शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
बहस

लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका चुनौती

शनिबार, १० फागुन २०८१, १९ : ००
शनिबार, १० फागुन २०८१

मार्क्सवादी साहित्य सिद्धान्तमा लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका विषयमा छलफल हुँदै आएको छ । यस विषयमा समानान्तर साहित्यमा पनि छलफल भएको छ । मार्क्सवादी शिविरमा यस विषयमा हुने गरेजस्तो गम्भीर छलफल भने समानान्तर साहित्यमा भएको पाइँदैन । प्रतिबद्धता र स्वतन्त्रता कला मूल्य र जीवन मूल्यसँग जोडिएका विषय हुन् । दुवै मूल्यहरू एक–अर्कासँग सम्बन्धित छन् । कला मूल्यलाई जीवन मूल्यसँग अलग गर्न सकिन्न । समानान्तर धाराबाट गरिने निरपेक्ष स्वतन्त्रताको व्याख्याले यथार्थको प्रतिनिधित्व गर्दैन । सबै चिन्तक, लेखक एवं स्रष्टाहरू कुनै न कुनै विचारधारा र वर्गसँग कुनै न कुनै रूपमा जोडिन्छन् । कैयौँको प्रतिबद्धता पार्टी प्रतिबद्धतासम्म पुग्छ । स्वतन्त्रताको वास्तविक अर्थ प्रतिबद्धताको सापेक्षतामै खोजिन्छ । नेपालको मार्क्सवादी साहित्यिक आन्दोलनमा पनि प्रतिबद्धता र स्वतन्त्रताका विषयमा गम्भीर बहस भएका छन्, बहसहरू आज पनि हुँदै छन् । 

मार्क्सवादी साहित्य चिन्तनमा प्रतिबद्धता र स्वतन्त्रता गम्भीर बहसको विषय अक्टोबर क्रान्तिपछि बनेको हो । यो बहस मूलतः पार्टी प्रतिबद्धता र स्वतन्त्रतासँग जोडिएको थियो । यसको आधार सन् १९०५ मा लेनिनद्वारा लेखिएको ‘पार्टी सङ्गठन र पार्टी साहित्य’सम्बन्धी आलेख थियो । लेनिन जीवित रहँदासम्म यस विषयमा खासै बहस भएको पाइँदैन । यस आलेखमा लेनिनले साहित्यकारका निम्ति पार्टी प्रतिबद्धता अनिवार्य मानेका छन् र साहित्यले सर्वहारा श्रमजीवी वर्गको मुक्तिका निम्ति कार्य गर्नुपर्छ भनेका छन् । उनले स्वतन्त्रतासम्बन्धी बुर्जुवा दृष्टिकोणको गम्भीर आलोचना गरेका छन् । पार्टी प्रतिबद्धतालाई उच्च महत्त्व दिए पनि उनले लेखकीय स्वतन्त्रतालाई समुचित महत्त्व प्रदान गरेको पाइन्छ । सर्वहारा श्रमजीवी वर्गको पक्षमा कलम चलाउने लेखकहरू उनीहरूको मुक्तिका निम्ति स्थापित र सङ्घर्षरत पार्टीमा प्रतिबद्ध भएर क्रान्तिलाई सघाउन लेखक एवं स्रष्टाहरू हिचकिचाउन हुँदैन भन्ने दृष्टिकोण लेनिनको छ । 

प्रतिबद्धता र स्वतन्त्रताका विषयमा गम्भीर बहस स्टालिनको समयमा सुरु भयो र यसको प्रभाव विश्व कम्युनिस्ट एवं साहित्यिक आन्दोलनमा पर्‍यो । सोभियत सङ्घमा सत्तासँग जोडिएका एकथरी चिन्तक, लेखक र स्रष्टाहरूबाट प्रतिबद्धता र स्वतन्त्रतालाई सङ्कीर्ण एवं यान्त्रिक रूपमा परिभाषित गरियो । पार्टी प्रतिबद्धता र निर्देशनलाई अनिवार्य मानियो । प्रतिबद्धता र स्वतन्त्रतालाई वर्ग र विचारधाराका तहमा राखेर हेर्न छोडियो । पार्टी प्रतिबद्ध नभएर पनि सर्वहारा वर्ग, समाजवाद र सुन्दर मानव समाज निर्माणका पक्षमा लेख्न र कार्य गर्न सकिन्छ भन्ने कुरालाई अस्वीकार गरियो । सोभियत कम्युनिस्ट पार्टीका बुझाइमा पनि कमजोरीहरू रहे । सङ्कीर्ण र यान्त्रिक व्याख्याको अगुवाइ ज्यादोनोभहरूले गरेका थिए । सोभियत समाजवादलाई ध्वस्त गर्ने बाह्य प्रयास एवं समाजवादको रक्षा र निर्माणका समयमा चिन्तक, लेखक एवं स्रष्टाहरूको पार्टी प्रतिबद्धतालाई अनिवार्य मानिनु सामान्यतया अनुपयुक्त नभए पनि प्रतिबद्धता र स्वतन्त्रताको सङ्कीर्ण र यान्त्रिक बुझाइ एवं व्याख्या गलत थियो । 

सामान्यतया स्रष्टाहरू वर्गभन्दा माथि हुँदैनन् र उनीहरूका रचना पनि वर्गभन्दा पर हुँदैनन् भन्ने दृष्टिकोण मार्क्स–एङ्गेल्सको छ । मार्क्सवादले वर्गहरूको उदय भएदेखिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास मान्छ र यसलाई समाज विकासको चालक शक्ति ठान्छ ।

सबैजसो मुलुकका मार्क्सवादी साहित्यिक आन्दोलनमा सोभियत सङ्घको प्रभावका कारण यस विषयमा बहस आरम्भ भयो । कैयौँ कम्युनिस्ट पार्टी र मार्क्सवादी साहित्य चिन्तकहरूको यससम्बन्धी गलत बुझाइका कारण आन्दोलनमा नकारात्मक प्रभाव पर्‍यो । कतिपय कम्युनिस्ट पार्टीबाट यस विषयमा सङ्कीर्ण र यान्त्रिक व्याख्या गरियो । साहित्य सिर्जना यसबाट प्रभावित भयो । स्रष्टाहरू स्रष्टा कम कार्यकर्ता बढी र रचनाहरू रचना कम बढी प्रचार सामग्री भए । यसप्रतिको असन्तुष्टिका कारण कैयौँ मार्क्सवादी स्रष्टाहरू कम्युनिस्ट आन्दोलनबाट मात्र बाहिरिएनन्, मार्क्सवादी साहित्यिक आन्दोलनबाट पनि बाहिरिए । कति यसका विरुद्ध उभिए र अराजक बने । प्रतिबद्धता र स्वतन्त्रताका सङ्कीर्ण र अराजक व्याख्या दुवै गलत थिए । पार्टी प्रतिबद्धताको निरपेक्ष आलोचना जसरी गलत थियो, त्यसरी नै स्वतन्त्रतामाथिको निरपेक्ष जोड पनि गलत थियो । प्रतिबद्धता र स्वतन्त्रतासम्बन्धी गलत बुझाइ एवं व्याख्या आज पनि जीवित छन् र यसबाट लेखन तथा आन्दोलन दुवै प्रभावित छन् । 

मार्क्स–एङ्गेल्सले साहित्यका बारेमा विस्तृत चर्चा गरेका छैनन् । साहित्यसम्बन्धी उनीहरूका अवधारणाले साहित्यकारको पक्षधरता र स्वतन्त्रताका विषयमा प्रकाश पार्दछन् । मार्क्सवादी दर्शन स्वयं पक्षधरताको दर्शन हो । साहित्यसम्बन्धी मार्क्स–एङ्गेल्सका विचारमा पक्षधरता मूलतः वर्ग र विचारधाराका सन्दर्भमा आएको छ । सामान्यतया स्रष्टाहरू वर्गभन्दा माथि हुँदैनन् र उनीहरूका रचना पनि वर्गभन्दा पर हुँदैनन् भन्ने दृष्टिकोण मार्क्स–एङ्गेल्सको छ । मार्क्सवादले वर्गहरूको उदय भएदेखिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास मान्छ र यसलाई समाज विकासको चालक शक्ति ठान्छ । उत्पीडित र उत्पीडक वर्ग बिचको सङ्घर्षलाई वर्गसङ्घर्षका रूपमा अथ्र्याइन्छ । स्रष्टाहरू यस सङ्घर्षमा तटस्थ बस्न सक्दैनन्, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा कतै न कतै उभिन्छन् भन्ने दृष्टिकोण मार्क्सवादले राख्छ । पक्षधरताको प्रश्नलाई यसै आधारमा हेरिएको छ । वर्ग मात्र होइन, यससँग विचारधारा पनि जोडिन्छ । स्रष्टाहरू विचारधारामुक्त हुँदैनन् । विचारधारात्मक रूपमा उनीहरू कुनै न कुनै रूपमा कतै न कतै जोडिएका हुन्छन् । वर्ग र विचारधारा अन्तर्सम्बन्धित छन् । मार्क्स–एङ्गेल्सले स्रष्टा र सिर्जना वर्गीय हितप्रति प्रतिबद्ध हुनुपर्छ भनेका छन् र रचनाको वर्गीय प्रयोजनलाई महत्त्व दिएका छन् । मार्क्सवादले उत्पीडनका सम्पूर्ण रूपहरूबाट मुक्तिलाई केन्द्रमा राखेर रचनामा यथार्थको क्रान्तिकारी कलात्मक पुनः सिर्जना गरिनुपर्छ भन्छ । मार्क्सवादी साहित्य सिद्धान्तले मार्क्सवादका आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध रहेर कलम चलाउनुपर्ने कुरालाई विशेष महत्त्व दिएको छ । यसभित्र वर्ग, विचारधारा र पार्टी प्रतिबद्धता पनि पर्दछन् । पार्टी प्रतिबद्धतालाई वर्गीय र विचारधारात्मक प्रतिबद्धताजस्तो लेखक एवं स्रष्टाहरूका निम्ति अनिवार्य मानिएको छैन । स्रष्टाहरू पार्टी विचारधाराप्रति प्रतिबद्ध रहन सक्छन् तर पार्टीमा नबाँधिन सक्छन् । पार्टी विचारधाराप्रति प्रतिबद्ध नरहेर पनि उनीहरू लेखनमा सक्रिय हुन सक्छन् । विचारधारात्मक प्रतिबद्धताको मूल तात्पर्य मार्क्सवाद र मार्क्सवादी साहित्य सिद्धान्तका आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध रहनु हो । मार्क्सवादले सिर्जनात्मक कर्मलाई प्रतिबद्धतामुक्त कर्मका रूपमा परिभाषित गरेको छैन । मार्क्सवादी साहित्य सिद्धान्त प्रतिबद्धतामुक्त लेखनको विचारलाई सोह्रै आना गलत ठान्छ र यसको वैचारिक प्रतिवाद आवश्यक सम्झन्छ । लेखकीय स्वतन्त्रतालाई मार्क्सवादी साहित्य सिद्धान्तले प्रतिबद्धता विरोधी मान्यताका रूपमा अथ्र्याउँदैन । उसको मान्यतामा लेखकीय स्वतन्त्रता रचना सिर्जना, सिर्जन प्रक्रिया, विषयवस्तुको चयन, शिल्पको प्रयोग, त्यससँग सम्बन्धित अन्य विषय आदिमा स्वतन्त्रता हो । जीवन र जगत्का विविध पक्षलाई कलात्मक अभिव्यक्ति दिन स्रष्टा स्वतन्त्र रहन्छन् र रहन दिनुपर्छ भन्ने व्याख्या मार्क्सवादी साहित्य सिद्धान्तले गर्छ । 

स्रष्टाहरू पार्टी विचारधाराप्रति प्रतिबद्ध रहन सक्छन् तर पार्टीमा नबाँधिन सक्छन् । पार्टी विचारधाराप्रति प्रतिबद्ध नरहेर पनि उनीहरू लेखनमा सक्रिय हुन सक्छन् । विचारधारात्मक प्रतिबद्धताको मूल तात्पर्य मार्क्सवाद र मार्क्सवादी साहित्य सिद्धान्तका आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध रहनु हो ।

वर्गीय एवं उत्पीडनका अन्य रूपहरूबाट मुक्तिका लागि सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षका निम्ति शक्ति चाहिन्छ र शक्ति सङ्गठनबाट प्राप्त हुन्छ । राजनीतिक सङ्गठन र त्यसको अगुवाइमा हुने सङ्घर्षविना मुक्ति सम्भव हुँदैन । यस्तो सङ्गठनसँग स्रष्टाहरू पनि प्रतिबद्ध हुनुपर्छ र आन्दोलनलाई भौतिक एवं सिर्जनात्मक रूपमा सघाउनुपर्छ भन्ने दृृष्टिकोण पार्टी प्रतिबद्धतासम्बन्धी छलफलमा राख्ने गरिएको छ । राजनीतिक सङ्गठन र सङ्घर्षविना मुक्ति सम्भव नरहेकाले यस्तो दृष्टिकोण राखिएको पाइन्छ । यहीँनेर पार्टी प्रतिबद्धता, वर्गीय प्रतिबद्धता र विचारधारात्मक प्रतिबद्धताका बिचमा कुनै खाडल रहन्न भन्ने मान्यता मार्क्सवादी साहित्य चिन्तकहरूले राख्दछन् । मार्क्सवादी साहित्य चिन्तकहरूमा वर्गीय र विचारधारात्मक प्रतिबद्धताका विषयमा खासै मतभेद पाइँदैन तर पार्टी प्रतिबद्धताका विषयमा समान दृष्टिकोण छैन । एकथरी पार्टी प्रतिबद्धतालाई अनिवार्य ठान्छन्, अर्काथरी अनिवार्य मान्दैनन् । पार्टी प्रतिबद्धताका कारण स्रष्टाको रचनात्मक भूमिका खुम्चने र गतिलो सिर्जना हुन नसक्ने भनेर तर्क गर्नेहरू निकै छन् । विचारधारात्मक प्रतिबद्धता भए पुग्छ भन्ने दृष्टिकोण यस्ता चिन्तकहरूमा पाइन्छ । जर्ज लुकास, अर्नेस्ट फिसर, रेमन्ड विलियम्स, टेरी इगल्टन आदि जस्ता मार्क्सवादी साहित्य चिन्तकहरू मार्क्सवादी लेखक–स्रष्टाका निम्ति पार्टी प्रतिबद्धतालाई अनिवार्य ठान्दैनन् । उनीहरूले पार्टी प्रतिबद्धतासम्बन्धी सङ्कीर्ण र यान्त्रिक व्याख्या एवं यसलाई अनिवार्य सर्त बनाउने कुराको आलोचना गरेका छन् । 

लेखकीय स्वतन्त्रतालाई सीमाहीन स्वतन्त्रताका रूपमा बुझ्ने–बुझाउने कुराको विरोधमा मार्क्सवादी साहित्य चिन्तकहरू उभिए पनि लेखकीय स्वतन्त्रतालाई उनीहरूले समुचित महत्त्व दिँदै आएका छन् । स्वतन्त्रताले वर्गीय र विचारधारात्मक प्रतिबद्धताको अतिक्रमण गर्न हुँदैन भन्ने दृष्टिकोण मार्क्सवादी साहित्य चिन्तकहरूमा पाइन्छ । कतिपय चिन्तकहरूको दृष्टिकोण वर्गीय र विचारधारात्मक प्रतिबद्धताजस्तो अनिवार्य सङ्गठनात्मक प्रतिबद्धतालाई बनाउन मिल्दैन भन्ने रहेको छ । उनीहरूका अनुसार लेखक एवं स्रष्टाहरू पार्टीमा प्रतिबद्ध हुन पनि सक्छन्, नहुन पनि सक्छन् । पार्टीहरूप्रति उनीहरूको आलोचनात्मक हेराइ पनि हुन सक्छ । अर्नेस्ट फिसरले पार्टीको ठुलो दायित्व कलाको उत्पादनमा सहायक हुनु, त्यसको विकासका निम्ति अधिकतम अवसर प्रदान गर्नु, स्रष्टाको समाजवादी आस्थालाई जीवित राख्नु र अझ गहिराइ प्र्रदान गर्नु हुनुपर्छ, नियन्त्रण होइन भनेका छन् । जर्ज लुकासले पार्टी प्रतिबद्धताको सङ्कीर्ण व्याख्याले साहित्यलाई प्रचार सामग्रीको तहमा झारेको उल्लेख गर्दै त्यसको आलोचना गरेका छन् । पार्टी प्रतिबद्धतालाई वर्ग र विचारधारात्मक प्रतिबद्धताकै तहमा राखेर हेर्न उपयुक्त नभए पनि र त्यससम्बन्धी सङ्कीर्ण र यान्त्रिक दृष्टिकोण गलत रहे पनि मार्क्सवादी साहित्य चिन्तकहरूले सैद्धान्तिक रूपमा पार्टी प्रतिबद्धताको आलोचना गर्न मिल्दैन । यसो गर्नु सैद्धान्तिक दृष्टिले गलत हुन्छ । खास सन्दर्भ वा विशिष्ट स्थितिमा स्रष्टाहरू स्वतन्त्र रहेर सिर्जनामा सक्रिय हुन सक्छन् तर यसैलाई सामान्यीकरण गर्नु हुँदैन । सैद्धान्तिक विचलनका कारण पनि कतिपयबाट यस्तो व्याख्या गरिएको पाइन्छ । 

साहित्य कस्तो हुने भन्ने कुराको नियन्ता बजार, वित्तीय घराना र उपभोक्तावाद बनेका छन् । मार्क्सवादमाथि बाहिरबाट मात्र होइन, भित्रैबाट पनि आक्रमण भएको छ । प्रतिबद्धतासहितको प्रतिवाद यसका निम्ति आवश्यक छ । सिद्धान्ततः प्रतिबद्धता वर्ग, विचारधारा हुँदै पार्टीसम्म पुग्ने कुराको विरोध मार्क्सवादी लेखक एवं स्रष्टाहरूले गर्न उपयुक्त हुँदैन ।

पार्टी प्रतिबद्धताका सन्दर्भमा उठ्ने अर्को महत्त्वपूर्ण प्रश्न एउटै मुलुकमा धेरै कम्युनिस्ट पार्टीहरू रहेको र कम्युनिस्ट आन्दोलन कमजोरीहरूले आक्रान्त भएका बेला के गर्ने भन्ने पनि हो । कम्युनिस्ट पार्टी र आन्दोलनको समुचित मूल्याङ्कन गरेर मात्र यस प्रश्नको जवाफ दिन सकिन्छ । कुनै पनि मुलुकको कम्युनिस्ट पार्टी एवं आन्दोलनलाई सापेक्षतामै हेर्ने हो । शत–प्रतिशत ठिक त कुनै पनि पार्टी हुँदैनन् । नेपालको कुरा पनि यही हो । लेखक एवं स्रष्टाहरू आफूलाई चित्तबुझ्दो पार्टी र आन्दोलनसँग जोडिन सक्छन् । सम्पूर्णतः ठिक खोज्नु र कसैलाई पनि ठिक नदेख्नु पनि एक किसिमको वैचारिक समस्या हो । साहित्यसम्बन्धी मार्क्सवादी सिद्धान्तका आधारभूत मान्यताहरूप्रति प्रतिबद्ध रहेर रचना सिर्जनामा सक्रिय रहन सकिन्छ । तर उनीहरूबारे गरिने आलोचना उपयुक्त हुनुपर्छ । पूर्वाग्रह वा अन्य कुनै गलत मनसाय राखेर आलोचना गरिनु हुँदैन । सबैलाई गाली गरेर र बेठिक भनेर अराजकता र शून्यको खेती गर्ने वामपन्थीहरूको कमी छैन । पार्टीले लेखनका निम्ति निर्देशन गर्न मिल्दैन । गरे आलोचना गर्ने हक सबैलाई रहेको छ । प्रतिबद्धताको अर्थ आलोचनात्मक विवेक गुमाउनु होइन । कमजोरीहरूको आलोचना पार्टी प्रतिबद्ध भएर पनि गर्न सकिन्छ । कैयाँै प्रतिबद्ध स्रष्टाहरूले आलोचनात्मक विवेकको प्रयोग गर्दै आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर वैचारिक समस्याहरू छन् र यसको प्रभाव साहित्यिक आन्दोलनमा परेको छ । सबैभन्दा गम्भीर कमजोरी संसदीय व्यवस्थाका माध्यमबाट अघिल्तिर बढ्नुपर्छ भन्नेहरूमा छन् । मार्क्सवादी स्रष्टाहरू यसप्रति आलोचक बन्नुपर्छ र यसो गर्दा सजायको भागी भइन्छ भन्ने सजाय खप्न पनि तयार हुनुपर्छ । तर यो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरिनुपर्छ । कमजोरीहरूलाई अघि सारेर पार्टी प्रतिबद्धता उपयुक्त छैन भन्ने सामान्यीकृत निष्कर्ष निकाल्न हुँदैन । यसै आधारमा यस सन्दर्भमा उठ्ने प्रतिबद्धतासम्बन्धी प्रश्नलाई हेरिनुपर्छ । 

आज प्रतिबद्धताको अझ बढी खाँचो छ । प्रतिबद्धतामाथि बढी आक्रमण भएको समय हो यो । यो हमला प्रत्यक्षभन्दा प्रच्छन्न रूपमा बढी छ । समग्र पर्यावरणलाई यस अनुरूप निर्माण गरिएको छ । विचारधारामा आएको क्षयीकरणको दृश्य हाम्रो अगाडि छ । लोकप्रियतावाद, सांस्कृतिक फासीवाद, अराजकता र मूल्यहीनता बढेका छन् । साहित्य कस्तो हुने भन्ने कुराको नियन्ता बजार, वित्तीय घराना र उपभोक्तावाद बनेका छन् । मार्क्सवादमाथि बाहिरबाट मात्र होइन, भित्रैबाट पनि आक्रमण भएको छ । प्रतिबद्धतासहितको प्रतिवाद यसका निम्ति आवश्यक छ । सिद्धान्ततः प्रतिबद्धता वर्ग, विचारधारा हुँदै पार्टीसम्म पुग्ने कुराको विरोध मार्क्सवादी लेखक एवं स्रष्टाहरूले गर्न उपयुक्त हुँदैन । पार्टी प्रतिबद्धतासम्बन्धी सङ्कीर्ण र यान्त्रिक दृष्टिकोण एवं लेखकीय स्वतन्त्रतालाई नियन्त्रण र निर्देशित गर्ने कुराको आलोचना गरिनुपर्छ । कुनै पनि बहानामा लेखकीय स्वतन्त्रतालाई नियन्त्रित र निर्देशित गर्नु उचित हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप