आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली

‘राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न सम्भव थिएन’
शनिबार, १० फागुन २०८१, १७ : २२
शनिबार, १० फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताएका हुन् । 

नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनको भनाई थियो । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन । जे होस् मैले आफूले आफ्नै जिन्दगीमा जुन सुरुमा माग गरेको थिएँ, आन्दोलनमा लाग्दा, २०२३ सालदेखि । २०२२ सालबाट आन्दोलनमा लाग्दा मैले त्यो माग गरेको थिएँ । लोकतान्त्रिक गणतन्त्र फेरि आफ्नै जीवनमा ल्याएर छोडियो । अब त्यस्तो ठुलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरु गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ । सुधार कस्तो हुनुपर्छ भने कहाँ थियौँ हामी । अहिले भन्छन् जेलबाट लुखुरलुखुर आएको एउटा कैदी अहिले प्रधानमन्त्री हुने भन्दछन् । तिनीहरूलाई श्रीपेच लगाएका महाराजहरूले रैती पो बनाउनुपर्ने हामीलाई भन्ने लागिरहेको छ ।’

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने बताए । 

उनले भने, ‘अहिले घरको जुन चर्चा गर्दछन् त्यो राधिका शाक्यले बनाएको हो । मेरो बुताले, मेरा हुतीले होइन । त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ । मेरो कमाई दान गरेको होइन, उनकै कमाइ दान गरेको हो । त्यस कारण म जति श्रीमतीसँग खुसी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुसी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप