‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जितेका स्थानीय पालिकालाई ‘रोल मोडेल’ बनाएर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । शनिबार काठमाडौँमा सुरु भएको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी जनप्रतिनिधिहरूको दुई दिने अभिमुखीकरण कार्यक्रममा प्रचण्डले सुझाव दिएका हुन् ।
पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको स्थानीय सरकारलाई समाजवादी उन्मुख बनाउनेसम्बन्धी अवधारणाका आधारमा उनले जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम राख्नुको औचित्यबारे उनले ब्रिफिङ गरेको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले जानकारी दिइन् ।
‘अध्यक्ष प्रचण्डले केन्द्रीय समितिले पारित गरेको समाजवाद उन्मुख स्थानीय तहको स्पिरिडमा अभिमुखीकरण कार्यक्रम राख्नुको औचित्यबारे प्रष्ट पार्नुभयो । समाजवादको मोडेलमा कसरी विकास गर्ने ? उत्पादनको क्षेत्रमा के काम गर्न सक्छौँ ? भन्ने विषयमा उहाँले प्रष्ट पार्नुभयो’, रातोपाटीसँग बोगटीले भनिन्, ‘माओवादीले जितेका पालिकामा रोल मोडेल बनाएर काम गर्न आग्रह गर्नुभयो । अहिलेको व्यवस्थाप्रति पनि जनअसन्तुष्ट वा आक्रोश बढ्दै गएमा अर्को राजनीतिक दुर्घटना हुन्छ । त्यसको फाइदा प्रतिक्रान्तिकारीले लिन सक्छ । जनसहभागी भएर स्थानीय पालिकामा सही ढंगले काम गर्नोस् भनेर भन्नुभयो ।’
प्रचण्डले समुदायसँग मिलेर नै स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा उनले जोड दिएका थिए । अबको विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अगाडि बढ्नुपर्नेमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका जनप्रतिनिधिमध्येबाट ९ जनाले आ–आफ्ना पालिकामा भएका विकास निर्माणका अनुभवबारे रिपोर्टिङ गरेका थिए । पालिका प्रमुखहरूले रिपोर्टिङ गरेपछि विज्ञ सोमत घिमिरेले स्थानीय पालिकाले अबलम्बन गर्नुपर्ने विकास मोडेलबारे विचार राखेको बोगटीले बताइन् ।
उनका अनुसार घिमिरेले विदेशको नक्कल गरेर स्थानीय विकासको मोडल यही हो भनिराखेकोमा चिन्ता व्यक्त गरेका थिए । स्थानीय रुपमा आफ्नै मौलिक मोडललाई विकास गर्न नसक्दा नेपाल पछि परिराखेका धारणा राखेका थिए ।
‘पशुपालन, कृषि उत्पादन सम्बन्धमा हामीले जे अपनाइराखेका छौँ, त्यसकै आधारम अगाडि बढ्नुपर्छ । सबैभन्दा पहिला सम्बन्धित पालिकाले आफ्नो मौलिकता के हो त्यो भुल्न हुँदैन । स्वास्थ्य, शिक्षा लगायत सामाजिक पूर्वाधार बनाउन गाउँका सामाजिक व्यक्तिहरुको जति भूमिका हुन्थ्यो । सरकारले प्रत्यक्ष हस्तक्षेप गर्दा ती सामूहिक रुपमा भएका प्रयास कमजोर हुँदै जाँदा नेपालको मौलिकता हराउँदै गएको छ । कुलो, खानेपानी, सिँचाइ जस्ता पूर्वाधार निर्माणमा स्थानीय सहभागितालाई जोड दिनुपर्छ । हाम्रा आफ्नै मोडल र अनुभवलाई प्रमोट गर्नुपर्छ’, घिमिरेको भनाइ उदृत गर्दै बोगटीले भनिन् ।
यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनकुमार श्रेष्ठले पञ्चायतकालीन अर्थव्यवस्था, कांग्रेसले अगाडि सारेको उदारवाद अर्थतन्त्रमा आधारित विकास मोडेल, एमालेले लिएका सहकारी विकास मोडले कसरी धरासाही भए भन्ने विषयमा प्रष्ट पारेका थिए । माओवादीले सरकारमा हुँदा गरेका पहलकदमी र लिएको नीति नै समाजवादको आधार निर्माणका लागि सही कदम भएको विचार राखेका थिए ।
रिपोर्टिङको क्रममा थुलुङ दुघकोशी गाउँपालिका अध्यक्ष असिम राईले जिल्लाको सदरमुकाममा नै अस्पताल नहुँदा पालिकाले नै चलाएको अस्पतालको मोडेलबाट जनताले सेवा सुविधा पाएको विषयमा चर्चा गरेका थिए । उक्त अस्पतालमा विशेषज्ञ डक्टरसहितको सेवा प्रवाह भइरहेको जानकारी राईले गराएका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भौतिक पूर्वाधारमा आफ्नो पालिकाले गरेको प्रगतिबारे जानकारी गराउनुका साथै महानगरपालिकाको मोडेलमा तहगत सरकारबाट भएको सहयोगले ९ सय किलोमिटर सडक पिच भएको बताएकी थिइन् । उनले आफ्नो पालिकामा सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको जानकारी गराएकी थिइन् ।
आँबु खैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्वास्थ्य र शिक्षा क्षेत्रमा आफ्नो पालिकाले गरेको प्रगति विवरण पेस गरेका थिए । उनले आफ्नो पालिकामा सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालय पढ्न अनिर्वाय गरेको, पालिकाले नै अस्पताल सञ्चालन गरेको, पालिकामा आउने सेवाग्राही तथा जनतालाई स्वकीय सचिव लगायतले अवरोध गर्ने गरेको जन गुनासालाई सम्बोधन गरी भेटमा जनतालाई प्राथमिकता दिएको, सुशासन र सेवा प्रवाहमा गरेको असल अभ्यास सुरु गरिएको चुमानले बताएका थिए ।
यसैगरी रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, बेनिघाट रोराङका अध्यक्ष कृष्ण थपलियाले शिक्षाको क्षेत्रमा भएको प्रगतिलाई उदाहरणका रुपमा प्रस्तुत गरेका थिए । रोराङ गाउँपालिका अध्यक्ष थपलियाले चेपाङ, गरिब र पिछडिएका समुदायका विद्यार्थीलाई पालिकाको विशेष सहयोगमा मूलधारमा ल्याएको, जनताका आयस्तर उकास्न पालिकाले गरेको प्रयास लगायतका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरूले पारदर्शिता, सुशासन, जनता लक्षित कार्यक्रममा जोड दिएर काम गरिरहेको रिपोर्टिङ गरेका थिए । राज्यको स्रोत र साधनमा एउटै वर्गको हालीमुहाली वा पहुँच राख्ने प्रवृत्तिलाई अन्त्य गर्दै आम जनतामा राज्यका सेवासुविधा विस्तार गरी माओवादीले जितेका पालिकामा नमुनाको रुपमा विकास गर्नुपर्छ भन्ने अवधारणाका आधारमा आफूहरुले काम गरिराखेको उनीहरुले जिकिर गरेका थिए ।
कार्यक्रममा माओवादीले जितेका १२३ पालिका प्रमुख÷अध्यक्ष, १३४ उपप्रमुख÷उपाध्यक्ष, पालिका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज र अध्यक्षहरू तथा विज्ञहरु सहभागी भएका थिए । आइतबार विज्ञसहित अन्तक्र्रिया कार्यक्रम गरेर समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी