आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
कला

अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला

शनिबार, १० फागुन २०८१, २० : २८
शनिबार, १० फागुन २०८१

८ फ्रेबुअरीमा लाजिम्पाटस्थित ‘तक्पा ग्यालरी’मा आठ युवा महिला कलाकारको सामूहिक कला प्रदर्शनी भयो । अनौपचारिक रूपमा सुरु भएको यो कला प्रदर्शनी ८ मार्चसम्म चल्नेछ । आठ कलाकार हुन्— आनमारी तामाङ, कृपा शाक्य, कृपा तुलाधर, कृशा ताम्राकार, पूजा दुवाल, प्रियङ्का सिंह महर्जन, सोनी राई र सुमित्रा बराल । यस्तै, प्रदर्शनीको क्युरेटर हुन्, प्रतिमा थकाली । 

अलि अचम्मको नाम (आई एम रुटेड बट आई फ्लो)बाट आयोजना भएको यो कला प्रदर्शनी मूलतः आफ्नो संस्कृति, परम्परा अनि घर–परिवार, परिवर्तन हुँदै गइरहेको आफ्नै वरिपरिको स्पेस आदि–इत्यादिमा केन्द्रित देखिन्छ । 

कलाकार भन्छन्, ‘कतै न कतैबाट हामी हाम्रै परम्परामा गाँसिएका छौँ, आबद्ध छौँ । अनि परिचालित पनि छौँ, तापनि आजको आधुनिकताको बहावबाट बगेको पनि छौँ ।’ 

सम्भवतः थोरै अन्योल अनि राम्रो–नराम्रोबाट अनभिज्ञ छन्, यी कलाकारहरू । तापनि यिनीहरु आजको अवस्थालाई वर्णन गरेको, त्यस क्रममा अतीतसँग गाँसिएको र परिवर्तनका लागि जागरुक समेत भएको प्रदर्शित कलाले देखाउँछन् । 

हिजोआजका युवा महिला कलाकार स्वयंमा जागरुक देखिन्छन्, लैङ्गिक विभेदको शास्त्रीय सवालमा अल्झेका देखिँदैनन् । तापनि कहीँ न कहीँ घर–परिवार र समाजमा महिलाको उपस्थिति तथा पहिचानलाई थोरै अर्कै ढंगले भनिरहेका देखिन्छन् । आमा र हजुरआमाले सिङ्गै घर थामिरहेको, जीवन र जीविकोपार्जनलाई जोगाइराखेको आदि प्रसंगलाई उनीहरुले सगौरव उल्लेख गर्छन् । यसरी यस प्रदर्शनीमा राखिएका कलाले ‘जेन्डर इस्यु’लाई अर्को पाटोबाट सम्प्रेषण गरिरहेको देखिन्छ । 

समसामयिकतामा बढी सचेत हुनु आजका यी कलाकारका मौलिक विशेषता हुन् । घरभित्रका संस्कार अनि बाहिर ठाउँ विशेषमा भइरहेको आधुनिकीकरणलाई समग्रमा समेट्नु यी कलाकारको मुख्य ध्येय देखिन्छ । यी कलाकारले शक्तिशाली ‘आइडिया’लाई सिर्जना गरेका छन् । आफ्नै यथार्थ अनुभवलाई क्यानभासमा बिच्छ्याएका छन् । समाजमा सुस्त–सुस्त भइरहेको परिवर्तनले हाम्रो मौलिकतालाई कसरी थाहा नपाएरै कुल्चेको छ ? यस शाश्वत यथार्थतालाई पनि क्यानभासमा टाँस्ने जमर्को गरेका छन् ।

यी आठ कलाकारका कला भिन्दाभिन्दै माध्यमबाट सिर्जित भएका देखिन्छन् । अनि प्रस्तुति पनि सबैको अलग–अलग छ । आनमारीले गोल्ड–लिफ प्रयोग गरी माटोको गहना बनाउँछिन् । कृपा शाक्यले प्लाइउडमा फ्रेबरिक र ‘नेल स्ट्रिङ’को प्रयोग गर्छिन् । कृपा तुलाधरले लोक्ता पेपर प्रयोग गर्छिन् । कृशाले वाटर–कलर पेन्सिल अनि पूजाले तैलरंग, प्रियङ्काले धागो, सोनीले प्रिन्ट मेकिङ अनि सुमित्राले सेरामिकबाट डल बनाउँछिन् । 

यी कलाकारहरू थाहा पाई वा नपाई परिवारको निजी जिन्दगीसँग नजिकबाट गाँसिएको देखिन्छ । आफू यो धर्तीमा आउनुअघि आफ्ना आमाबाबु तथा बाजेबज्यैले भोगेको दिनचर्यालाई कलामा पस्कने कोसिस गरेका छन् । आमा र छोरीहरूबिच रहेको माया–पे्रमको कुरा पनि पस्केका छन् । संस्कार, परम्परा र संस्कृतिको धरातलमा आधारित भई त्यसैमा आधुनिक लेपन लाउन पनि यइ कलाकार क्रियाशील देखिन्छन् । भक्तपुरमा मःम संस्कृति, काठमाडौँको असनको विकास, ललितपुरको मंगलबजारमा परिवर्तन भइरहेका पसल आदिबारे समेत यिनीहरुले आफ्ना कलामार्फत चासो व्यक्त गरेका छन् । यी सबै कलाकारले पपआर्टलाई लिएर कलाको कन्सेप्ट निर्माण गरेका छन् । यो चाँहि समसामयिक कलामा देखापरेको अहिलेको नवीनतम सोच र अभ्यास पनि हो । 

कृशा ताम्राकारका कला 

कृशाको कलाको मूल थिम नै ‘बिटविन कलर एन्ड स्पेस’ हो । कृशाले समय सँगसँगै परिवर्तन भइरहेको अवस्था अनि परिदृश्यलाई आफ्नो क्यानभासमा टिप्न खोजेको देखिन्छ । 

उनका कलालाई अतीत र वर्तमानको तुलनात्मक प्रस्तुति भन्दा पनि हुन्छ । उनका कलामा परम्परा र आधुनिकताको सन्तुलन देखिन्छ । कुनै पनि कोणबाट उनको कलालाई हेर्दा समष्टिमा कलर एन्ड स्पेस नै देखिन्छ । 

krisha

देखिरहेको ठाउँ हिजो र आज किन फरक देखिँदै छ ? यसैमाथि उनले कलागत–उत्खनन गरेकी छन् । एउटै ठाउँलाई रङले कसरी फरक देखाउँछ भन्ने लेखाजोखा गर्न पनि उनका कलाहरू उद्वेलित हुने गर्छन् । कलामा कुनै एउटा ठाउँ आएको छ तर त्यहाँका वस्तुहरूमाथि पर्ने प्रकाशका कारण त्यहाँको वातावरण भिन्नभिन्न समयमा भिन्न देखिन्छ । वस्तुहरू अलग्गै रङमा परिणत समेत हुन्छन् ।  

उनका पाँचवटा साना–ठुला चित्र यस प्रदर्शनीमा समावेश छन् । वाटरकलर पेन्सिलले बनाइएका यी चित्रमा पात्र खासै फरक नदेखिए पनि संयोजन भने नितान्त अलग्ग देखिन्छन् । वस्तुहरू एकापसमा अटेसमटेस भई बस्दा पनि अलग्ग ढंगबाट सङ्गठित भएका देखिन्छन् ।

एउटा चित्रमा पुरानो नेवा वास्तुकलामा बनेको कलात्मक घर छ । जसको सडकतिर फर्किएको कोठा पसलमा परिणत भएको देखिन्छ । मूल घरलाई अडाउन बनेका मोटामोटा खम्बाहरूमै झुन्डाएर किसिम–किसिमका सामान बिक्रीका लागि राखिएका देखिन्छन् । यो सामान्य दोकानजस्तो देखिँदैन । मूलतः कलाकारले यसलाई आफ्नो कल्पना र विचारले अलग्गै ढंगले समायोजन गरेको देखिन्छ । जहाँ राता, नीला, पहेँला आदि लुगाफाटा देखिन्छन् । यस्तै पुराना तामा र पित्तलका भाँडाकुँडा, देवी–देवताका मूर्तिहरू, पूजाका थाली लगायत अनेक वस्तुहरू पनि त्यहाँ देखिन्छन् । आधुनिकता र परम्पराको प्रतिविम्बका रूपमा देखापरेको यो पसल रङकै सन्दर्भमा पनि अलग्ग रूपमा दृष्टिगोचर हुन्छ । अलग–अलग वस्तुको रूप, स्वभाव अनि रङले थुप्रै कुरा भनिरहेको स्पष्ट बोध हुन्छ । यही नै उनको कलाको विशेषता पनि हो । 

krisha 1

अर्को चित्रमा एउटा नेवा कलात्मक झ्याल अनि यसैलाई घेरेर चारैतिर रहेका प्लास्टिकका रंगी–चंगी चप्पल देखिन्छन् । यस्तै, अर्को चित्रमा तारमा रंगीचंगी प्लास्टिकका चप्पल झुन्डिएका देखिन्छन् । एउटा चित्रमा बिचमा झ्याल अनि चारैतिर रंगीन चस्माहरू राखिएका देखिन्छन् । आज बजारमा देखिने यस्तायस्तै वस्तुहरू जहाँ पनि देखिनुको प्रत्याभूति यहाँ प्रकट हुन जान्छ । 

अर्को चित्रमा घरको तल्लो भाग र नेवा काष्ठकलाले भरिएको ढोका देखिन्छ । अनि बिचोबिच डमीमा राखिएका वस्त्र दोकानमा सजाएर राखेको देखिन्छ । डमीमा सजिएर बसेका लुगाहरू स्वभावतः आधुनिक हुन् । यसरी राखिनु पनि आधुनिक अनि वस्त्र स्वयं पनि आधुनिक तर काष्ठकला चाहिँ परम्परागत हुनुले पनि परम्परा र आधुनिकलाई प्रस्तुतिमा ल्याउन सम्भवतः उनको जोड रहन्छ ।  

पूजा दुवालका कला 

पूजाले भक्तपुरको मःमको सपलाई आफ्नो मुख्य विषय बनाएकी छन् । वर्षाैंदेखि मःम खाने ग्राहक झुम्म भएर भिड हुनु आफैँमा स्पेसको विशेषता बन्ने गरेको देखिन्छ । यस्तै वातावरण बन्दै बनाउँदै गर्दा यसले आफ्नो एक अलग्ग वातावरण बनाएको देखिन्छ । यो अनौठो बन्दै गएको परिदृश्य नै उनको कलाको मूल स्रोत बन्न जान्छ । मःम पसलले बनाएको युनिक पहिचानलाई प्रतिविम्बका रूपमा उनको कला बन्न गएको छ । भावनात्मक फिगरेटिभ कलाको रूपमा देखापरेको पूजाका काम, चित्रपटमा देखिँदा आवश्यकीय वस्तुभन्दा अन्यले ठाउँ पाएको देखिँदैन । झ्याल र पर्दा वा साइकल मात्रै वा मःमले भरिएको प्लेट मात्रै चित्रहरू देखिनु यसको ज्वलन्त उदाहरण हो । 

puja 1

उपत्यकाको हरेक कुना–कुनादेखि मूल सडकसम्म छाएको यस्तायस्तै मःम पसलहरू भेलीकै सिङ्गै स्पेसको विशेषता बनेको छ । जहाँ मःम खानेको भिड, एक प्रकारको स्वाद अनि स्वादिलो मानी–मानी खाइरहेको परिदृश्य, आदि–इत्यादि नै भावनात्मक रूपमा उनका कलामा देखापरेका छन् । एउटा चित्रमा नीला पर्दामा पुराना झ्याल देखिन्छ । झ्यालको कुनाबाट भित्र मःम खाइरहेको दृश्य देखिन्छ । हेर्दाखेरी स्वाभाविक यथार्थ अवस्थाको चित्रण जस्तो लागे पनि गहिरो अवधारणाले गर्दा थुप्रै भाव पनि सँगै देखिन्छ । 

puja

अर्को चित्रमा भक्तपुर मःम स्पेसल लेखिएको साइनबोर्ड छ । अर्को चित्रमा नीलो पर्दा रहेको झ्याल र यसैको अगाडि साइकल अडाएको देखिन्छ । साइकलबाहिर राखेरभित्र कोही यहाँ मःम खाँदै होला । यस्तायस्तै अनेक परिदृश्य विभिन्न नामका साथ देखिन्छन् । जस्तै ः ‘द मेसेन्जर’, ‘पोट्रेट अफ एसटर्डे’, ‘अ क्वाइट टेबल’, ए‘मिड्स्ट द वाफट्स अफ स्टिम’, ‘विटनेस अमिड्स्ट द वाल’ आदि ।  

प्रियङ्का सिंह महर्जनका कला 

प्रियङ्काले गजबको थिम समातेकी छिन् । ‘टु अल द ओमन हु केम बिफोर मी’ थिममा उनले ठुलो योगदान गरेका महिलालाई ल्याएकी छन् । आमा र बज्यैहरू जसले घरको काम धन्दा अनि केही पैसा कमाउन सानोतिनो काम गर्दै समग्रमा समाजमा ठुलो योगदान पुर्‍याइरहेको उनको चित्रमा देखिन्छ । ती महिलालाई घर वा समाजले बेवास्ता गरिरहेको अवस्थामाथि चित्रमा आएका छन् । 

झट्ट हेर्दा चहकिला राता, नीला पहेँला रङहरू मात्र देखापर्ने यो कलामा गहिरिएर हेर्दा भने महिलाहरू काम गर्दै गरेको यथार्थ रूप देखिन्छ, जुन थोरै अलौकिक लाग्छ । कलापट बाहिर लत्रेका अनेक धागाका रेशाले महिलाका मिहिनेतलाई सार्वजनिक गरिरहेका देखिन्छन् । धागोहरूले बन्ने स्विटर र मोजाहरूको साटो सिर्जनशील, भावनात्मक कला बन्नु पनि गजबकै देखिन्छ । 

सोनी राईका कला 

धागोले एउटा प्रतीकात्मक विम्बका रूपमा विगत र भविष्यका पुस्तासँग जोड्ने काम गर्छ । तानमा धागोका डल्लालाई खेलाउँदै कपडाहरू तयार हुँदै गरेको सोनी राईले बचपनमै देखेकी हुन् । उनले आफ्नो कलामा तानलाई सम्झने प्रयास गरेकी छन् । आफ्नो सम्झनालाई सोनीले प्रिन्ट मेकिङका माध्यमबाट व्यक्त गरेकी छन् । कामहरू अमूर्तजस्तो देखिँदादेखिँदै पनि यथार्थपरक नै छन् । 

उनी भन्छिन् — आधारभूत कुराहरू, खाना लुगा र छत आफैँमा जीवनको सुन्दर पक्ष रहेछ । जुन हामी सजिलै भुल्छौँ । तर हाम्रा पुर्खाहरूले धागोलाई अवधारणगत रूपमा अँगाल्दै जीवनसँग जोडेका रहेछन् । जीवनयापनका लागि सीप र सिर्जना कसरी प्रयोग गर्दै जीवन धान्ने प्रयोजनलाई निरन्तरता दिएका रहेछन् । त्यसैलाई सम्झँदै गर्दा यी काम क्यानभासमा ओर्लन पुगेका हुन् ।’ 

भोजपुरमा जन्मेकी सोनी यी सब कुरा सम्झने क्रममा पातला र खाइलाग्दा स–साना धागोका रेखालाई जतनसँग क्यानभासमा बुन्छिन् । 

आनमारी तामाङका कला

सांस्कृतिक अनि आध्यात्मिक मूल्य–मान्यता बोकेको रूपमा आनमारीको कला देखापरेको छ । दोकानमा बेच्नलाई सजाएर राखेकाझैँ गरगहना उनका कलामा आएका छन् । कला नै हो तर गरहना हो, यसर्थ पनि यो कला अस्वाभाविक अनि अलिक अलग्ग र ठुलो देखिन्छ । 

आनमारी भन्छिन्– मूलतः यो कलारूपी गहना मात्र सौन्दर्यताका लागि बनेका छैनन् । गरगहना लगाई महिला आफैँमा राम्रो देखिनुमा मात्र सीमित छैन । यसले हाम्रो परम्परा र पहिचानको प्रतीकात्मक विम्बलाई बोकेको छ । टलक्कै भएर यस्ता गरगहना धारण गरेपछि पो हाम्रो पहिचान बन्छ ।’ 

anmari

यसो भनिराख्दा यहाँ दुरुस्तै यस्तै लाउने खालका गहना भने छैनन् । कलाको रूपमा उनले माटोको गहना बनाई यसैमा सुनको जलप लगाई तयार गरेकी छन् । यस प्रकारका कलाहरू निम्न नामका साथ देखापरेका छन्— जन्तर, मारवारी, च्याप्टो सुन, ब्ल्याक पटेर, ब्ल्यु टेम्पो आदि । देखिँदामा यी मूर्तिहरू मिनियचर मूर्तिहरूका रूपमा देखापरेका देखिन्छन् । 

कृपा शाक्यका कला  

न्यानो अँगालो (वाम्र्थ अफ् इम्ब्रेस) सिरिजमा बनेका कृपाका कलामा तीनजना महिलाहरूबिचको मिलन अनि एकअर्काको मन मिलेको सन्दर्भ उठेको छ । तीन महिलाहरू भनेका चाहिँ आमा र दुई छोरीहरू हुन् । यिनीहरुको सोच र विचार थोरै अलग छ तापनि आध्यात्मिक सोच चाहिँ एउटै छ । ‘कमन अन्डरस्ट्याडिङ’ एउटै छ । एकअर्का बिच ‘एक्सेप्टेसन’ छ । मूलतः कला नै यसैको प्रतिफलको रूपमा बनेको छ । एकअर्कामा रहेको सामञ्जस्यतालाई एउटा मूल शक्तिको रूपमा देखाउँदै उनको कला निर्माण भएको देखिन्छ । जेनेरेसन ग्याप हुँदाहुँदै पनि आपस आत्मीयता देखिन्छ । क्राफ्ट कलाजस्तो बनेका उनका कलाहरू कमन ग्रान्ड, सपोर्ट, स्प्रिचुअल अनेक्सन आदि नामबाट बनेका देखिन्छन् । 

कृपा तुलाधरका कला 

काठमाडौँस्थित असन बजार कृपाको मुख्य विषय बनेको छ । सहरलाई आफैँमा एउटा ठुला क्यानभासको परिकल्पना गर्दै उनले अनेकौँ गतिविधिहरूलाई आफ्नो कलामा समेटेकी छन् । अनेकौँ परिवर्तनको साक्षी यसबखत उनको कला बनेको छ । यसरी भविष्यको रेखा कोरिँदै नयाँपनको आभास दिनु उनको कलाको मुख्य विशेषता पनि हो । ‘रिमेमबरेन्स अफ स्याडोज्’ थिम अन्तर्गत यस्तायस्तै अवस्थालाई उनले क्यानभासमा उतारेकी छिन् । 

लोक्ता पेपरमा बनेका उनका कामहरूमा पारदर्शी रूपमा फूलहरू देखिन्छन्, आधुनिक बिल्डिङ देखिन्छ । ‘स्वाच्छपु मार्ग ८२’ आदि अनेक पात्र उनका चित्रपटमा रुमलिएका देखिन्छन् । क्यानभासमा अक्षरहरू छन्, गुजुल्टिएका तारहरू छन् । सम्भवतः यही नै उनले कल्पना र महसुस गरेको असनको सग्लो तस्बिर हो । 

सुमित्रा बरालका कला

सुमित्राले पारम्परिक शिल्प अनि आधुनिक वास्तुकलालाई आफ्नो कलाको विषय बनाएकी छन् । यसैमा उनी अनेक भाव र इतिहास देख्छिन् । ‘एस्थेटिक्स अफ फेसन’ नामक थिममा उनले बाह्य सौन्दर्य मात्र होइन भित्रको कलात्मता, सांस्कृतिक परम्परा देखाउन खोजेकी छन् । संस्कृति र एस्थेटिक्स बिचको संवाद नै उनको कलामा आएको आभास हुन्छ  । माटोबाट बनेको मूर्ति खेलौना जस्तो भएर अनेक तडक–भडकमा रंगी–विरंगी हुँदै देखापरेको छ, जसले आन्तरिक एस्थेटिक्सलाई खोतल्ने प्रयास गरेको देखिन्छ । 

sumitra

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप