सुपर सन्डे : भारत र पाकिस्तानबिचको भिडन्त आज

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा आज सुपर सन्डे हो। प्रतियोगिताको सबैभन्दा ठूलो खेल आज भारत र पाकिस्तानबिच दुबईको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलिनेछ।
प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो। यदि पाकिस्तान आज हारेमा टोली नकआउट चरणबाट लगभग बाहिरिनेछ।
सन् २०१७ मा भएको पछिल्लो च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। समूह चरणमा भारतले जितेको थियो भने फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको थियो।
- च्याम्पियन्स ट्रफीमा पाकिस्तानको पल्ला भारी
अहिलेसम्म भारत र पाकिस्तानबिच १३५ एकदिवसीय खेल खेलिएका छन्। पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जित्यो। ५ खेलमा नतिजा आएन।
च्याम्पियन्स ट्रफीमा दुवै टोली ५ पटक आमनेसामने भएका छन्। यसमा पाकिस्तान टोलीले ३ पटक र भारतले २ पटक जितेको छ। यसमा अघिल्लो फाइनल पनि समावेश छ। जसमा पाकिस्तानले जितेको थियो।
भारतका उपकप्तान शुभमन गिलले पछिल्लो खेलमा शतक प्रहार गरेका थिए । उनले १२९ बलमा १०१ रन बनाए।
गिल यस वर्ष एकदिवसीयमा टोलीको सर्वाधिक स्कोरर पनि हुन्। उनले ४ खेलमा ३६० रन बनाएका छन् । श्रेयस अय्यर दोस्रो नम्बरमा छन्। उनले ४ खेलमा १९६ रन बनाएका छन्।
बलिङमा तीव्र गतिका बलर हर्षित राणा शीर्ष स्थानमा छन्। उनले यस वर्ष ४ खेलमा ९ विकेट लिएका छन्। उनले अन्तिम खेलमा ३ विकेट लिएका थिए।
उता पाकिस्तानी टोली खराब लयसँग संघर्ष गरिरहेको छ। प्रतियोगिताको पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो। बाबर आजम र खुशदिल शाहले टोलीका लागि अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस वर्ष टोलीको सर्वाधिक रन बनाउने खेलाडी सलमान अली आगा हुन्। उनले यस वर्ष ४ खेलमा २६१ रन बनाएका छन्। सलमानले पछिल्लो खेलमा ४२ रनको इनिङ्स खेलेका थिए।
यस अवधिमा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी सर्वाधिक विकेट लिने खेलाडी हुन्। शाहिनले ४ खेलमा ६ विकेट लिएका छन्। तर उनले न्युजिल्याण्डविरुद्ध एक विकेट पनि लिन सकेनन्।
- पिच रिपोर्ट र टस
दुबईमा दोस्रो ब्याटिङ गर्ने टोलीको जितको रेकर्ड राम्रो छ । त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने निर्णय गर्न सक्छ। तर, बंगलादेश र भारतबिचको पहिलो खेलमा पिच स्पिनका लागि अनुकूल देखिएको थियो।
दुबईमा भारत अपराजित छ, ७ मध्ये ६ खेल जितेको छ भने एउटा खेल बराबरीमा सकिएको छ। टोलीले यहाँ भएका दुवै खेलमा पाकिस्तानलाई हराएको छ।
यहाँ अहिलेसम्म ५९ एकदिवसीय खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले २२ खेल जितेको छ भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले ३५ खेल जितेको छ।
एक-एक खेल अनिर्णीत र एक बराबरीमा सकिएको छ । यहाँको उच्चतम स्कोर ३५५/५ हो, जुन इङ्ग्ल्याण्डले २०१५ मा पाकिस्तान विरुद्ध बनाएको थियो।
- दुबई मौसम रिपोर्ट
दुबईमा आज घाम लाग्नेछ र मौसम धेरै गर्मी हुनेछ। तापक्रम २२ देखि ३२ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ। साथै, प्रतिघण्टा १५ किलोमिटरको गतिमा हावा चल्नेछ।
दुवै टोलीका सम्भावित प्लेइङ-११
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर) , हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी र हर्षित राणा।
पाकिस्तान: मोहम्मद रिजवान (कप्तान र विकेटकिपर), इमाम उल हक, साउद शकील, बाबर आजम, सलमान आगा, कामरान गुलाम/तैयब ताहिर, खुशदिल शाह, नसीम शाह, शाहीन शाह अफ्रिदी, हरिस रौफ र अबरार अहमद।