आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’

शनिबार, १० फागुन २०८१, १७ : ४८
शनिबार, १० फागुन २०८१

काठमाडौं। अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले नेपालले इजी मनी खोजेर पटक–पटक गल्ती गरेको टिप्पणी गरेका छन् । उनले नेपालको फाइनान्सियल इकोनमिक पोलिसी नै इजी मनी खोज्ने प्रवृत्तिको रहेको बताएका हुन् । 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका ३० खर्बभन्दा बढी कर उठ्नुपर्नेमा अहिले लगभग १० खर्बमात्रै उठिरहेको कारण एफएटीएफले शंका गरेको बताए । त्यस्तै डा. न्यौपानेले नेताहरूको सम्पत्ति दिनानुदिन बढ्दै जाँदा त्यसको स्रोत दिन नसकिएको कारण नेपाल ग्रे-लिस्टमा पर्ने बाटोमा गएको बताए । 

रातारात धनी भएका मानिसहरूले कतै हमासलगायतका आतङ्ककारी समूहलाई फन्डिङ त गरेका छैनन् भनेर एफएटीएफले आशंका गरिरहेको पनि उनले बताए । यति धेरै कर उठ्नुपर्ने देशमा नेपालको पैसा कहाँ गयो भन्ने प्रसङ्गमा नेपाल ग्रे-लिस्टमा परेको उनको दाबी छ । 

‘जनता नाङ्गै छन्, भोकै छन् । रोजगारी छैन, उपचार गर्न सक्दैनन् । पैसा कहाँ गयो ? नेपाल आतङ्ककारीहरुलाई फन्डिङ गर्ने सोर्स कन्ट्री त होइन ? भनेर ऊ अनुसन्धान गर्न लाग्यो । नेपालको आयोजनाहरू किन पूरा भएनन् ? पाँच वर्षका लागि भनेको आयोजना किन ३० वर्षसम्म पूरा भएन ? त्यसको उत्तर पनि एफएटीएफले पाएन,’– उनले भने । 

साथै, खर्चको पारदर्शिता, दण्ड सजाय, अप्राकृतिक किसिमले सम्पत्ति आर्जनलगायतका गतिविधिले नेपाल ग्रे–लिस्टमा परेको उनको दाबी छ । अब विदेशी फण्ड र लगानीहरू नेपालमा नआउने उनले बताए । यसका लागि अब एमाले, कांग्रेस र माओवादीले सत्ता छोड्नुपर्ने उनको माग छ । उनले मध्यावधि निर्वाचनमा गएर नयाँ जनमतको सरकार बनाउनु पर्ने उनले बताए । 

‘अब तुरुन्तै मध्यावधि निर्वाचनमा जाऔँ । फ्रेस म्यान्डेट लिऊँ । नत्र भने कांग्रेस, एमाले र माओवादीको बुताबाट यो देश अगाडि बढ्न सक्ने स्थिति मैले देखेको छैन,’– उनले भने । 

त्यस्तै, नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए । अहिले नेपालको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । डा. कार्कीका अनुसार अहिले नेपालमा राजश्वकको स्थिति डामाडोल रहेको, खर्च घटाउन नसकिएको र ठुलो नीतिगत अस्थिरता रहेको, लगानीको वातावरण नरहेको अवस्था छ । 

Dr. Rewat Bahadur Karki

सरकारको गतिविधिकै  कारण नेपाल ग्रे-लिस्टमा परेको उनको दाबी छ । वर्तमान सरकारले पनि कुनै सुधारको काम गर्न नसकेको डा.कार्कीले बताए । उनले अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो बनिरहेको टिप्पणी गरे । ‘अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो पनि भइराखेको छ । कुनै सुधारहरू छैन, आफ्नो मान्छेलाई कारबाही नहुने, अरूलाई कारबाही हुने, ‘रुल अफ ल’ को मतलब नै नहुने, यो सरकार बनेको पनि सात/आठ महिना भइसक्यो, अहिलेसम्म सम्पत्ति सार्वजनिक भएको छैन,’– उनले भने । 

साथै, घरजग्गा कारोबार, क्यासिनो, शेयर बजार र सहकारीमा एफएटीएफले आशंका गरेको उनले बताए । उनले यसमा सरकारले विशेष निगरानीमा पुर्याउनुपर्ने बताए । अहिले एफएटीएफको स्पेसल निगरानीमा नेपाल र लाओस रहेको उनले सुनाए । 

सरकारले ऐन, कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने, घरजग्गा कारोबार बैंकिङ च्यानलमार्फत मात्रै गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, एफएटीएफले तोकेका सबै सूचकहरूको प्रभावकारी कार्यान्वयन गराएर देशलाई दुई वर्षभित्र ग्रे-लिस्टबाट हटाउन सकिने उनको सुझाव छ । उनले अहिलेकै अवस्थामा सुधारको कुनै स्थिति नरहेको बताए । यस्तै अवस्थामा रहे नेपाल अबको २ वर्षभित्र ब्ल्याक लिस्टमा पर्ने उनको चेतावनी छ । 

‘अर्थतन्त्र नाजुक अवस्थामा गइराखेको छ । आन्तरिक ऋण बढेको बढ्यै छ । ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । यस्तो अवस्थाबाट नेपाल गुज्रिराखेको छ ।  यो सुधार हुने भन्दा पनि २ वर्षपछि हामी सजिलै ब्ल्याक लिस्टमा जाने मलाई लागिराखेको छ,’– उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप