तीन गजल

(१)
वसन्त फेरि आउनेछ म पर्खिरहेको छु,
कोइलीले गीत गाउनेछ म पर्खिरहेको छु ।
चिसो उजाड यो हिउँद ढल्नेछ छिटै,
स्वप्न–शाखा पलाउनेछ म पर्खिरहेको छु ।
फूलहरूसँगै फुल्नेछन जीवनहरू पनि,
यो जग मगमगाउनेछ म पर्खिरहेको छु ।
चोरेर सुटुक्क सुगन्ध तिम्रो वदनको त,
पवन त्यो लहराउनेछ म पर्खिरहेको छु ।
फिँजाइ केश बैँसका मुकुराउनेछ प्रकृति,
मूल प्रीतको रसाउनेछ म पर्खिरहेको छु ।
वसन्त फेरि आउनेछ म पर्खिरहेको छु,
कोइलीले गीत गाउनेछ म पर्खिरहेकोछु ।
००
(२)
म आउनुअघि दर्पण त्यो टल्काउनु है,
हृदयको द्वारमा प्रीत–दीप जलाउनु है ।
भिडेर काल महाकालसँग फर्कंदै छु प्रिय,
अबेर भए केही दीप त्यो ननिभाउनु है ।
कति छन् कति गुम्सिएका मनभित्र भावना,
नसकिँदै कथा मेरा तिमी ननिदाउनु है ।
सम्झेर देश, आमा र मायालु कति रोए परदेशमा,
म देखाउँला दर्द सारा तिमी आँसु नबगाउनुु है ।
सकिन अनमोल उपहार लिएर आउन,
रित्तो आयो परदेशी भनेर नरिसाउनु है ।
००
(३)
म फूल लिएर आएको छु,
काँडा उतै दिएर आएको छु ।
आफ्नै काँडाहरूको ठुँगाइ छल्दै,
घाउ सारा सिएर आएको छु ।
प्रीतको अमृत बाँड्नु छ यो सहरमा,
कालकूट आफैँ पिएर आएको छु ।
सद्भावले फेरि जोड्नु छ यो सहर,
एक लक्ष्यमा हानिएर आएको छु ।
उमंगका रङ उमार्न मान्छेका अनुहारमा
बरु आफू उजाडिएर आएको छु ।
म फूल लिएर आएको छु,
काँडा उतै दिएर आएको छु ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै