैन : ताजा फलफूल महँगो, तर जङ्क–फुड सस्तो छ । प्रश्न उठ्छ— सरकारले पोषणयुक्त खाना सस्तो बनाउन पहल गरेको छ ?

खेलकुद पूर्वाधार अभाव : पार्कहरू मासिँदै छन्, सार्वजनिक खेल मैदान घट्दै छन् — सरकारले यस्ता संरचना जोगाउन के गरिरहेको छ ?

स्वास्थ्य परीक्षणको पहुँच सीमित : मध्यम वा निम्न वर्गीय जनताले नियमित स्वास्थ्य परीक्षण गराउन सक्छन् ? अस्पतालमा लामो लाइन, खर्चिलो परीक्षणले धेरैलाई निरुत्साहित बनाउँछ ।

  • सरकारले के गर्नुपर्छ ?

स्वस्थकर खानालाई सस्तो बनाउने : फलफूल र तरकारीलाई सब्सिडी दिने, जङ्क–फुडमा उच्च कर लगाउने ।

स्वास्थ्य परीक्षणलाई निःशुल्क वा सुलभ बनाउने : सरकारले प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मधुमेह, उच्च रक्तचाप परीक्षण सहज बनाउनुपर्छ ।

सहर योजना सुधार : स्वस्थ वातावरण बनाउन सार्वजनिक पार्क, साइकल लेन, पैदलयात्रीमैत्री संरचनाहरू विकास गर्नुपर्छ ।

जनचेतना अभियान : सरकारको ध्यान केवल उपचारतर्फ नभई रोकथाममा पनि जानुपर्छ । 

सरकारले यदि स्वास्थ्यलाई प्राथमिकता नदिएमा नसर्ने रोगहरू महामारीकै रूपमा फैलनेछन् ।

  • निष्कर्ष 

सबै स्वस्थ रहनका लागि कसैले कसैलाई दोष थोपर्ने मात्र होइन, सबैले समाधान खोज्ने बेला आएको छ ।  

नसर्ने रोग नियन्त्रण केवल व्यक्तिको जिम्मेवारी होइन । यो समाज, सरकार र सम्पूर्ण प्रणालीको उत्तरदायित्व हो । व्यक्तिगत रूपमा हामी सचेत हुनुपर्छ, स्वस्थ बानी बसाल्नुपर्छ ।

सामुदायिक रूपमा स्वस्थ वातावरण सिर्जना गर्नुपर्छ । सामाजिक चेतना बढाउनुपर्छ । सरकारी रूपमा प्रभावकारी नीति बनाएर व्यवहारमा लागू गर्नुपर्छ ।
अब प्रश्न तपाईंको अगाडि छ —

तपाईंको विचारमा नसर्ने रोग नियन्त्रणका लागि नेपालमा के गर्नुपर्छ ?

स्वस्थ जीवनशैली अपनाउन सरकार, समाज र व्यक्तिको कस्तो साझेदारी आवश्यक छ ? यो राम्रै चिन्तनको विषयमा हो । अल्छी मान्नुहुन्न र समय निकाल्न सक्नुहुन्छ भने जवाफ तल कमेन्टमा दिनुहोला । 

(सामुदायिक चिकित्सा विभाग, विराट मेडिकल कलेज ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. पार्थ गुरागाईं
डा. पार्थ गुरागाईं
लेखकबाट थप