शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
संस्मरण

नेवारपानी : सम्झना बिर्सनाका तरेली– २

शनिबार, १० फागुन २०८१, १७ : ००
शनिबार, १० फागुन २०८१

नेवारपानी र पानी यो शब्द निर्माणमा पनि दुई अलग–अलग शब्दका फ्युजन भएको देखिन्छ । नेवारपानी बस्तीको परिधिभित्र दुई पानीका स्रोतहरू छन् — ठुलो पँधेरा र तल्लो पँधेरा । माथ्लो पँधेरा जसलाई ठुलो पँधेरा पनि भनिन्थ्यो यो नेवारपानीको झन्डै सिरानतिर र तल्लो पँधेरा करिब पुछारतिर पर्छ । पँधेरामा पनि राजनीति र पानीको कूटनीति अनेक शृंखला र ढाँचामा हुने कुरा मैले त्यहाँ यदाकदा महसुस गरेको छु र भित्रभित्र खासखुस सुनेको छु — कहिले खिसिट्युरी गर्नेहरूले तिमीहरू तल्लो याने कि गुह्ये खोलाको पानी खानेहरू !

माथिल्लो र तल्लोको बिचमा अलिकति भेदभावजस्तो पनि थियो — हामी केटाकेटीहरू बिचमा । माथिल्लो पँधेराको पानीको अलि ठुला गह्राहरू छन् । जिम्मल मुखिया, प्रधानपञ्चहरूको घेरो थियो । तल्ला पँधेराको पानी मध्यमस्तरीय बस्तीको जस्तो देखिन्थ्यो । हामी बच्चा हुँदा हामीले पानी पिउनेहरूको स्तरीकरण गरेको महसुस गरेका थियौँ । पानी थाप्ने क्रम, त्यस क्रममा देखिने तुजुक, अनेक भ्रम र भ्रमहरूको सिकार बनेकाहरूको अनेक कहानीलाई नजिकबाट नियाल्ने अवसर त्यही नेवारपानीले दिएको छ ।

यस्तो लाग्छ जीवन भ्रम र तुजुकहरूको तोडबाट उम्कनेहरूले नै बाँच्न जानेका हुँदा रहेछन् । तोड र तुजुक ओरालो लागेसँगै जीवन कहालीलाग्दो निराशा र हेय बन्दोरहेछ । देखिरहेको छु आजकाल भ्रम उघ्रिएपछि मान्छेका सेलाएका तुजुकमा झिङ्गा पनि बस्न नआउने रहेछ । किरा, भुसुना र झिङ्गाहरू पनि भ्रमको उज्यालो ताप्न मन पराउने रहेछन् । जुन सकिएपछि लासलाई जुम्राले छाडेजस्तै ।

म पानीको कुरा गरिरहेको थिएँ । नेवारपानीमा माथिल्लो (ठुलो पँधेरो) र तल्लो पँधेरो दुई खानेपानीका स्रोत छन् । अर्काे सुकौरा खोला पनि छ तर त्यसको पानी पिउन योग्य छैन । फेरि त्यसमा हिउँदमा पानी भेट्न मुस्किल पर्छ । ठाउँ–ठाउँका डोबिल्काहरूमा मात्रै हुन्छन् । भैँसी आहाल खेलाउन र गाईवस्तुलाई पानी खुवाउन मात्रै त्यस खोलाको पानी प्रयोग हुन्थ्यो । नभए सानातिना वर्षे मूल र हिउँदे कुवाहरू प्रशस्त थिए ।

हामी सानो छँदा तल्लो पँधेराकै पानीमा लडिबुडी गरेका थियौँ । हामीले त्यसैको पानी प्रयोग गर्‍यौँ । त्यहाँकै धारामा नुहायौँ र त्यसकै पानीको पोषणले सानो चिण्डे तालु लिएर जन्मिएको म अहिले आधा उमेरबाट उकालो लागिसकेको छ ।

अहिले पनि सानो छँदा नुहाएको, धारो, पानी भर्न जाँदा चिप्लिएर लडेको धारा मुनिको ढुङ्गा स्मृतिमा गढिरहेको छ । केहीपटक माथिल्लो पँधेरोमा जाँदा तल्लो पँधेरो छाडेर किन यहाँ आएको भन्ने हेय प्रश्नको सामना गरेपछि म प्रायः माथिल्लो पँधेरोमा नुहाउन वा अन्य प्रयोजनले जाँदै गइनँ । मन कताकता खिन्न हुन्थ्यो र अनुहार उज्यालिन मान्दै मान्दैनथ्यो । लाग्थ्यो— भगवानले सृष्टि दुईथरी गरेका पो हुन्छन् कि ? भाग्यवान्हरूका लागि एकथरी र भाग्यहीनहरूका लागि अर्काे थरी वन पाखा, बाटो, गल्छेडो, पानी पँधेरो पनि दुईथरी । हुन सक्छ, यो आफ्नै मनको लघुताभास पनि । अथवा हुन सक्छ यो शक्तिवान्हरूको सेपको परिणति । 

माथिल्लो पँधेराको मूलको वरपर निमारोका रुखहरू थिए रे । तिनै निमारोका फेदबाट पलाएको हुनाले त्यस पानीलाई निमारो पानी भनिएको भन्ने केही बुज्रुकको कहावत छ । यो तर्क धेरैले दिने गरेका छन् । कुरै कुरामा एक दिन मेरा एक नेवार मित्रले भन्नुभो, ‘नेवारको पानी समास भएर नेवारपानी बनेको हुन सक्दैन र ?’

आजभोलि मैले सम्झिरहेको छु कि असमयमा आमा गुमाउनु भनेको धेरै थोक गुमाउनु हो । धेरै सौभाग्यबाट ठगिनु हो । आमा प्रत्येक बालबालिकाको मलजल बलको अभूतपूर्व ऊर्जा र उज्यालो हो । त्यही ऊर्जा र उज्यालोको अभावमा सायद मभित्र यस्ता ठुल्ठुला भ्रमका खाडलहरू सिर्जिए होलान् । कतैकतै छड्के आँखाका गलत आरोपहरू खेपिए होलान् । पाइए होलान् अनेक फत्तुर र गलत कलङ्कका प्रसादहरू । ती सबै मानस बिम्बमा ताजै छन् । फुर्सदमा उप्काउनेछु ।

एउटा उखान छ नि ‘बुढो भए बोक्सी र दुःख पाए चोर’ आज स्मृतिले उप्काइरहेको छ कि आफ्नो जिउको स्याहार गर्न नसकेका कमजोर घर गृहस्थहरू जसका छोराछोरी हुर्किएका छैनन्, तिनका सम्पत्तिको लोभले बोक्सी आरोपमा गाउँ खेदाइएका दृष्टान्त र जसलाई होच्याउन, तल पार्नुपरेको छ, उसलाई अनेक बहानामा चोरीको आरोप लगाएर हिरासत पठाउने गरिएको प्रसङ्ग खोज्न अन्त जानैपर्दैनथ्यो । एकजना लठ्ठीधारी प्रहरी गाउँ पसेपछि सन्नाटा सर्वत्र छाउँथ्यो । गाउको हलचल बन्द भएजस्तो हुन्थ्यो ।

  • निमारो पानी कि नेवारको पानी ?

हाम्रा नामकरणका मुद्दाहरू अनौठा छन् । अनेक प्रकृतिबाट नामकरण भइरहेका छन् स्थान विशेषका । हुन त हाम्रा कतिपय थरहरू थल याने कि थातथलोबाटै बनेका छन् जस्तो कि दहगाउँबाट दाहाल, रूपाखेतबाट रूपाखेती लम्सुबाट लम्साल आदि–आदि तर रिजालथोकमा आज एक घर रिजालहरू नभएको देख्दा अनौठो लाग्छ ।

सायद नेवारपानीको नामकरण पनि त्यस्तै भएको छ । मैले सुन्ने गरेको नाम पनि ‘निमारो पानी’बाटै नेवारपानी भएको हो रे ! माथिल्लो पँधेराको मूलको वरपर निमारोका रुखहरू थिए रे । तिनै निमारोका फेदबाट पलाएको हुनाले त्यस पानीलाई निमारो पानी भनिएको भन्ने केही बुज्रुकको कहावत छ । यो तर्क धेरैले दिने गरेका छन् । कुरै कुरामा एक दिन मेरा एक नेवार मित्रले भन्नुभो, ‘नेवारको पानी समास भएर नेवारपानी बनेको हुन सक्दैन र ?’ 

म एकछिन तिलमिलाएँ । हुन त सक्छ नि ! किन नसक्नु तर नेवारको पानी चाहिँ कुन हो ? त्यसबाट नामकरण हुने आधार के हो ? कहाँको मूललाई नेवारको पानी भन्ने गरिएको थियो ?

मैले प्रश्न त गरेँ तर न उनले आधार दिन सके न त मैले होइन नै भन्न सकेँ । हामी बिचमा लामो असमाधानीय सन्दर्भको लामो फाटक मौनता भएर पाजिन सुरु भो । उनी पनि चुप, म पनि चुप ।

पृथ्वीनारायण शाहले त्यही पानी आफूले पनि पिएको र सेनाहरूलाई पनि पिलाएर लगेपछि नुवाकोट कब्जा गर्न सफल भएको किंवदन्ती हजुरआमाले हामीलाई सुनाउनुहुन्थ्यो ।

पुरानो सदरमुकाम । नेवार हटियाहरू पनि वरपर प्रशस्तै थिए । पुराना नेवार बस्ती पनि आसपास छँदै थिए । नेवारहरूले पानी भर्ने तल्लो पँधेराको मूल पनि ठुलो छँदै छ । हुन सक्छ भन्ने ठाउँ त रह्यो पनि ।

यसै मौनताको बिचमा मेरो चिन्तनभित्र केही किस्सा वा ‘हुन सक्छ’को अनुमान पनि पैदा भयो । ऊबेला छुवाछुतको रेखा अलि बाक्लै थियो र तल्लो पँधेराको पानीको उपभोक्ताहरू मान्के कुसुण्डेदेखिका नेवारहरू हुन् र अहिले पनि छन् । सदरमुकाम भएकाले ढाक्रे, अदालती वा अनेक अतिथिहरूको पसारो बाक्लै हुने नै भयो । यसरी बेगिन्ती देखिएका लस्कर आगन्तुकहरूको बासशाला पाटी, पौवा, पँधेरा वा कसैका खाली गोठ–कटेरा नै हुन्थे । त्यतै बास बस्नेहरूको पनि सामाजिक स्तर हुन्थे नै । बास बस्नेहरूको बसाइका लागि तह अनुरूपका बस्ने क्षेत्रहरू हुन्थे । जनजातिका पनि नेवारहरू या त मान्के वा कुसुण्डे वा सुकौरा बजारकै आफन्त वा जातीय सामीप्यता बनाएर बास बस्ने नै भए । मगरहरू नवलपुर, अँधेरी खोला वा डाँडा गाउँको छेउछाउतिर भएका मगर बस्तीमा जिल्ला सदरमुकाम जानेहरू बस्थे । केही उच्च वर्गका पण्डितहरू सदरमुकाम कामको सिलसिलामा सदरमुकाम जाँदा आफ्ना भान्सेलाई भात पकाउने पानी कहाँबाट ल्यायौँ भन्ने प्रश्न गर्दा नेवारको पानी भन्ने उत्तर आएको थियो । यसैलाई आधार बनाएर नेवार पानी नभएको भन्ने ठाउँ छैन । उपयुक्त र भरपर्दाे लिखित आधार नभेटाउँदासम्म हामी निमारो पानीको संयोजनले नेवारपानी भएको किंवा नेवारको पानी समास भएर नेवारपानी बनेको पनि भन्ने ठाउँ रहन्छ । यसलाई दुवै आधार दिन कञ्जुस्याइँ गर्नु आवश्यक छैन ।

प्राचीन समय जतिबेला मानव बस्ती निकै पातलो थियो । चारैतिरबाट घना जङ्गलले घेरिएको हुन्थ्यो । बस्ती सुरक्षाका लागि भाला तर्वार, बर्छा, ढुङ्गा वा अग्निको सहारा लिनुथ्र्याे । त्यस स्थितिमा गाउँको टोले दादा नै राजा बनेका हुन्थे । नेवारपानीको केन्द्रस्थित कर्णेश्वर मन्दिर परिसरमा एक दरबारको अवशेष छ, त्यहाँ सनातनी कोही पक्कै राजा थिए । तिनको आराधना स्थल भैरवी शक्ति पीठ थियो । सङ्कट र शत्रुबाट बच्न उनले त्यहाँस्थित कोटघरमा हतियार राख्ने गर्दथे । त्यतिबेला धेरैपटक शत्रु निवारक युद्ध गरेका हुनाले ती सनातनीले प्रयोग गर्ने पानीलाई ‘निवारक पानी’ भनिएको र त्यसैको अप्रभंश रूप नेवारपानी भएको पनि हुन सक्छ ।

  • नेवारपानी र पृथ्वीनारायण शाह

नेवारपानी क्षेत्र रामशाहले धादिङकोट कब्जा गर्नु अगाडि छुट्टै राज्य थियो । वि.सं. १६०० अगाडि नेवारपानी दरबार थियो, जसको अवशेष अहिले पनि छ । कुम्पुरमा घले राजा थिए । पतेनीमा पनि दरबारको अवशेष भेटिन्छ । हुन सक्छ त्यहाँ पनि कुनै शासनको केन्द्र थियो । उनीहरूले विक्रमको १००० भन्दा निकै अगाडि नै राज्य सुरक्षाका लागि कोट घर बनाएका थिए । त्यही हतियार राखिएको घर भएर नै कोतघर भएको हो, कालान्तरमा त्यसलाई भैरवी कोट अथवा धादिङकोट भनिएको हो । 

यहाँको मुख्य प्रशासनिक अखडा नेवारपानीमा थियो र सामरिक अखडा भैरवीको थुम्कामा थियो । केही सैनिकहरूको टुकडी पनि त्यहाँ नै बस्थे । भैरवीको अग्लो टाकुरोको ठिक तल पहरो रसाएर कुवा जमिरहन्छ र त्यस कुवाको दायाँबायाँ निमारोको झाङ हामीले पनि सानो छँदा देखेका थियौँ । त्यहाँको पानी खाँदा थकाइ मर्छ, ताकत बढ्छ । स्फूर्ति प्राप्त हुन्छ भन्ने जनविश्वास अहिले पनि छ । पृथ्वीनारायण शाहले त्यही पानी आफूले पनि पिएको र सेनाहरूलाई पनि पिलाएर लगेपछि नुवाकोट कब्जा गर्न सफल भएको किंवदन्ती हजुरआमाले हामीलाई सुनाउनुहुन्थ्यो । ‘देवीको पाउको पानी । यसमा ताकत छ । यही पानी पिएर गएपछि गोर्खाली राजाले नुवाकोटको लडाइँ जितेका थिए । पृथ्वीनारायण शाहलाई माता भैरवीले आशीर्वाद दिँदा यहाँको जलपान गरेर गए भलो हुने बताएकी थिइन् तब पो जिते’ हजुरआमाले गाउँ बेसी गर्दा वा पातलमा घाँस लिन जाँदा यी कुरा भन्नुभएको थियो । यस्तो कहावत धेरै बुढापाकाले भन्ने गरेका पनि थिए ।

 क्रमश...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप