आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला

शनिबार, १० फागुन २०८१, २२ : ११
शनिबार, १० फागुन २०८१

लेखनाथ । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने क्रममा संविधान कार्यान्वयनलाई सहज बनाउन सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभाग र नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’  विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनमा अप्ठ्यारो अवस्था आएमा सहमतिका आधारमा संशोधन गरेर बाधा फुकाउनुपर्ने बताए ।

नेता कोइरालाले संविधान जारी भएको नौ वर्ष बितिसकेको र समय अनुकूल संशोधन गर्दै जानुपर्ने धारणा राखे । सङ्घीयता विकेन्द्रीकृत शासन व्यवस्था भएको भन्दै सङ्घीयता लागू भएको नौ वर्ष बितिसक्दा पनि केन्द्रीकृत शासन व्यवस्था हट्न नसकेको भनाइ उनको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसँग सम्बन्धित कानुन बन्न नसक्दा सरकार सञ्चालनमा कठिनाइ आएको बताए । संविधान कार्यान्वयनमा चुनौतीहरू धेरै रहेका बताउँदै सङ्घीयता संविधानमा व्यवस्था गरे पनि प्रभावकारी कार्यान्वयनमा नआउँदा समस्या आएका उनको भनाइ छ । 

‘संविधानद्वारा प्रदेशलाई दिइएका अधिकार छिटो कार्यान्वयनमा जानुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘सबै पार्टीको सहयोग र सहमतिका आधारमा संविधान संशोधन गरी अगाडि बढ्न जरुरी छ ।’

प्रदेशका कानुन लामो समयसम्म बन्न नसक्दा आम जनताले सङ्घीयतामाथि प्रश्न उठाउन थालेका बताउँदै नेपाली जनतालाई सिंहदरबारको अधिकार भन्ने तर कानुन बाधक बनिरहनु भएन उनले भने ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले यही अवस्थामा वर्तमान संविधान चलायमान हुन नसक्ने बताउँदै संविधान संशोधन अत्यावश्यक भएको औँल्याए । सो अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, संविधानविद् राधेश्याम अधिकारी कपिलमणि दाहाल,कृष्णप्रसाद तिमिल्सिना, बिनिता नेपाली, सीताराम केसीलगायतले संविधान संशोधनका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

संविधानविद् राधेश्याम अधिकारी र कपिलमणि दाहालले संविधान संशोधनः आवश्यकता र चुनौती तथा संविधानमा सुधार गर्नुपर्ने बुँदाका बारेमा आधारपत्र प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस पेसागत तथा बुद्धिजीवी विभागका प्रमुख डा.डिला सङ्ग्रौलाले उक्त कार्यक्रमको सभापतित्व गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप