फाइनलमा पुगिसकेका नेपाल र म्यानमारबिच रोमाञ्चक भिडन्त आज

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ मा आइतबार प्रारम्भिक चरणको दुई खेल खेलिँदै छ । दशरथ रंगशालामा खेलिने पहिलो खेलमा किर्गिस्तानले लेबननको सामना गर्नेछ ।
किर्गिस्तान र लेबननबिचको खेल नेपाली समय अनुसार, दिउँसो १४ः०० बजे सुरु हुनेछ । अघिल्ला दुबै खेलमा पराजित भएपछि यी दुबै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
आइतबारको दोस्रो खेल आयोजक नेपाल र म्यानमारबिच खेलिने छ । नेपाल र म्यानमारबिचको खेल साँझ १८ः०० बजे सुरु हनेछ । नेपाल र म्यानमार यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेका छन् ।
त्यसैले, यी दुई टोलीबिच आइतबार खेलिने खेलले प्रारम्भिक चरणको विजेताको टुंगो लगाउने छ । यी दुबै टोली आफूले खेलेका अघिल्ला दुबै खेलमा विजयी भएका थिए । प्रारम्भिक चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने प्रावधान रहेको छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई र दोस्रो खेलमा लेबननलाई समान १–० गोलले हराएको थियो । किर्गिस्तानविरुद्ध विमला चौधरी र लेबननविरुद्ध सावित्रा भण्डारीले निर्णायक गोल गरेका थिए ।
म्यानमारले भने आफ्नो पहिलो खेलमा लेबननलाई ३–१ गोलले र दोस्रो खेलमा किर्गिस्तानलाई ५–० गोलले हराएको थियो । चार राष्ट्र सम्मिलित जारी प्रतियोगितामा म्यानमार सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ । फिफा वरीयतामा पनि म्यानमार सबैभन्दा अगाडि छ ।
फिफाद्वारा सार्वजनिक गरिएको पछिल्लो महिला वरीयतामा म्यानमार ५५औँ स्थानमा आसिन छ । अन्य तीन राष्ट्र भने एक सयभन्दा तलको वरीयतामा छन् । वरीयतामा नेपाल १०३औँ, किर्गिस्तान १२८औँ र लेबनन १३४औँ वरीयतामा रहेका छन् । आफूभन्दा बलियो टोली भए पनि आइतबारको खेलमा घरेलु मैदान र दर्शकको अपार समर्थन नेपालका लागि सकारात्मक पक्षका रुपमा रहने छ ।
एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन भएको हो । प्रतियोगिताको फाइनल खेल फागुन १४ गते साँझ १८ः०० बजे दशरथ रंगशालामा खेलिने छ ।
जारी प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । रक्षापँक्तिमा अमृता जैसी, गिता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
यसैगरी, मध्यपँक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहेका छन् । अग्रपँक्तिमा भने सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा