आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष

शनिबार, १० फागुन २०८१, १३ : ४२
शनिबार, १० फागुन २०८१

गोरखा । गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेवी माध्यमिक विद्यालयमा दस जोड दुई सञ्चालनका लागि ७० लाखको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको ७२ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष सञ्चालन समितिका अध्यक्ष  पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले उक्त कुराको जानकारी गराएका थिए ।

स्थानीयहरूबाट दुई वर्ष सम्म चलेको अभियानबाट सो अक्षयकोष सञ्चालनमा ल्याइएको हो । प्लस–टु सञ्चालन गर्न सिंगापुर रेडक्रस र सिंगापुर नेपाली समाजको आर्थिक सहयोगमा निर्मित ८ कोठे भवनको उद्घाटन गाउँ पालिका अध्यक्ष विष्णुप्रसाद भट्ट र पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए । 

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले दस जोड दुई सञ्चालनका लागि जनस्तरबाट ठुलो रकम उठेको भन्दै सह्राना  व्यक्त गरेका छन् ।  साथै उनले  विद्यालयको सर्वाङ्गीण विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए ।

शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाले दाताहरूलाई धन्यवाद दिँदै शैक्षिक गुणस्तरको लागि शिक्षक मात्र नभई अभिभावक पनि चनाखो हुनुपर्ने बताए ।

विद्यालयको ७२ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयले अक्षयकोष सञ्चालन समितिका संयोजक दोलखबहादुर गुरुङ, चन्दादाता हरिजंग दवाडी, प्रेम गुरुङ, गोपाल गुरुङ, सनक गुरुङ, शारदा भुजेल, रोलक थापा, नरहरि वाग्ले, राजु खड्का,  बिन्दु थापा, लगायत सबै चन्दा दाताहरूलाई सम्मान गरेको थियो ।

अक्षयकोष निर्माणमा अनुकरणीय योगदान दिएबापत टिकादेवी गुरुङ तथा विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकाललाई गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट र संयोजक दोलख बहादुर गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीलाई सम्मान समेत गरिएको थियो भने बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयका बि.स.२०५६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले एक लाख एक सय सत्ताइस रुपैयाँको छुट्टै अक्षय कोष स्थापना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देश विदेशमा रहेका साथीहरूबिच रकम सङ्कलन गरी अक्षय कोष स्थापना गरेको संयोजक मधुकर खड्काले जानकारी दिए । अक्षय कोषको ब्याजबाट विद्यालयबाट प्रत्येक वर्षको एसइईमा उत्कृष्ट नजिता ल्याउने एक जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कृत गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप