शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

स्थानीय पाठ्यक्रममा मातृभाषा समावेश नहुँदा चिन्ता

'मातृभाषामा पढाइ नहुँदा विद्यार्थीले बिचमै छाडे'
शनिबार, १० फागुन २०८१, १४ : २२
शनिबार, १० फागुन २०८१

काठमाडौँ । सप्तरीको बोदेबसार्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले मैथिली भाषाकाे स्थानीय पाठ्यक्रम लागु गरिएको बताएका छन् ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले मैथली बंगाली भाषाजस्तै आफ्नै तिरहुत र कैथी लिपि रहेको उल्लेख गर्दै भने, 'विश्वको सुन्दर मिठासले भरिएको भाषा मैथली हो ।' 

दक्षिण अमेरिकाको उत्तर-पूर्वी आन्ध्र महासागर तटमा अवस्थित सुरिनाम देशमा अप्रवासीहरूले पनि मैथिली भाषालाई राष्ट्रिय भाषामा सम्मलित गरेर संरक्षण गरी राखेको जानकारी दिँदै उनले यो भाषाको संरक्षण र सम्बर्द्धनमा आफूले हरहमेसा प्रयास गर्ने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य डा.सूर्यप्रसाद यादवले मधेशको शिक्षा तीव्र गतिमा धाराशायी भइरहेको कार्यक्रममा बताए । यिनलाई जोाउन जनचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। 

'साना नानीबाबुले बिचमै पढाइ छाडनुको कारण मातृभाषा नै हो,' उनले भने, 'घरमा मैथिली बोल्ने र स्कुल जानेबित्तिकै नेपाली, अंग्रेजी पढाउन थालेपछि त्यसको डरले पनि बिचैमा पढाइ छाड्छन् ।' त्यसैले हरेक विद्यालयमा मातृभाषा शिक्षाको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । 

मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले मधेशले पहिचानको आन्दोलनको नेतृत्व गरेकाले सबै भाषाभाषीका समूदायको कला संस्कृति संरक्षण गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको बताए । समाजको विकास भाषा भेषवूषाबाट हुने भएकाले त्यसमा हरेक क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए। भाषा, कलासंस्कृति जगेर्ना गर्न सके समाज आफै विकसित हुँदै जाने उनको विचार थियो। 

शैक्षिक जागरण अभियानमा लागेका डा.जयनारायण यादवले नेपालको संविधानले मौलिक हकका रूपमा मातृभाषाहरूलाई समेटे पनि आधारभूत तहमा पढाइ नहुनु दुःखद् रहेको बताए । मधेश प्रदेशका अधिकांश स्थानीयतले मातृभाषामा स्थानीय पाठ्यक्रम लागु गर्न नसकेको उनको चिन्ता थियो। 

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा 'शिक्षा मे मातृभाषाः नीति आ यथार्थ विषयक वक्तृत्वकला तथा विचार' गोष्ठीको आयोजना गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा बोदेबर्साइन नगरपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट १० जना विद्यार्थी सहभागी थिए । 

प्रतियोगितमा श्री ईश्वरी हिया सुरैत जनता माध्यमिक विद्यालयकी विद्यार्थी पूजा साह प्रथम, श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालयका विद्यार्थी सत्येन्द्र यादव दोस्रो र श्री चन्द्रा नमुना माध्यमिक विद्यालयका विद्यार्थी पवन कुमार मण्डल तेस्रो भएका थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीलाई आयोजकले शैक्षिक सामग्रीहरू प्रदान गरी पुरस्कृत गरेको छ । 

हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइन्छ ।  सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा विद्यार्थीहरू मारिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप