माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
_VoX0V2AqES.jpg)
काठमाडौँ । ललितपुरको जावलाखेलमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमसीसीबारे चर्चा भएको छ । सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे प्रसङ्ग निकाल्दै नेपालले गरेको लगानी र एमसीसी अन्तर्गत आयोजनाहरूको भविष्यबारे चर्चा गरेका हुन् । त्यसक्रममा उनले आफूले पहिला एमसीसीको विरोध गरेकोमा अहिले अमेरिकाले उक्त परियोजना स्थगित गरेबाटै पुष्टि भएको बताए ।
त्यसबाहेक नेता खनालले दशौँ राष्ट्रिय महाअधिवेशनबाट पारित भएको भनिएको राजनीतिक प्रतिवेदनमा रहेका आपत्तिजनक पक्षहरूको बारेमा समेत व्याख्या गरेका छन् । शनिवारको बैठकमा बोल्दै नेता खनालले राजनीतिक प्रतिवेदन त्रुटिपूर्ण भएको दाबी मात्र गरेनन् पुनर्लेखन नै गर्नुपर्ने बताए ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खनालले समाजवादमा बहुलवाद, दलीय प्रतिस्पर्धा, प्रतिपक्ष भन्ने कुरा नहुने जिकिर गरे । ‘यी कुराको वस्तुगत आधार नै हुँदैन । त्यो पुँजीवादमा मात्र हुन्छ’, खनालको भनाइ छ ।
जनवादी केन्द्रीयताबारे जनवाद र केन्द्रीयता बराबरी हुन्छन् भनेर पुष्पलालको हबला प्रतिवेदनमा दिइएको भन्दै खनालले त्यो व्याख्या नै गलत भएको दाबी गरे । ‘यो गलत हो, कुनै पनि वस्तुका दुई विपरीत तत्त्वहरू बराबरी कहिल्यै हुँदैनन्’, खनालको भनाइ छ ।
उनले जबजले मार्क्सवाद सृजनात्मक रुपले विकास गरेको भनेर प्रतिवेदनमा भनिएकोप्रति पनि असहमति जनाए । ‘हामी नेपाली कम्युनिस्टहरू लोकतान्त्रिक मूल मान्यता सहितको राजनीतिक प्रणालीका साथ “मार्क्सवादको सृजनात्मक प्रयोग” गर्ने पक्षमा छौँ । त्यसो भए जबजले के के कुरामा मार्क्सवादका सिद्धान्तहरूलाई विकास गर्यो त !’, खनालको प्रश्न छ ।
नेपाली राजनीतिको विगत ५ वर्षको अनुभवको समीक्षा गर्दै खनालले अमेरिकाले हालै स्थगन गरेको एमसीसीबारे प्रश्न गरे । ‘अब एमसीसीको २० करोड डलर के हुन्छ ?’, खनालको प्रश्न छ । खनाल एमसीसीको विपक्षमा रहे पनि व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने पार्टीको निर्णयलाई स्विकार्न बाध्य भएका थिए ।
त्यस्तै उनले नेपाली काङ्ग्रेससँग संयुक्त सरकारमा साँठगाँठ गरेको ठिक भन्ने, स्थानीय चुनाव र राष्ट्रिय चुनावमा काङ्ग्रेससँग संयुक्त मोर्चा गर्नुपर्छ भन्ने नेतृत्वको निर्णय अहिले गलत साबित भएको टिप्पणी गरे ।
राष्ट्रिय पुँजीको निर्माण गरेर समाजवाद बनाउने पार्टीको प्रतिवेदनमा खनालले असहमति जनाए । ‘क्रान्ति नगरी र वामपन्थी सरकार समेत नबनाई राष्ट्रिय पुँजीको विकास कसरी हुन्छ ? राष्ट्रिय पुँजीको विकास क्रान्ति नगरी हुन्छ भने क्रान्ति गर्न किन पर्यो ?’, खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘विद्रोहको मुख्य कारण संसद् विघटन भनिएको छ । संसद् पुनर्स्थापित भएर नियमित हुँदासम्म र प्रतिगमन सच्चिँदा सम्म त विद्रोह भएकै थिएन ।’
उनले लोकतान्त्रिक मूल्यमान्यता सहितको समाजवाद” स्थापना गर्ने कुरामा पनि अध्यक्ष नेपाललाई प्रश्न गरे ।‘यो लोकतान्त्रिक मूल्य मान्यता भनेको के हो ? यो कुन लोकतान्त्रिक मूल्य मान्यता हो, पुँजीवादी ? कि समाजवादी ? बहुदलवाद भनेको पुँजीवादी लोकतान्त्रिक मूल्य मान्यता हो । त्यो सहितको समाजवाद आउन सक्दैन । त्यो पुँजीवाद नै हुन्छ’, खनालले कटाक्ष गर्दै भने, ‘जनतालाई “समाजवाद” का नाउँमा किन ठग्न खोजिँदै छ ?’
उनले संसदीय सङ्घर्षबारे पनि प्रश्न उठाएका छन् । ‘हामी किन संसदमा गएको ? दृष्टिकोण नै प्रस्ट छैन । के अब पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविका मात्र हो हामीले उठाउने कुरा ? आजको एक मात्र विकल्प समाजवाद हो भनेर उठाउनु पर्दैन ?’, खनालको प्रश्न छ ।
नेता खनालले समाजवादी मोर्चा बारे पनि प्रश्न उठाए । ‘यो वाम कार्यगत एकता बाहेक केही होइन । एकभन्दा बढी पार्टीबिच कार्यगत एकताका आधारमा संयुक्त सभा, जुलुस गर्न सकिन्छ । तर अहिले “समाजवादी मोर्चा” भन्ने कुरा एउटा अपरिपक्क व्ययाम बाहेक केही पनि होइन । हाम्रो पार्टी मात्र समाजवादी कार्यक्रम अघि सार्ने पार्टी हो, त्यही पनि महाअधिवेशन भएको ८ महिना हुँदा पनि प्रकाशित भएको छैन’, खनालले व्याख्या गर्दै भने, ‘यो प्रतिवेदनले अघि सारेको कार्यदिशा यथास्थितिवादी कार्यदिशा हो । यस्तो कार्यदिशाबाट नेपालमा समाजवादी क्रान्ति हुँदैन । समाजवादी क्रान्तिलाई यो प्रतिवेदनले मार्गदर्शन गर्न सक्दैन ।’
उनले प्रतिवेदन पुरै पुनर्लेखन गर्नुपर्ने अन्यथा पार्टीमा अराजकता र दिसाहीनता ल्याउने, विवाद सृजना गर्ने र पार्टीको वैचारिक एकतामा आँच ल्याउने चेतावनी दिए । नेता खनालले विधानका केही प्रावधानप्रति समेत चर्को आपत्ति जनाए । ‘यो विधान महाअधिवेशनको भावना अनुरूप नभएको हुनाले यो हाललाई फिर्ता लिनुपर्छ र विधान पुनर्लेखन गर्नुपर्छ । पार्टीको वैधानिक राष्ट्रिय मञ्चबाट पुनर्लेखन विधान पारित गर्नुपर्छ । यो जारी विधानबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन सकिन्न’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी