नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ ।
‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् । यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको १४ औँ एपिसोड द्वारिकादेवी ठकुरानीका सम्बन्धमा छ । द्वारिकादेवी ठकुरानी नेपालको इतिहासमा प्रथम महिला उपमन्त्रीको नाम हो । उनी निर्वाचित प्रथम नेपाली महिला सांसद पनि हुन् ।
परिचय
वि.सं. २०१५ फागुन सात गते भएको नेपालको पहिलो आमनिर्वाचनमा निर्वाचन क्षेत्र नं. ६६ डडेल्धुरा, तल्लो स्वराड केशरपुरबाट द्वारिकादेवी विजयी भइन् । तीनहजार ९०३ मत ल्याई विजयी बनेकी नेपाली काँग्रेसकी उम्मेदवार द्वारिकादेवी २०१६ साल जेठ १३ गते गठित मन्त्रिमण्डलमा उपमन्त्री बनिन् ।
२०१६ असार २६ गते भएको मन्त्रीमण्डल पुनर्गठनमा द्वारिकादेवी ठकुरानी ‘स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनिन् । त्यतिखेर उनका भाइ शिवराज पन्त पनि मन्त्री भएका थिए ।
२०१५ सालको आमनिर्वाचनमा नेपाली काँगे्रसले दुई तिहाइ बहुमत हासिल गरेको थियो । प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डलमा द्वारिकादेवीले प्रथम नेपाली महिला उपमन्त्री हुने सौभाग्य प्राप्त गरेकी हुन् ।
उपमन्त्री हुँदाखेरि विशेषगरी नारी उत्थानमा जोड दिएको बताएकी द्वारिकादेवीको चाहना हरेक क्षेत्रमा नारी सहभागिता बढोस् भन्ने थियो । भनिन्छ, द्वारिकादेवी बाल्यकालदेखि तीक्ष्ण बुद्धिकी थिइन् ।
आठै वर्षको उमेरमा उनलाई श्रीमद्भगवद्गीता, महाभारत आदिका श्लोक कण्ठस्थ हुनुले पनि उनको मेधाशक्तिको चिनारी दिएको छ । यसो त उनी पनि भेदभावको सिकार नभएकी होइनन् । छोरी भएकै कारण उनले घरमै पढ्नुपर्यो ।
उनका भाइ भने पढ्नका लागि मुरादाबाद, भारत गएका थिए । वि.सं. २००३ सालमा उनी नेपाली काँग्रेससँग आबद्ध भएकी हुन् ।
पति उद्धवबहादुर चन्दको कृपा, प्रेरणा र प्रोत्साहनबाट राजनीतिमा अग्रसर भएको बताएकी छिन् उनले । यसबारे उनले भनेकी छिन्–‘त्यस्तो बन्देजका बेलामा आफ्नो पतिको कृपा नभइदिएको भए म राजनीतिमा लाग्ने कुरै थिएन ।’
बीपी बावुसँगको आफ्नो पहिलो भेटको संस्मरण सुनाउँदै उनले भनेकी छिन् । ‘यो तीन सालको कुरो हो । एन.डी. प्रकाश चटौत (नारायणीदत्त चटौत) ले हामी दुवै (पति/पत्नी) लाई काठमाडौँ, ज्ञानेश्वर लानुभयो । त्यहाँ बीपी बाबु भेष बदलेर ज्यापूको जस्तो पटुका बाँधेर आउनुभयो । ‘एनडी, कसलाई ल्याएको’ भनेर सोध्नुभयो । जवाफ सुनेपछि उहाँले भन्नुभयो– ‘तेरो दिदी, भिनाजु मेरो पनि दिदी, भिनाजु !’
त्यहाँ काँग्रेसको सदस्य बनाउने कुरो चल्दा म महिला भएकीले अप्ठेरो पर्ला भन्ठानी उहाँलाई मात्रै सदस्यता दिने कुरो भयो , अनि मैले भनेँ– ‘म त आफ्नै इच्छाले आइसकेपछि सदस्य चाहिँ बनाइदिनैपर्यो ।’
‘कुन सदस्य बन्ने ?’ बीपी बाबुले सोध्नुहुँदा मैले ‘जुन राम्रो हुन्छ, त्यही दिनुपर्यो’ भनेँ । अनि उहाँले मलाई क्रियाशील सदस्य बनाउनुभयो ।
सात सालको क्रान्तिका बेलामा बीपी बाबुले मलाई काठमाडौँ बोलाउनुभएको थियो । तर देशभरि राणाशासनविरूद्ध क्रान्ति गर्नुपर्ने भएकाले म यहीँ बसेर काम गर्छु भनी भीमदत्त पन्तहरूसँग मिलेर काम गरेँ ।
त्यतिखेर भीमदत्तलाई सल्लाह, सुझाउ दिने सुवासचन्द्र बोसका एकजना मान्छे थिए । सुवासचन्द्र बोसका मान्छेलाई भारतमा बस्न नदिइएकाले उनी यहाँ आएर बसेका थिए । उनको नाम थियो – ‘अयंगर’ ।
हामी उनलाई ‘ह्यांगर’ (लुगा झुन्ड्याउने) भनी हाँसो गथ्र्यौं ।’ राजा महेन्द्रबाट २०१७ साल पुस १ गते कदम चाली सत्ता हातमा लिइएपछि बीपी लगायत विभिन्न नेता पक्राउ परे ।
सोही दिन द्वारिकादेवी पनि पक्राउ परिन् । उनलाई बरफबागमा राखियो ।
१५ दिनमा छाडिएपछि द्वारिकादेवी कोलकातातर्फ लागिन् । कोलकातामा उनी सुवर्ण शमशेरको निकटतामा रहिन् ।
त्यतिखेर सुवर्ण शमशेर राजा महेन्द्रविरुद्ध सशस्त्र संघर्षको तयारी गरिरहेका थिए । द्वारिकादेवीले आठ वर्ष कोलकातामा बिताइन् ।
राजा महेन्द्रबाट आम माफी पाएपछि उनी २०२५ सालमा नेपाल फर्किएकी हुन् । द्वारिकादेवीका घर, जग्गा, गरगहना सबै सर्वस्वहरणमा परेका थिए ।
प्रहरीले अनावश्यक दुःख दिन छाडेन । उनी भारतीय सीमाभित्र गई बस्न थालिन् ।
दशवर्ष जति भारतमा बसे तापनि बेलाबखत यहाँ आई जनचेतना जगाउने काम गर्थिन् । यिनै कार्यले गर्दा उनलाई धेरैले ‘दिदी’ भन्थे । कैयन्का लागि उनी ‘कांग्रेसकी दिदी’ बनेकी थिइन् ।
तुम्बा भिरेर महाकाली नदी तरी आवत–जावत गर्थिन् उनी । प्रहरीले थाहा पाई तुम्बा, चिण्डा सब फोडिदिएका थिए ।
उतिबेला, प्रहरीलाई बाघ भनिन्थ्यो । यहाँ बाघ लागिरहेछ भनेर कराएको सुनेपछि उनी बुझिहाल्थिन् र सतर्क हुन्थिन् ।
नबुझ्नेहरू चाहिँ गाई, बाख्रा बाँध्न थाल्थे । प्रजातन्त्र पुनस्र्थापन भएपछि उनको सर्वस्वहरण भएको सम्पत्ति फिर्ता गरियो ।
घरमा विद्यालय रहेकाले उनले त्यो लिन मानिनन् । आफ्ना पति र आफूले २००४ सालमा तल्लो स्वराड बैतडीमा मणिलेक हाईस्कुल स्थापना गरेको वृत्तान्त उनले सगौरव सुनाएकी छिन् ।
अहिले त्यहाँ स्नातकोत्तर तहसम्म पढाइ हुने गरेको छ । द्वारिकादेवीको बाल्यावस्था दुःख, कष्टपूर्ण रह्यो । उनी ‘मूल’ मा जन्मिएकीले बाबुले फाल्न समेत भनेका थिए । ज्योतिषीका अनुसार बाबुलाई मार्ने मूलमा जन्मिएकीले बाबुले त्यसो भनेका हुन् । आमाको इच्छा अनुसार उनी मामाघर बस्न थालेकी हुन् । आमालाई शिक्षाको महत्त्व थाहा थियो । त्यसैले, मामाघरमा बूढो बाहुन बोलाएर संस्कृत लेखपढ गर्न लगाइएको थियो । यसबारे, द्वारिकादेवीले हाँस्दै भनेकी थिइन्– ‘तरुनोलाई पढाउन लगायो भने छोरी भगाउँछ भनेर बूढो बाहुन राखिएको हो ।’
आफ्नो परिवारका सम्बन्धमा उनले भनेकी छिन् ट्ठ
‘वि.सं. १९९१ सालमा बाबु बित्नुभयो । त्यसको एक वर्षपछि मङ्सिरमा मेरो विवाह भएको हो । २०१० कात्तिक १० गते श्रीमान् पनि बित्नुभयो । एउटा छोरो थियो, जुन सानैमा बित्यो । सौताका चाहिँ छोरा, छोरी थिए ।’
लेखक रतन भण्डारीका अनुसार द्वारिकादेवीको विवाह १८ वर्षको उमेरमा तिनताक डडेल्धुरामा पर्ने तल्लो स्वराड (हालको बैतडी) का उद्धवबहादुर चन्दसित भएको हो ।
यो अन्तर्जातीय विवाह थियो । तिनताक ठकुरी र ब्राह्मणबिच विवाह चल्दैनथ्यो ।
विवाह भइहाले ठकुरी वरले ‘दियो–कलश’ पुजेर भित्र्याउने चलन थियो । उद्धवबहादुर द्वारिकादेवीभन्दा १६ वर्ष जेठा थिए । उनको यो दोस्रो विवाह हो ।
यसअघि डडेल्धुरा, चोरेलाकी बाटुलीदेवीसित उनको विवाह भएको थियो । ‘जिमुवाल’ उद्धवबहादुर वकालत गर्थे ।मुद्दाको सिलसिलामा सिलगढी गइरहन्थे ।
द्वारिकादेवीका पिता सरकारी जागिरे थिए । ‘खरिदार’ वामदेव पन्तसित उद्धवबहादुरको राम्रै परिचय भएकाले लगनगाँठो जुर्न पुग्यो ।
द्वारिकादेवीको विवाह १९९२ सालमा भएको हो । दुवै पति, पत्नी २००७ सालअगावै काठमाडौं आई केही वर्ष बिताए ।
यही बेला, दुवै जना नेपाली कांग्रेसका सदस्य भएका हुन् । दुवै जना समाजसेवामा पनि उत्तिकै सक्रिय थिए ।
हृदयरोगका कारण पति उद्धवबहादुरको निधन भयो । त्यसको आठ महिनामा जन्मिएको छोरो पनि रहेन । द्वारिकादेवीलाई पतिशोकमाथि पुत्रशोक थपियो ।
२०१७ सालपछि द्वारिकादेवीलाई मन्त्री पदको प्रस्ताव नआएको होइन । तर उनले कहिले पनि आफ्नो सिद्धान्त, आदर्श र निष्ठालाई कमजोर हुन दिइनन् ।
कुनै लोभ, लालचमा नफसेकी द्वारिकादेवीले झन्डै दुई दशकपूर्व पाखुरी देखाउँदै आफ्नो अटल स्वभावको परिचय दिँदै भनेकी थिइन्– ‘म त खन्ने पनि हुँ, डल्ला पनि फोर्ने हुँ ।’
त्यतिखेर द्वारिकादेवीको अवस्था राम्रो थिएन । श्रवणशक्ति नगण्य थियो, चिनीरोगको प्रकोप त छँदै थियो, त्यसमाथि क्यान्सरपीडित समेत बनेकी थिइन् ।
जस्तासुकै अवस्थामा पनि कसैका अगाडि उनले हात पसारेकी थिइनन् । उनको भनाइमा गुनासो मिसिएको थियो –‘मलाई औषधि खाने भत्ता त कसैले दिएको छैन, अरू के भनुँ ! तर सन्तोषी महासुखी’
२०३६ सालमा राजनीतिपीडितका नाममा उनले चारबिघा जग्गा पाएकी हुन् ।
पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा गठित राजनीतिक पीडित उद्धार समितिले उनलाई कैलालीको जुगेडामा जग्गा उपलब्ध गराएको हो ।
त्यसपछि उनको बसोबास जुगेडामा भयो ।
बहुदल आएपछि चाहिँ आफूले केही नपाएको उनको भनाइ थियो ।
केही भत्ता दिएदेखिन् ‘रोटी खाने थिएँ, त्यही न हो’ यो भनाइले उनको विषम अवस्था छर्लङ्ग्याएको छ ।
पहिलेका र अहिलेका मानिसबारे सोध्दा उनले भनेकी थिइन् –
‘पहिलेका मान्छे सोझा थिए, सरल थिए । अहिलेका मान्छेमा बुद्धि छ, बोलीमिजास राम्रो छ ।
तर जमानाको हावा हो । बुद्धिका राम्रा तर व्यवहारका नराम्रा छन् ।’
अनि, राजनीति ? यस प्रश्नमा उनको जवाफ थियो, ‘राजनीति पनि त्यस्तै हो । जसको हात पर्यो उसकै । चुनाव लड्न पनि टिकटको मारामार ! मलाई त बीपीबाबुले घरमै टिकट पठाइदिएको हो ।’
काँग्रेसको अवस्था चाहिँ कस्तो छ नि ? सोध्दा– ‘तँछाडमछाड छ । सबैको चित्त बुझाउन सक्नुपर्छ, आफ्नो मात्रै बुझाएर हुँदैन’ छोटोमा धेरै कुरा भनेकी थिइन् उनले ।
८७ वर्षको उमेरमा वि.सं. २०५९ मङ्सिर २४ गते उनी यस संसारबाट बिदा भइन् ।
उनी स्तन क्यान्सरबाट पीडित थिइन् ।
उनले नेपालको राजनीति, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा गरेको देन अविस्मरणीय छ ।
२०१६ सालमा स्थापित नेपाल परिवार नियोजन संघकी संस्थापक अध्यक्ष हुन्– द्वारिकादेवी ठकुरानी ।
भनिन्छ, २०१६ साल असोज २ गते यो संघ गठन गरिँदा ‘परिवार नियोजक समिति’ नाम रहेको थियो ।
विभिन्न जिल्लामा जनतामाझ पुगेकी द्वारिकादेवीले बैतडीमा २०१६ साल मंसिर ७ गते ‘महेन्द्र डिस्पेन्सरी’ को उद्घाटन गरेकी थिइन् ।
तत्कालीन सोभियत संघको औपचारिक भ्रमण गर्ने प्रथम नेपाली महिलाको श्रेय पनि उनलाई नै प्राप्त छ ।
२०१७ असोज १९ देखि कात्तिक २२ गतेसम्म उनी भ्रमणमा थिइन् ।
नेपालको राजनीतिक इतिहासमा अग्रणी भूमिका खेलेकी द्वारिकादेवीको स्मृतिमा यथोचित काम भएको पाइँदैन ।
उनका नाममा विश्वविद्यालय खुल्ने चर्चा पनि यसै सेलायो ।
‘द्वारिकादेवी ठकुरानी र शहीद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान कञ्चनपुर’ एवं ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ ले धन्न, सम्झनाको मेसो दिएको छ ।
‘द्वारिकादेवी ठकुरानी र शहीद मीनबहादुर चन्द स्मृति प्रतिष्ठान, कञ्चनपुर’ २०६३ मा स्थापना गरिएको हो ।
द्वारिकादेवीको सल्लाहकारका रूपमा काम गरेका मीनबहादुर २०३६ सालको आन्दोलनमा मारिएका हुन् ।
उनलाई २०४६ सालमा शहीद घोषणा गरिएको छ ।
यस प्रतिष्ठानले ‘नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी’ पुस्तक प्रकाशनमा ल्याएको छ ।
लेखक रतन भण्डारीले पनि ‘द्वारिकादेवी ठकुरानी’ पुस्तक प्रकाशन गरेका छन् ।
द्वारिकादेवी ठकुरानी ट्रस्ट, डोटीको सक्रियतामा ‘द्वारिकादेवी स्मृति भवन’ निर्माण भइरहेको छ ।
सातसालको क्रान्तिकाल होस् वा पञ्चायत व्यवस्थाविरुद्ध रहेको सङ्घर्षकाल, यी आन्दोलनका सन्दर्भमा द्वारिकादेवीलाई सम्झनैपर्ने हुन्छ । खासगरी नारी जागरणका दिशामा जननिर्वाचित प्रथम नेपाली महिला सांसद तथा प्रथम नेपाली महिला उपमन्त्री द्वारिकादेवी ठकुरानीले छाडेका त्यागपूर्ण छाप, गरेका साहसी कार्य तथा जगाएका अपूर्व प्रेरणा आज पनि उत्तिकै मननीय एवं स्तुत्य रहेका छन् ।
प्रतिक्रिया