शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
संस्मरण–निबन्ध

जदौको स्वरमा मरिहत्ते श्रोता–संसार

शनिबार, १० फागुन २०८१, १३ : ३०
शनिबार, १० फागुन २०८१

जदौ दाहाल यज्ञनिधिको ‘मन र मुटुको प्यारो आवाज’ शब्दको अर्थ गायकले गाएको गीतको सुरमै सीमित थिएन । त्यो सबैको जीवनसँगै जोडिएको झङ्कार थियो । घरबाहिर काम गर्दै रेडियोमा उनको आवाज सुनियो भने एकछिन कामको थकाइ हराउँथ्यो । सानातिना झगडा बिर्सेर मानिस उनको कुरामा ध्यान दिन्थे । 

यज्ञनिधि दाहालको त्यो आवाज रेडियोको प्रविधिबाट बनेका यन्त्रहरूको मात्र हुँदैनथ्यो । त्यो आवाज, त्यो भाषा र त्यो शैली एउटा समय, एउटा कालखण्ड र एउटा स्वाभिमानी नेपालीको प्रतिविम्ब थियो । उनी हाम्रो रेडियो सुन्ने आदतको अभिन्न अङ्ग मात्र नभएर हाम्रो संस्कृति र साहित्यको पनि एक अमूल्य सम्पत्ति थिए । त्यसैले जदौको स्वरमा मरिहत्ते स्रोता–संसारको भीड सहरदेखि गाउँसम्म बग्रेल्ती भेटिन्थे ।

उनको मिठो झर्रो नेपाली र बेजोड आवाज, ती पुराना रेडियो कार्यक्रमहरू सम्झिँदा अझै पनि हृदयभरि स्मृतिका झिल्काहरू बल्छन् । जदौ दाहालका ती शब्दहरू आज पनि कानमा गुञ्जिन्छन्, जस्तै कुनै गहिरो नदीले किनाराहरू छुन खोजेझैँ । यो आवाज समयको त्यो हिस्सा हो, जसले हाम्रो जीवनलाई मात्र होइन, हाम्रो संस्कृति र समाजलाई पनि आकार दिएको छ ।  

उनी भन्थे, ‘लेखनमा सौन्दर्य, सुख, खुसी र विलासिता मात्र होइन, समाजका वेदनाका स्वरहरू पनि समेटिनुपर्छ । जातभातको सोचबाट माथि उठ्नुपर्छ । मानवीय हार्दिकतामा मिलेर बाँच्नुपर्छ । कलम भनेको अभिव्यक्तिको साधन होइन, परिवर्तनको शक्ति हो र हुनुपर्छ ।’

ज्ञनिधि एउटा युग, एउटा आवाज, अनि नेपाली स्रोता–संसारको अमर प्रतीक । उनका हरेक स्मृतिहरूमा मेरो सम्मान र कृतज्ञता निवेदित छ । यो यात्रा समाप्त भएको छैन; यो त एउटा नयाँ सुरुवात हो, जहाँ उनको आवाज सधैँ जीवित रहनेछ ।

लेखन एक साधना हो, एक दर्पण जसले समाजको वास्तविकता देखाउँछ । यस यात्रामा मलाई प्रेरणा र ऊर्जा दिने व्यक्तित्व थिए, दाहाल यज्ञनिधि । उनको शब्द र विचारमा मात्र होइन, जीवन–दर्शनमा पनि गहिरो अर्थ झल्किन्थ्यो । 

उनी भन्थे, ‘लेखनमा सौन्दर्य, सुख, खुसी र विलासिता मात्र होइन, समाजका वेदनाका स्वरहरू पनि समेटिनुपर्छ । जातभातको सोचबाट माथि उठ्नुपर्छ । मानवीय हार्दिकतामा मिलेर बाँच्नुपर्छ । कलम भनेको अभिव्यक्तिको साधन होइन, परिवर्तनको शक्ति हो र हुनुपर्छ ।’ 

उनको यो भनाइ सधैँ मेरो मनमा गुञ्जिरहेको हुन्छ । उनले सधैँ मलाई आँसुका कथा लेख्न सिकाए । पीडाका व्यथाहरू व्यक्त गर्न लगाए । खुसीको खोजीमा भौँतारिरहेका मानिसको खुसी भेट्नुअघिको दुःखका कैरन लेख्न मलाई प्रेरित गरायो । 

उनी भन्थे, ‘हामीले समाजका आवाजविहीनहरूको प्रतिनिधित्व गर्नुपर्छ । लेखनले उनीहरूको दुःखलाई प्रकट गर्नुपर्छ र आशाका दियो बाल्नुपर्छ । शब्दहरूले सान्त्वना मात्र होइन, नयाँ उत्साह पनि दिनुपर्छ ।’ 

यही भावनाले मलाई रेडियो नेपालको लोकप्रिय कार्यक्रम ‘साहित्य संसार’का लागि लेख्न प्रेरित गर्‍यो । हरेकपटक नयाँ विषयवस्तुका लागि उनले मलाई चुनौतीका साथ प्रेरित गरिरहे । लेखनका विषय दिएर समाजका तल्लो वर्ग र निम्सरो पक्षलाई शब्दमा उतार्न जदौ दाहालले मलाई सधैँ उक्साइरहे । मैले पनि उनकै आग्रहमा धेरै त्यस्ता विषयमा आफूलाई प्रेरित गर्दै गएँ, जहाँ जीवनका अधिकांश समय खुसी खोसिएका जिन्दगीका पाटाहरू हुन्थे । कहिल्यै मीठो निद्रा नपाएका र आधा पेटमा एकसरो लुगाले हिउँद कटाएका जीवनका पीडाहरूमाथि मैले लेखेँ । 

उनका प्रेरणा र सुझावका शब्दमा सदैव नवीनता र गहिराइ हुन्थ्यो । उनको सुझावले मलाई लेखनको विविध आयामहरूको अन्वेषण गर्न सहयोग गर्‍यो । उनले मेरा लेखनलाई जीवन्त बनाउन मात्र होइन, समाजका संवेदनशील पक्षहरू उजागर गर्न पनि प्रेरित गरिरह्यो । मैले लेखेका तिनै भावनाहरू रेडियो तरङका माध्यम भएर सर्वत्र पुग्थ्यो ।

दाहाल दाइले एक दिन मलाई भनेका थिए, ‘कहिलेकाहीँ हामी दुःखको छायामा हराउँछौँ । तर लेखकको काम भनेको त्यहाँबाट उज्यालोको झिल्का खोज्नु हो । जसरी बादलको थुप्रोमाथि चाँदीको चम्किलो घेरा रहन्छ, त्यसरी नै तिमीले हरेक पीडाभित्र पनि आशाको उज्यालो संकेत खोज्नुपर्छ ।’ उनका यी शब्दले मेरो लेखनको मार्गदर्शन मात्र गरेन, मेरो दृष्टिकोण नै परिवर्तन गरिदिएको थियो । 

यज्ञनिधिको सम्झनाले मलाई आज पनि ऊर्जा दिन्छ । उनले मलाई सिकाएका थिए, ‘लेखन शब्दहरूको शृङ्खला होइन, यो एक जीवन हो ।’

हामी पोखराको एउटा ग्रामीण क्षेत्रको यात्रामा थियौँ । दाहालका सहपाठी प्रा.डा. मोतीलाल पराजुलीको निम्तोमा पराजुलीको गाउँ पुगेका थियौँ । दाहालको उपस्थितिले गाउँ नै जागेको जस्तो लाग्थ्यो । मानौँ, उनी गाउँका आफ्नै ‘साहित्य राजा’ थिए ।

लेख्न थालेपछि मैले उनका ती शिक्षालाई आफ्नो लेखनमा उतार्ने प्रयास गरिरहेँ । उनको मार्गदर्शनले मेरा शब्दहरूमा आत्मा थपिदिएको छ, पीडामा पनि आशाको किरण देख्ने आँखा दिएको छ । 

उनी मेरो प्रेरणा थिए । उनी मेरो गुरु थिए । उनका विचारहरू, शिक्षा र उनले देखाएको यात्राले मलाई एउटा लेखक मात्र होइन, एक जिम्मेवार मानव बन्न सिकायो । आज जब कलम चलाउँछु, मेरो लेखनमा उनको छाया स्पष्ट देखिन्छ । यो मेरा लागि गौरवको कुरा हो र उनीप्रति मेरो अनन्त सम्मानको प्रतीक पनि हो । 

जीवनका मोडहरूमा कहिलेकाहीँ यस्ता प्रेरणाका किरणहरू भेटिन्छन्, जसले हाम्रो जीवनको दिशा बदलिदिन्छन् । त्यस्तै एक अद्भुत किरण थिए, दाहाल यज्ञनिधि । उनले मलाई सल्लाह दिएको त्यो क्षण, जुन अझै पनि मेरो स्मृतिको पानामा गाढा अक्षरले लेखिएको छ, एउटा दिशानिर्देशक प्रकाश–स्तम्भझैँ छ । 

मलाई भेट्नासाथ उनी भन्थे, ‘तिमीले अरूले नलेखेकार नदेखेका विषयमा कलम चलाउनुपर्छ ।’

त्यसबेला म लेख्न त रुचाउँथेँ तर मेरो लेखाइमा त्यस्तो अद्वितीय प्रस्तुति थिएन । उनका ती शब्दले मलाई अन्धकारमा दियो बालिदिएको अनुभव भयो । उनकै प्रेरणाले मैले फरक विषयवस्तु चयन गर्न थालेँ । मेरा ती लेखाइहरूले पाठकको मन छुन थाल्यो । तर मेरो खुसीको सीमा त्यतिबेला नाघ्यो, जब उनले मेरो लेखाइलाई रेडियो नेपालमा प्रसारण गर्न प्राथमिकतामा राख्न थाले । 

त्यो क्षण मेरो लेखन यात्राका लागि पनि एक ऐतिहासिक पल थियो । उनको कर्णप्रिय स्वरमा मेरा शब्दहरूले जीवन्तता पाए । उनका स्वरमा यस्तो जादु थियो, जुन शब्दमा सीमित थिएन; प्रत्येक उच्चारणले भावना व्यक्त गथ्र्यो । उनले मेरा लेखका भावनालाई त्यस्तै जीवन्त बनाउँदै प्रस्तुत गरे । त्यसले श्रोताहरूको मनमा गहिरो छाप छाड्थ्यो । 

उनले बोलेका शब्दहरू श्रवणमा सीमित रहेनन् । ती शब्दहरूले स्रोताहरूको हृदयको गहिराइमा घर बनाए । उनको प्रस्तुतिको शैलीले मेरो लेखनको मूल्य अझै बढाइदियो । 

आज पनि उनको त्यो प्रेरणा र उनको स्वरको जादु सम्झिँदा मेरो मनमा गर्वको अनुभूति हुन्छ । उनले मलाई लेख्न मात्र होइन, सिर्जनशीलताको नयाँ आयाम देखाउन सिकाए । उनी मेरो जीवनको एउटा यस्तो मार्गदर्शक थिए, जसले मलाई मेरो लेखन–यात्राको शिखरतर्फ प्रेरित गरिरहन्छ । 

यस्तो लाग्छ, उनका ती शब्द र स्वरहरू एउटा अमूल्य सम्पदा हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । उनको त्यो सरल सल्लाह थियो, ‘नलेखिएका र नदेखिएका विषयमा कलम चलाऊ ।’ जसालाई म आज पछ्याउने कोसिस गरिरहेछु । 

दाहाल यज्ञनिधिका सुझावहरू मेरा लागि दीपस्तम्भ बने । उनी सल्लाह दिँदै भन्थे– ‘ज्ञानु बाबु, तिमीले अब निम्सरा ज्यानको कथा लेख । उनीहरूका जीवनमा छोपिएर रहेका, दबाइएर बसेका संघर्ष उजागर गर ।’ 

मैले तत्कालै निम्सरा ज्यानका बारेमा खोजी सुरु गरेँ । ‘बुहारी बुहार्तनका कथाहरू’लाई निबन्धमा उतारेँ । ‘ऐभाँत खोसिएका आमाहरू’ निबन्ध पनि त्यो बेला निकै चर्चित र रेडियोबाट धेरैपटक प्रसारण भएको आलेखमध्ये एउटा हो । 

मैले उनीहरूका रगत–पसिनाले बनेका संघर्षहरूलाई शब्दमा उतार्दै एउटा आलेख तयार गरेँ । त्यो आलेख रेडियोबाट प्रसारण भएको थियो । 

यसपछि मैले समाजबाट उपेक्षित र अपहेलित महिलाहरूको वेदनालाई कलममा समेट्ने जमर्को गरेँ । त्यो लेख पढेर धेरैले मलाई भनेका थिए, ‘तिमीले यस्तो लेख्दा धेरै कुरा उजागर गरिदियौ । हाम्रो आँखामा राखिएको पर्दा हटायौ ।’ ममा थप उत्साह जाग्यो । 

दाहालदाइले फेरि नयाँ विषय प्रस्ताव गरे, ‘जीवनका पाटा र पात्रहरू’ । उनले सुझाए, ‘तिमी समाजका जातीय छुवाछुत, धनीमानीका मनोमानी, गरिब वर्ग र तल्लो जातप्रतिको समाजको दृष्टिकोणमाथि लेख । यी विषयहरू निकै गम्भीर छन् । तिम्रो कलमले तिनलाई न्याय गर्न सक्छ ।’ 

मैले यो विषयलाई गम्भीरतापूर्वक लिएँ । अन्ततः मेरा निबन्धका पङ्क्तिहरू, अनुभूतिका अक्षरहरू समाजको ऐनाजस्तो बन्न थाले । 

जातीय भेदभावले समाजलाई कति बिझाएको छ, धनी वर्गको मनोमानीले गरिब वर्गलाई कति पिल्साएको छ भन्ने मैले आफ्ना शब्दहरूमा उतार्ने प्रयास गरेँ । यी निबन्धले श्रोताका मन छुन सक्यो । धेरैले भने, ‘यो त हाम्रो समाजको वास्तविकता हो, जसलाई हामी बेवास्ता गर्दै आएका थियौँ ।’ 

यी सबै लेखन यात्रामा मैले बुझेँ, निम्सरा ज्यानहरू मात्र होइन, हाम्रो समाजका अनेक पात्रहरूले आफ्ना कथा सुनाउन चाहन्छन् । म तिनै कथा समेट्ने एउटा माध्यम मात्र हुँ । जीवनका यी पाटा र पात्रहरूलाई लेख्न पाउनु मेरो सौभाग्य हो । 

दाहाल यज्ञनिधि रेडियोमा मात्र प्रिय थिएनन् । उनका शब्दहरू, बोल्ने तरिका, अनि विशेष गरी ‘जदौ’को त्यस मिठो स्वरले सुनेर जति आत्मीयता जन्मन्थ्यो, प्रत्यक्ष भेट्दा त्यो भावनाको कुनै सिमाना रहँदैनथ्यो । २०५७ सालतिरको कुरा हो । म उनै जदौदाइसँग पोखरा गएको थिएँ । मैले फेरि अर्कोचोटि त्यहाँ जदौका स्वरमा मरिहत्ते श्रोता–संसारको प्रिय अनुहार देखेँ । गाउँ–गाउँमा रेडियोको माध्यमबाट उनको स्वरमा साहित्य संसारको स्वाद चाखेका मानिसहरू उनलाई प्रत्यक्ष भेट्न आतुर थिए । 

हामी पोखराको एउटा ग्रामीण क्षेत्रको यात्रामा थियौँ । दाहालका सहपाठी प्रा.डा. मोतीलाल पराजुलीको निम्तोमा पराजुलीको गाउँ पुगेका थियौँ । दाहालको उपस्थितिले गाउँ नै जागेको जस्तो लाग्थ्यो । मानौँ, उनी गाउँका आफ्नै ‘साहित्य राजा’ थिए । त्यहाँका मानिसहरू उनलाई देख्न मात्र होइन, सुन्न र नजिकबाट भेट्न आउने गर्थे । 

म त्यतिबेला दङ्ग परेँ । युवापुस्ताको कुरा छाडौँ, वयोवृद्धहरू समेत दाहाल यज्ञनिधिको खुट्टामा ढोग्न ओइरिन्थे । उनीहरू भन्थे, ‘तपाईंको आवाज र जदौ शब्दले हाम्रो मन छोएको छ । रेडियोमा तपाईंसँगै बोल्न पाएको अनुभव गर्‍यौँ ।’ 

जदौ दाहालको स्वरमा जुन मिठास थियो, त्यसले मान्छेहरूलाई बाँध्न सक्थ्यो । उनका शब्दहरू साहित्यका मात्र होइनन्, जीवनका थिए । उनलाई नजिकबाट सङ्गत गर्न पाएको त्यो अनुभव आज पनि मेरो स्मृतिमा गाढा भएर बसेको छ । 

‘साहित्य संसार’ले नेपालका कैयौँ गाउँहरूलाई साहित्यको संसारमा तानेको थियो । त्यो संसारको प्रवेशद्वार ‘जदौ’ थियो । दाहाल यज्ञनिधि त्यस प्रवेशद्वारका सर्जक र संरक्षक दुवै थिए । उनलाई प्रत्यक्ष भेट्न पाउँदा गाउँलेहरूको अनुहारमा देखिएको हर्ष र श्रद्धा मैले आजसम्म बिर्सन सकेको छैन । 

रेडियोको आवाज गाउँ–गाउँमा पुग्न सक्छ तर त्यो आवाजको आत्मीयता भने दाहाल यज्ञनिधि जस्ता व्यक्तिहरूले मात्रै दिन सक्छन् । उनको ‘जदौ’मा जोडिएको आत्मीयता आज पनि मेरो मनमा साहित्यको मिठास बनेर बाँचेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप