शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

राजेन्द्र भण्डारीका तीन कविता

शनिबार, १० फागुन २०८१, १६ : ००
शनिबार, १० फागुन २०८१

१) जताबाट आएको थिएँ

फोक्सोमा अल्झेको अलिकति सास
फर्काउनु छ
यो हावालाई ।

पृथ्वीसित सापटी लिएको थिएँ
छाला, हड्डी, रगत
त्यसलाई घोटेर
आगो बाल्न चाहेको थिएँ ।

बुझाउनु छ त्यो अब यो पृथ्वीलाई ।
फर्काउनु छ आकाशलाई
यो आवारा मन ।

ज–जसको नासो लिएको थिएँ
सबै फिर्ता गर्नु छ उसै उसैलाई

र जानु छ 
जताबाट आएको थिएँ उतै ।

२) ग्राउन्ड जिरो

घुम्तीनेर ओढार छ
पिँडुलाहरू त्यतै हराइरहेका छन् ।

एउटा लस्कर नाचिरहेको छ
मर्फिनी धुनमा ।

खुकुरी बोकेर कति चिच्याउने ए बहिनी ?
ऊ त भागिसक्यो
अब तिम्री बहिनीको पोस्टमर्टम रिपोर्ट
जे आए नि के र !

डिमेन्सियाग्रस्त
बुढा बिल्डिङहरू खासखुस गरेको सुनिन्छ
मध्यरातमा ।

खोला र पहाडको
आँसु र रगतको झगडा
अब सार्वजनिक भइसकेको छ ।

कहिले आँसुले जित्छ
र जताततै आँसुको आहाल भरिन्छ
कहिले रगतले जित्छ
र आकाशमा सन्त्रासको गिद्ध उड्छ ।

कतै नपुग्ने सडक गुजुल्टिन्छ गान्धीगेटमुन्तिर
कुकुरहरू अकारण भुक्छन् ।

मैदानबाटै हराइजान्छन्
मार्च पास्ट गरिरहेका युनिफर्महरू ।

सुकेका रुखहरू कुरा गर्छन्
हरियो वैशाखको ।

आगो कसरी कताबाट लाग्यो ?
जानेर पनि
कोही बोल्दैन
जसरी लागेको होस् 
घन्टी बजाउँदै ढिलोछिटो आउन त आउँछ दमकल पत्रकारले 
बाँचेका केही घर
केही बाकस, लुगाफाटाको फोटो पनि खिच्छ नै ।

डढेका सपनाहरूको लागि त 
न दमकल न क्यामेरा ।

३) सोह्र श्राद्ध

त्यो तल्लो बारीमा
के रोपिस् ?
यसपालि त बाँझो राखिनस् होला नि ?

जंगलको बाघले पनि आफ्नो क्षेत्र
सुरक्षित राख्छ 
तैँले माटो त पराईलाई 
बेचिखाएको छैनस् नै होला ।

शरीरकी तेरी आमा मरेर गए पनि
सधैँ बाँच्ने आमा त त्यही माटो हो है नभुलेस् ।

तेरो शरीरमा
शरीरको कुनै कोशमा, हड्डीमा, चालढालमा
हामी अझैँ छौँ नभुलेस् ।

धाप–सिमसार, संसारीमाई, कुलधर्म,
हजुरबा–हजुरआमा, जिजुबा–जिजुमा, मीतबाउ–मीतामा,
बुढी फुपू–फुपा, छिमेकी अक्कु, कोपा, बतिम,
धबा, निनी सबै–सबैलाई श्राद्धको तर्पण दिन नभुलेस् ।

छेउको जङ्गल
तैँले फेर्ने सास हो थाहा छ के?

त्यो धारा, त्यो खोला नै
तेरो नसा–नसामा बग्ने रगत हो 
बुझिस् के ?

तँमाथि यिनको ऋण छ नि !
सिटिङ रुमको भित्तामा सजिएका मेरा बा–आमा
मलाई टुलुटुलु हेर्दै छन् ।

सोह्र श्राद्ध आयो 
पितृहरूलाई अब मैले के जवाफ दिने होला ?

३) कवितात्मक बाध्यता

अरुले खित्खिताएको भने
र  मैले ग्लेसियरलाई छोएर हेरेँ
त्यो त कञ्चनजङ्घा रोएको पो रहेछ ।

त्यो आँसु पुछ्न
हिँडेको हिँड्यै जुनी बित्यो
जुत्ता खियो
पैतालामा खिल पल्टियो 
कतै पुगिएन तर पनि  हिँड्न छोडिएन ।

हेर्दाहेर्दै जाल फैलाउँदै
मेरो आँगनमै आइपुग्यो बजार
र खोल्यो 
वीर्य–बैंक
पाठेघरको दोकान ।

घडेरी बचाउन जुनीजुनी लडिरहेँ म
न कहिल्यै जितेँ
न कहिल्यै हारेँ ।

कहिल्यै नजित्नु
अनि कहिल्यै नहार्नु
आखिर मेरो कवितात्मक बाध्यता पनि त हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र भण्डारी
राजेन्द्र भण्डारी
लेखकबाट थप