अनुपम स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडाका अनुपम घलानको स्मृतिमा सञ्चालित पहलो संस्करणको अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा १५ नम्बर वडाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १८ लाई सडनडेथमा हराउँदै १५ ले उपाधि जितेको हो । उसले उपाधिसहित नगद एकलाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगिता अन्तर्गत फाइनले खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुङ्गो लगाइएको हो । १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच हेटौँडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर १५ का नविन लो, मिडफिल्डर १८ का साजन लोप्चन, फरवार्ड १५ का आशिष जिम्बा र उत्कृष्ट प्रशिक्षक हेटौँडा १५ का उज्वल वाइबा घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडा १८ का अभिराज थापा मगर भए । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौँडाका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
हेटौँडा–१२ निवासी अनुपम घलानको गत १२ असोजमा सिस्नेरी स्थित वत्सला माविमा रहेको एन्फा एकेडेमीमा रहेका वेला पहिरोमा परी निधन भएको थियो । उनकै स्मृतिमा हेटौँडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी यस वर्षबाट प्रतियोगिता सुरु गरिएको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यबाहक मेयर राजेश बानियाँले प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो