उत्तरआधुनिक अन्तरेपथ

जीवनको यस नवीनतम् क्षणमा जुनियर अन्तरेको तिलस्मी औतारमा रूपान्तरित भएको छु म । अब उत्तरआधुनिक अन्तरे दर्शनका दृष्टिले जीवन–जगत्बारे गहन विमर्श गर्छु म । आँगनछेउको गोडमेलबाट वञ्चित मेरो दुखिया दुबोमा छद्मभेषी झार सल्केको छ । पिराहा झारको यो आततायी सल्काइ दुबोमाथिको हिंसा हो । हिंसामुक्त हुन दमित दुबो मसँग हरपल गोडमेल र मलजलको व्यग्र याचना गरिरहेछ । तर यस नवसम्भ्रान्त ज्यानमा जाँगर छैन । कटु अनुभव भन्छ, दुबो गोड्नु भनेको मैलो कपालका चम्कना खोजेर टिप्नुजस्तै काम हो, अतिशय झन्झटिलो । मति र मनोविज्ञानका हिसाबले आफू परेँ यस हिंसाग्रस्त मुलुकको कनिष्ट अन्तरे । वरिष्ठ अन्तरेद्वारा आविष्कृत अनुपम दृष्टान्त सम्झँदै म घोत्लिन्छु— दुबोलाई हिंसामुक्त गर्न म एउटा अगरबत्ती पो बालुँ कि ! करीमा स्वाद र सुगन्धको बिछट्टको लेप लाइदिने करी लिफमा अगस्ती झुसिल्किराहरूको बिगबिगी छ । कोमल वृक्षमाथिको क्रूर हिंसा हो यो बिगबिगी । तर, यो सुगन्ध र स्वादवद्र्धक लघुवृक्षलाई हिंसामुक्त गर्न कष्टकर झमेलो उठाउने उमङ्ग यस अल्छे ज्यानमा छैन । सुकोमल पाउलाई कष्ट दिँदै कीटनाशक बिखादि किन्न पसल जाऊ । स्प्रे खोज । छिर्का हान । ज्यानलाई दुःख । पैसाको नाश । समयको बर्बादी । निधार खुम्च्याउँदै म गम्छु, एक जोडी परेवा उडाएर यो आहत करी लिफलाई हिंसामुक्त गर्ने कामना म किन नगरुँ ? अहा ! क्या च्वाँक विचार फुरेका मलाई !
मेरो चित्तको चञ्चल तलाउमा मङ्गलकामी विचारहरूको लहर ह्वाह्र्वार्ती स्फुरण भइरहेछ । म देख्छु, मेरो चर्पीमा देख्दैमा घीनलाग्दो हरियो झिँगो घुसेछ । शान्तिपथको देउरालीमा उभिएर म घोषणा गर्छु, हैजावाहक झिँगाको चर्पी घुसाई चर्पीको स्वच्छतामाथिको निर्मम हिंसा हो । तर, गन्दे चर्पी सफा गर्न मलाई कत्ति जाँगर लाग्दैन । अतः आज्ञाकारी मुद्रामा अन्तरे गुरुजीको सिको गर्दै म चर्पीमा केही थोपा अत्तर पो छर्किउँ कि । मेरो अनन्त चिन्ता सिरियल जारी छ । अताल्लिँदै सम्झन्छु, नर्कतुल्य सडकमा फोहोरको कुहिगन्ध व्याप्त छ । यो कुहिगन्ध मनुष्य जातिको घ्राणशक्तिमाथिको जघन्य हिंसा हो । नाक अँठ्याउँदै म सोच्छु— फोहोरको डङ्गुरमाथि दुई–चारवटा कपुर अर्पण गरेर निम्छरो मनुवाको घ्राणशक्तिलाई म हिंसामुक्त पो गरुँ कि ! भद्रगोल ढलमार्पmत मानवमलरूपी हिंसा मिसिएर पवित्र वागमती नदी हदै अपवित्र भएको छ । मलाई झोँक चल्छ, चटके विधिबाट म वागमतीको शुद्धीकरण पो गरुँ कि !
पिँढीमा प्लास्टिकको पत्रु कुर्सीमा उपर्खुट्टी लाएर गम्दारी मुद्रामा बसेको छु म । म अर्थात् म कनिष्ट अन्तरे । मेरो करुणामयी चित्तमा हिंसाविरोधी चेतनाको अजस्र मूल फुटिरहेछ । मग्नसँग बसीबसी सरल, सहज र सुबिस्तायुक्त उपायद्वारा समाजलाई हिंसामुक्त गर्ने उदात्त कामनाले ओतप्रोत हुँदो छु म । अन्तर्दृष्टिले म देख्छु, जनजीवनका घटघटमा, कणकणमा हिंसा व्याप्त छ । थाहा छ, मानव देहमा चोट लगाउनु, रगत बगाउनु, कष्ट दिनु वा ज्यान लिनु मात्र हिंसा होइन । सहस्र छन् हिंसाक रूपहरू । यसका आयामहरू छन् अनगिन्ती । अबोध शिशु कुपोषित भई टाक्सिनु हिंसा हो । निर्दोष बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुनु हिंसा हो । गतिलो प्रसूति सेवा नपाएर मातृ–शिशु पीडित हुनु हिंसा हो । कथित दलितमाथि छुवाछुतको कलङ्क थोपरिनु हिंसा हो । निमुखा, दरिद्र र दलित महिलाहरूलाई बोक्सीको बात लाएर हुर्मत लिनु हिंसा हो । दहेजको लोभमा नारीमाथि ताडनाको ओइरो लाग्नु हिंसा हो । एकलासे छाउपडी खोरमा निरूपाय स्त्री जाडाले कठाङ्ग्रिएर सेलाउनु हिंसा हो । जनजातीय संस्कृति र अस्मिताको तेजोबध गरिनु हिंसा हो । मधेसी मानवलाई अदेशभक्त, अनागरिक र आयातीत ठानिनु हिंसा हो । जाजरकोट भेगमा नाथे झाडापखालाबाट त्यतिका नरनारीहरूको एकबारको चोला उठ्नु हिंसा हो । हिंसा सर्वत्र छ । तर अन्तरेपथको नवीन आविष्कारको प्रकाशपुञ्जमुनि खुसीको खबर पनि त छ । यस दिव्य घडीमा अगुवा अन्तरेका पावन एवं प्रेरणादायी पदचिह्न पछ्याएर यी यावत् हिंसालाई नामेट पार्ने आनन्दी अभियानमा निस्कन म पछुवा अन्तेरलाई पर्याप्त ऊर्जा र उमङ्ग प्राप्त भइरहेछ ।
अबोध शिशु कुपोषित भई टाक्सिनु हिंसा हो । निर्दोष बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुनु हिंसा हो । गतिलो प्रसूति सेवा नपाएर मातृ–शिशु पीडित हुनु हिंसा हो । कथित दलितमाथि छुवाछुतको कलङ्क थोपरिनु हिंसा हो । निमुखा, दरिद्र र दलित महिलाहरूलाई बोक्सीको बात लाएर हुर्मत लिनु हिंसा हो । दहेजको लोभमा नारीमाथि ताडनाको ओइरो लाग्नु हिंसा हो ।
गौतम बुद्धले भनेथे— जीवनमा दुःख छ । दुःखका कारण छन् । काम, क्रोध, लोभ र मोहबाट मुक्त हुने आत्मिक प्रबोधनकारी यत्न र साधनाद्वारा यी कारणको निराकरण गर्न सकिन्छ । कार्ल मार्क्सले भनेथे— समाज वर्गमा विभक्त छ । जीवनका सबै भौतिक र आत्मिक वस्तुमाथि अल्सङ्ख्यक कामचोरको वर्चस्व छ । वर्गसङ्ग्रामद्वारा बहुसङ्ख्यक गरिखानेको कल्याणकारी राज खडा गरेर जनमुखी उत्पादन र समतामुखी वितरणको चाँजो मिलाई समस्त मानवजाति शनैःशनैः आवश्यकताको अधिराज्यबाट स्वतन्त्रताको अधिराज्यमा भित्रिन सक्छ । महात्मा गान्धीले सत्याग्रही अहिंसामार्पmत लोकहितकर स्वराजको आग्रह गरेथे । सुन्छु, यी तीन मनीषीका यी सोचहरू मानव जीवनलाई हिंसामुक्त गर्ने पृथक् पथ हुन् रे । वरिष्ठ अन्तरेको वेदवाणीलाई साक्षी राखेर यो कनिष्ठ अन्तरे ऐलान गर्छ— यी बित्थाका झ्याउ पथ हुन् । यी पथको पथिक हुन असम्भव छ । बुद्धपथमा लागेर जिउमा झ्याउ पलाउने गरी तपस्या गर्न के सकिन्छ ? मार्क्सेली बाटो अवलम्बन गरेर ज्यानलाई जोखिममा पार्नुमा के बुद्धिमत्ता छ ? गान्धीमार्गको ध्वजा बोकेर एउटा गालामा झापट आइलाग्दा अर्को गालो थापिदिन किन मानिन्छ ? तर, जसरी हुन्छ समाजलाई हिंसामुक्त गर्नु नै छ । वरिष्ठ अन्तरेपथ बुद्ध, मार्क्स र गान्धीपथभन्दा कता हो कता उत्तम छ । तसर्थ म कनिष्ठ अन्तरे अटल आत्मविश्वासका साथ उद्घोष गर्छु— यो सुरक्षित, मनोरञ्जनदायी र मगनमस्तीपथ हो । त्यसो त यो लाभदायक पथ पनि हो । यसबाट यश लाभ हुन्छ, अर्थ लाभ हुन्छ र खुल्छ अमरत्वको स्वर्णद्वार ।
श्री अन्तरे गुरुजीद्वारा निर्मित हिंसामुक्तिपथबारे चिन्तन–मन्थनमा म नवजात अन्तरे निमग्न छु । मेरो सिर्जनशील मस्तिष्कमा अभियानको मार्गचित्र कोरिन थाल्छ । मार्गचित्र छ सोझो, सुस्पष्ट र सुगम । यो मार्गचित्रमा यात्रा गर्न चाहिन्छ एक रङ्गीविरङ्गी इन्द्रधनुषी टोली । नयाँ पथ बनाउनु पीडा हो । अन्वेषण कष्ट हो । गवेषण सन्ताप हो । कष्टसाध्य यत्न मरेको जुनी हो । र, त्याग हो भयङ्कर क्लेश । पाइनसक्नु एकबारको जुनीमा सजिलो कुरा त कसैको कार्बनकपी हुनु पो हो । तसर्थ राजीखुसीको रोजाइसाथ म अन्तरेपथको कार्बनकपी बन्छु । र, मार्गचित्रको खाका उतैबाट सुटुक्क चोर्छु म । हिंसामुक्तिजस्तो लोकमङ्गलकारी मनसायबाट गरिने चोरी दण्डित हुनुपर्ने कसुर होइन क्यारे ।
सप्तरङ्गी टोलीको एक रङ्गमा पूर्व कूटनीतिज्ञ वा पूर्व अञ्चलाधीश वा पूर्व जर्नेल पर्छ । यो पूर्व यस मुक्ति अभियानको एक शोभा हो, एक सान हो र हो एक गौरव पनि । म तर्कना गर्छु, अभियानमा निस्कन म कुन पूर्वलाई चयन गरुँ ? पुस्तकप्रेमी विश्व प्रधान, राजसेवी विद्वान् सूर्यप्रसाद श्रेष्ठ वा जण्ड जर्नेल रुक्माङ्गद कटवाल ? खुबी आकलन गरेर म एकजना पूर्व हजुरलाई ट्याक्क चयन गर्छु । पूर्वपछि सिनेकर्मी हो यस टोलीको देदीप्यमान् आभूषण । सम्यक् दृष्टिले परख गर्छु म, अध्यक्ष कमरेड प्रचण्डसँग नारिएर मच्चीमच्चीकन नृत्य गर्ने रूपसी रेखा थापा वर्तमान सिने जगत्की हिट हिरोनी हुन् । तिनको तेजस्वी भङ्गिमा, ओजस्वी मुस्कान र मनोहारी नृत्यबाट हिंसामुक्ति अभियानमा रुमानी रसको त वर्षा नै होला । अनि गायक ? अभियानलाई रागात्मक र लयात्मक तुल्याउन गायक त झक्की नै चाहियो । गहन चिन्तनपश्चात् कुमार बस्नेत र प्रकाश ओझालाई म रोज्छु । तत्पश्चात् रससंयोजनको कलाबारे कल्पिँदै म घोत्लिन्छु — हास्यरस यस अभियानको विशिष्ट अलङ्कार हो । हास्यरसको आकाशबाट स्मृतिको पर्दामा हठात् उदाउँछन् श्री मनोज गजुरेल । अनेकओली नेताका मुखाकृति, भङ्गिमा, ध्वनि, थेगो र वस्त्रको नक्कल गर्न हुनुसम्म निपुण छन् यी रौसे गजुरेल । यिनको सूक्ष्म नक्कल सक्कली कला हो कि नक्कली मलाई थाहा छैन । मलाई मतलब पनि छैन । यो क्षणभङ्गुर रामरमिता हो कि यसमा केही दिगो तत्त्व निहित छ, मलाई त्यो पनि थाहा छैन । मलाई पर्वाह पनि छैन । तर, म ठोकेर भन्छु — हिंसामुक्ति अभियानमा यी गजुरेलले निःसन्देह धुमधाम उमङ्ग र रङ्गीन तरङ्ग जगाउनेछन् । हेर्नेहरूका नजरमा नक्कल गरिने पात्र हो पनि र होइन पनिको दोसाँधमा पर्छ । यो हो र होइनको बिचमा जहाँ छिद्र हुन्छ, हो त्यहीँबाट निःसृत हुन्छ हाँसोको भुल्को ।
आयो चयन गर्ने पालो अब लटालट कमाउ एनजीओका विशालकाय विकासे बाबुको । यो विकासे बाबु हो हिंसामुक्ति अभियानको चोट्टिलो चटनी । गाला चमचम, चिन्तन कुटिल, जिब्रो वाचाल, खल्ती पुटुस्स । धनधान्यले परिपूर्ण उन्नत विकासेहरूका एकसे एक चित्र मेरा आँखासामु छम्छम् नाच्छन् । तिनमध्ये एक थान विकासेलाई टिपेर ट्याक्क इन्द्रधनुषको सन्जालमा सजाउँछु म । अभियानी इन्द्रधनुषको अन्तिम प्रखर रङ्गमा पर्छ प्रतिभा र विद्वताले घनीभूत प्राज्ञ । इन्द्रधनुषी रङ्गसंयोजनमा यस प्राज्ञको स्थान मृत श्री ५ का शिरको श्रीपेचतुल्य छ । मनको पन्तुरोमा धुइँपत्ताल खोजेर म भनेजस्तो प्राज्ञ छान्छु । बस्, अबलाई भयो हिंसामुक्ति अभियानको पात्र चयन सर्वाङ्ग परिपूर्ण ।
अभिनय, गायन, नृत्य, परिहास, कूटकला, चटनी, प्राज्ञिक प्रवचन आदिको सुन्दर समागमबाट हिंसामुक्ति अभियान सरस, मनोरञ्जक र आल्हादक बन्छ । श्रोता–दर्शक चारै दिशाबाट कमिलाको गोलोसरी ओइरिन्छन् । त्यो ओइराइलाई हिंसामुक्त जीवनप्रति लोकको तृष्णा एवं अगाध आस्था भनिदिए भएकै छ । म भन्छु । हाहा होहो, वान्स मोर, करतल ध्वनि, फोटो सेसन, मुस्कान आदान–प्रदान र पारस्परिक बखानले अभियानलाई रङ्गीन, प्रीतिकर र जाज्वल्यमान् तुल्याउँछ । दमदार दृष्टान्त म पित्तुङ अन्तरेका प्रातःस्मरणीय गुरुजीगणबाट जगत्छेउ प्रस्तुत भएकै छ ।
सामाजिक संरचना बनेको छ हिंसाको मुहान् । राजनीतिमा हिंसा छ । अर्थनीतिमा हिंसा छ । संस्कृतिमा हिंसा छ । धर्ममा हिंसा छ । हिंसाको बेलगाम मारमा परी समस्त समाज आँसु, चीत्कार र कोलाहलको कालीदहमा डुब्दो छ ।
हिंसामुक्ति अभियानमा जे जस्ता अनमोल प्रतिभा सामेल हुन्छन्, यथार्थमा ती विचावाहक होइनन् । विचार भनेको मस्तिष्कको बोझ हो जसमा अपार दुःख छ । अतः यस अभियानमा जो सरिक हुन्छन्, ती नवीन उत्तेजना र नूतन मनोरञ्जनका लागि सरिक हुन्छन् । भनुँ भने, हिंसामुक्ति अभियानको मौलिक तत्त्व नै कर्ताको यथेष्ट मनोरञ्जन हो । मनोरञ्जनका माध्यमले गरिने उदात्त लक्ष्यतर्पmको आनन्दमय यात्रा हो यो । यात्रा गजब छ । लक्ष्य छ त्यति महान्, तर जोखिम केहीको छैन । यात्रीहरूको सवारी वातानुकुलित वाहनबाट वा गगनमार्गी लौहचरीबाट चल्छ । पैतालामा एउटासम्म पानीफोको उठ्दैन । न त झर्छ नाकको एउटासम्म रौँ नै । उसो त एक अणु बराबर छाला खोस्सिने पनि त होइन । यो मस्ती अभियानमा थकान, चिन्ता र तनावलाई लेस मात्र पनि स्थान छैन । यसका लाभहरू भने कति कति ! उदारता साथ क्यामेरालाई मुहार टक््रयाउन पाइन्छ । कर्ताको छविमा आभामण्डल थपिन्छ । उसको कीर्ति बढ्छ । आत्मगौरवको ऊर्जाद्वारा उसको आयु लम्बिन्छ । अनि अराजक कोलाहलबिच भोलि बन्न सक्ने गैरराजनीतिक फौजी सरकारको प्रधानमन्त्री, मन्त्री, राजदूत आदि बन्ने सुवर्ण अवसरको दैलो घुरुक्क उघ्रिन्छ । हृदयमा सुन्दर सपना कोरल्दै मस्ती मुद्रामा म कल्पिन्छु, हिंसामुक्ति अभियानका माउ अन्तरेहरू प्रधानमन्त्री र मन्त्री बने म पाठो अन्तरे पनि त केही बनूँला । आखिर म पनि त मत्र्यलोकको काम, क्रोध, लोभ, मोहयुक्त प्राणी हुँ । आकाङ्क्षा मेरा पनि छन् । कमसे कम फौजी ध्वजामुनि विना विभागीय सहायक मन्त्री म कसो नबनुला ? जब यो भव्य सपना मेरो मथिङ्गलमा फुर्छ, म त्यसैत्यसै मखलेल हुन्छु । आखिर जोगी हुनलाई हिंसामुक्ति अभियानमा लागिया होइन क्यारे !
म पिँढीमै बसेको छु । मेरा खुट्टा उपर्खुट्टीकै पोजमा छन् । आनन्दी चिन्तनको लयमा मेरो उपरवाले खुट्टो सुस्त गतिमा हल्लिँदो छ । म अब हिंसामुक्ति अभियानको वित्तीय बन्दोबस्तउपर विचार गर्न थाल्छु । र, जगत्लाई आफ्नो प्रति रूपमा ढाल्न आतुर विचारवान्, धनवान् एवं करुणामयी दातृ निकायका दाताहरूसमक्ष सभक्ति निवेदन पेस गर्छु । यी उदारमना दाता हुन्, युएसएआईडी, डीएफआईडी, डेनिडा आदि । आगन्तुक याचकलाई रकम दान गर्न यी दाताश्री तँछाडमछाड गर्छन् । रकम दान यिनको, हिंसामुक्ति अभियानको मार्गदर्शन पनि यिनैको । सर, अलिकता निहुरिएर हात मल्दै र पैसो थाप्दै नौनीमय वचनमा म निवेदन गर्छु — सर, मेरो हिंसामुक्ति अभियानमा मुलुकका हर क्षेत्रका अप्रतिम प्रतिभाहरू लाम लागेका छन् । यो सेवक गगनमण्डलमा हजुरको कीर्तिध्वजा फहराउन सततः प्रतिबद्ध, कटिबद्ध एवम् समर्पित छ । प्रत्युत्तरमा आर्शीवादको भाकामा दाताको अमृत वचन इथर तरङ्गमा प्रवाहित हुन्छ— वत्स ! म प्रशन्न छु । सदा सर्वदा यस्तै रहनू ।
पोटिलो खल्ती मुसार्दै र आनन्दसागरमा डुबुल्की मार्दै अब म गोप्य व्यूहरचना गर्छु । मह काढ्नेले हात त चाट्छ नै । विनायत्न हातलागी भएको केही रकम म हिंसामुक्ति अभियानमा खर्च गर्छु । र केही रकम म सुटुक्क खल्तीकरण गर्छु । सदैव गरिने तर भन्न नमिल्ने गोप्य धन्दा यो हो । बस्, अन्तरेका दुवै हातमा सुस्वादु लड्डु ! आखिर यो भावीले छैटीमा लच्छिनको ललाटमा लेखिदिएको सौभाग्यको फल न हो ।
मेरो चिन्तन गतिमान् छ । मेरो देह पिँढीमै स्थिर छ । स्थितप्रज्ञ मुद्रामा म आँखा चिम्लिन्छु । मेरो अन्तर्दृष्टिको डबलीमा हिंसामुक्ति अभियानको रमितलाग्दो तामझाम आरम्भ हुन्छ । मेरो अभियान तल धरामा सानदार गाडीमा गुड्दो छ, माथि गगनमा आरामदायी वायुयानमा उड्दो छ । ल हेर, अभियानी सभामा सहस्र नरनारी जुटिसके । अहो ! कत्रो उमङ्ग, कत्रो हर्षोल्लास, मुक्तिदायी अभियान टोलीको कत्रो स्वागत र जयजयकार ! मानौँ हिंसामुक्तिजस्तो पुनीत कर्ममा समर्पित सुकोमल देहयुक्त टोलीलाई सारा लोकले समवेत स्वरमा भनिरहेछ— त्वमेव माता च पिता त्वमेव !
हिंसामुक्ति अभियानको प्रभाव जादुगरी पाराले पैmलिँदो छ । ऐतिहासिक कालदेखि हिंसापीडित दलित र महिला, थारु र मुसलमान, मधेसी र जनजाति, बाल, वृद्ध र वनिता सबका सब तीव्र गतिमा हिंसामुक्त हुँदा छन् । मुक्तिदाताको यशोगान गर्दै ती अन्तहीन उत्सवी जुलुसमा निस्किरहेछन् । म सोच्छु, सके असीम अनुग्रहको भावनाले पग्लिएर नतमस्तक भई तिनले अब चोकचोकमा हिंसामुक्ति अभियानका वरिष्ठ अन्तरेहरूका सुवर्णजडित सालिक बनाउलान् । अगुवा अन्तरेहरूका सालिक पूर्ण कदका होलान् रे लौ । म पछुवा अन्तरेको पनि त कमसेकम अर्धकदको सालिक बन्ला । गम खाँदाखाँदै अमरत्व लेपन गरिएको मेरो सालिक मेरो अन्तर्दृष्टिसामु उदाउँछ । आफ्नो सालिक अपलक हेर्छु, र आनन्दको चुचुरोमा उभिएर म आत्म–संवाद गर्छु— कनिष्ट अन्तरे, तेरो एकबारबो जुनी गज्जबले सार्थक भयो !
लोकका अज्ञानीहरू कुरीकुरी गर्दै भन्लान्— हेर अन्तरे, तेरो हिंसामुक्ति अभियानको नाकैसामु हिंसाको व्याधि व्याप्त छ । सञ्चार अभियन्ता जमिम शाहमाथि हिंसा थोपरियो । लगत्तै अर्का सञ्चार उद्यमी अरुण सिंहानियाको ज्यान लिइयो । जनजीवनका हर क्षेत्रमा हिंसा दिन दुगुना रात चौगुना बढ्दो छ । राज्य संरचनामै हिंसाले बास गरेको छ । सामाजिक संरचना बनेको छ हिंसाको मुहान् । राजनीतिमा हिंसा छ । अर्थनीतिमा हिंसा छ । संस्कृतिमा हिंसा छ । धर्ममा हिंसा छ । हिंसाको बेलगाम मारमा परी समस्त समाज आँसु, चीत्कार र कोलाहलको कालीदहमा डुब्दो छ । खै, के खालो सार्यो तेरो स्वाँगे हिंसामुक्ति अभियानले ? प्रत्युत्तरमा म मिनी अन्तरे प्रतिवाद गछु — मौलिक र नवीन चिन्तन समाजले न तत्काल बुझ्छ न त सजिलै अङ्गिकार गर्छ । बाँचेर त हेर, एक दिन यस्तो समय आउने छ जब चराचर जगत्ले श्रद्धानत भई यो हिंसामुक्ति अभियानको मुक्त कण्ठले प्रशंसा गर्नेछ । र, महान् अन्तरेहरूको सर्वव्यापी ख्यातिको डरले बुद्ध, मार्क्स र गान्धी मानव स्मृतिबाट सदाका लागि विलुप्त हुनेछन् । बस्, यो हो कुरो !
०००
(छोराहरूमध्ये अन्तरे हुन कमसेकम ६ दाजुभाइ हुनुपर्छ । समयले अन्तरेको जायजन्म निषेध गर्यो होला भन्ठानेर मैले परिहासको अर्थमा अन्तरेको प्रयोग गरेको थिएँ । एक अस्तित्ववान् अन्तरेले गुनासो गरेछन्— ‘यी बूढाले मलाई भेटे भने ठाडै कुट्ने पो हुन् कि !’ माफ पाऊँ है अस्तित्ववान् अन्तरे ब्रो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते