भारत र पाकिस्तानबिचका पाँच रोमाञ्चक म्याच

काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भारत र पाकिस्तानबिच एक दिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबिच हुने खेल जहिले पनि निकै रोमाञ्चक मानिन्छ ।
सन् २००३ को विश्वकपमा पाकिस्तानसँगको म्याचबारे भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरले भनेका थिए, ‘म्याच अघि पूरा रात म सुत्न सकिनँ । यसले पनि हामी कति दबाबमा थियौँ भन्ने प्रस्ट हुन्छ । सायद म यसरी नै म्याचको तयारी गरिरहेको थिएँ ।’
यो म्याच भारतले सजिलै जितेको थियो । सो म्याचमा तेन्दुलकरले ९८ रन बनाएका थिए । यद्यपि उनले दिएको उल्लिखित अभिव्यक्तिले भारत–पाकिस्तान म्याच अघि खेलाडीमा कति दबाब हुन्छ भन्ने महसुस प्रशंसकहरूलाई गराएको थियो ।
पाकिस्तानका पूर्वबलर शोएब अख्तरले सन् २००६ मा कराँचीमा भएको टेस्ट म्याचको अनुभूति सन् २०२२ मा मिडियामार्फत सार्वजनिक गरेका थिए । उनले सचिन तेन्दुलकरलाई बलले हिर्काएर घाइते बनाउने सोचमा समेत आफू त्यतिबेला पुगेको चर्चा गरेका थिए ।
भारत र पाकिस्तानबिच क्रिकेट म्याचको रोमाञ्च निकै हुने गर्दछ । प्रशंसकहरू पनि उस्तै उत्साहित हुँदै सहभागी हुने गर्दछन् । जित्ने टिमका समर्थकले पटाका पड्काएर खुसी मनाउँछन् भने हार्ने टिमका समर्थकले घरमा टेलिभिजन फुटाएका घटना पनि प्रकाशमा आएका छन् ।
१. कराँचीमा सन् २००४ मा भएको एकदिवसीय क्रिकेट
सन् २००४ मा करिब २५ वर्षपछि भारतीय टिम पाकिस्तानमा पूरा सिरिज खेल्न गएको थियो । त्यसैले दर्शकमा निकै उत्साह थियो ।
उक्त म्याच हेर्नका लागि भारतीय कलाकार, खेलाडीहरू समेत पाकिस्तान पुगेका थिए । दर्शकहरूले निकै हुटिङ गरेका थिए ।
भारतले पहिला ब्याटिङ गरेर ३४९ रन बनाएको थियो, जसमा वीरेन्द्र सहवागले ७९ र राहुल द्रविडले ९९ रन बनाएका थिए । जवाफी ब्याटिङका क्रममा पाकिस्तानले ३४ रन बनाउँदा आफ्ना दुई प्रारम्भिक ब्याट्सम्यान गुमाएको थियो । तर इन्जमाम उल हकको शतकले म्याचमा पाकिस्तानलाई कायम राखेको थियो ।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ९ रन आवश्यक थियो । तर भारतीय बलर आशिष नेहराले ओभरको पाँचौँ बलसम्म जम्मा ३ रन खर्चिए । अन्तिम बलमा मोइन खानले छक्का प्रहार गर्न खोजे । तर बाउन्ड्रीमा भारतीय बलर जहिर खानले क्याच लिए । भारतले यो म्याच ५ रनले जित्यो ।
२. शारजाहमा सन् १९८६ मा भएको एक दिवसीय क्रिकेट
अन्तिम बलमा छक्का प्रहार गरेर म्याच जिताउन सकिन्छ भन्ने उदाहरण जावेद मियाँदादले त्यसअघि शारजाहमा प्रस्तुत गरिसकेका थिए ।
अस्ट्रेलिया कपको फाइनलमा भारतले पहिला ब्याटिङ गर्दै ५० ओभरमा २४५ रन बनाएको थियो । त्यतिबेला सुनिल गावस्करले सर्वाधिक ९२ रन बनाएका थिए भने श्रीकान्त र वेंगसरकरले अर्धशतक बनाएका थिए ।
जवाफमा ब्याटिङ गरेको पाकिस्तानको विकेट एकातिरबाट लगातार पतन भइरहेको थियो तर अर्कोतिर जावेद मियाँदादले जमेर ब्याटिङ गरिरहेका थिए । म्याचको अन्तिम बलमा पाकिस्तानलाई जितका लागि ४ रन आवश्यक थियो । म्याचमा तीन विकेट लिइसकेका भारतीय बलर चेतन शर्माले अन्तिम ओभर बलिङ गर्दै थिए । उनले अन्तिम बल योर्कर बनाउन चाहेका थिए तर फूलटसमा परिणत भयो । मियाँदादले उक्त बललाई मिडविकेटमा छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए ।
३. सन् १९९८ मा भएको ढाका एक दिवसीय क्रिकेट
इन्डिपेन्डेन्स कपको तेस्रो र निर्णायक म्याचमा एक पटक फेरि भारत र पाकिस्तान आमनेसामने थिए । ४८ ओभरमा सीमित गरिएको उक्त म्याचमा सइद अनवरले १४० र इजाज अहमदले ११७ रन बनाउँदा पाकिस्तानको अवस्था निकै बलियो बनेको थियो । पाकिस्तानले निर्धारित ओभरमा ३१४ रनको विशाल स्कोर बनायो ।
जवाफी ब्याटिङमा सौरभ गांगुली र सचिन तेन्दुलकरले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे । तेन्दुलकर बाहिरिएपछि दोस्रो विकेटका रूपमा रोबिन सिंह मैदानमा आए । गांगुलीले रोबिन सिंहसँग १७९ रनको साझेदारी गरे ।
गांगुली ४३ औँ ओभरमा १२४ रन बनाएर बाहिरिए । त्यतिबेला भारतलाई जितका लागि ५ ओभरमा ४० रन आवश्यक थियो । अन्तिम ओभरसम्म धकेलिएको म्याचमा कानितकरले चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।
४. डर्बनमा सन् २००७ मा आयोजित टी–२०
सन् २००७ मा आयोजित पहिलो टी–२० म्याच अन्तर्गत डर्बनमा भारत र पाकिस्तान आमनेसामने थिए । भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । पाकिस्तानका लागि यो चुनौती पार गर्न त्यति कठिन देखिएको थिएन । तर भारतको अनुशासित बलिङका कारण पाकिस्तान पनि १४१ रनमै सीमित भयो ।
त्यतिबेला स्कोर बराबर भएको अवस्थामा ‘बल आउट’ बाट नतिजा निकाल्ने नियम थियो । यसमा दुवै टिमका तीन–तीन बलरले आफ्नो एक्सनबाट स्टम्पलाई निशाना बनाउनु पर्ने हुन्थ्यो । स्टम्पमा बढी निशाना लगाउने टिम विजयी हुन्थ्यो ।
भारतका तर्फबाट वीरेन्द्र सहवाग, हरभजन सिंह र रोबिन उथप्पाले ‘बल आउट’मा हिस्सा लिएका थिए । यी तीनै जनाले स्टम्पलाई सटिक निशाना लगाए । जबकि, पाकिस्तानका तर्फबाट यासिर अराफात, उमर गुल र शाहिद अफरीदीमध्ये कसैले पनि स्टम्पलाई ‘हिट’ गर्न सकेनन् । यस प्रकार उक्त म्याचमा भारत विजयी भयो ।
५. सन् २००५ मा विशाखापट्टनम एकदिवसीय
सन् २००५ मा पाकिस्तान क्रिकेट टिम भारतमा आएको थियो । एक दिवसीय क्रिकेट शृङ्खलाको दोस्रो म्याच विशाखापट्टनममा आयोजना भएको थियो ।
पहिला ब्याटिङ गरेर भारतले निर्धारित ५० ओभरमा ३५६ रन बनाएको थियो । उक्त म्याचमा भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै १२३ बलमा १४८ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २९८ रनमात्र बनाउन सक्यो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र
-
बागमतीको सर्वदलीय बैठक सर्यो, मङ्गलवार बिहान ८ बजे बस्ने
-
बर्डफ्लू र अफ्रिकन स्वाइन फिभरबाट जोगिन सतर्कता अपनाउन आग्रह