आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
समकालीन कथा चर्चा

नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण

शनिबार, १० फागुन २०८१, १२ : ०७
शनिबार, १० फागुन २०८१

(‘समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम’ शीर्षकको प्रा.डा. गोपीन्द्र पौडेलको शोधप्रबन्धलाई हामीले अघिल्लो सातादेखि क्रमशः प्रकाशन गर्दै आएका छौँ ।) 

२०५२ फागुन १ गतेबाट जनयुद्ध प्रारम्भ भएपछि घटनाक्रम अघि बढ्दै जाँदा र एकपछि अर्को त्याग र वीरताका कीर्तिमानी गाथा निर्माण हुँदै जाँदा प्रत्यक्ष रूपमा जनयुद्धमा संलग्न कथास्रष्टा, जनयुद्धप्रति नैतिक/वैचारिक समर्थन जनाउने स्रष्टा तथा जनयुद्धप्रति समर्थन त जनाउन नसक्ने तर सरकारी श्वेतआतङ्कप्रति विमति र विरोधका स्वर सम्प्रेषण गर्ने सष्टा जनयुद्धका समस्त घटनाक्रमबाट प्रभावित भए । 

आमूल परिवर्तनका पक्षधर निष्ठावान् स्रष्टाहरू वर्गसङ्घर्षको त्यस प्रक्रियाबाट असम्पृक्त रहन सम्भव थिएन । त्यसो त कतिपय प्रगतिशील तथा प्रगतिवादी भनिने स्रष्टाहरू (खासगरी प्रदीप नेपाल, नारायण ढकाल, प्रदीप ज्ञवाली, पुण्य खरेल आदि)ले जनयुद्धद्वारा सिर्जित नयाँ यथार्थको विद्रूपीकरण पनि गरे । नयाँ यथार्थको विद्रूपीकरण गर्नेमा प्रदीप नेपाल अग्र पङ्क्तिमा पर्छन् । यस सन्दर्भमा  उनको ‘रेलिमाई तामाङ’  शीर्षकको कथा एउटा कुरूप दृष्टयन्त हो ।

यहाँ जनयुद्धको प्रतिविम्बन भएका कथाको सर्वेक्षण प्रस्तुत गर्दा सङ्ग्रह वा सामूहिक सङ्कलनलाई मात्र आधार बनाइएको छ । यद्यपि पत्रपत्रिकामा प्रकाशित कथालाई पनि सर्वेक्षणका क्रममा समावेश गर्नुपर्ने थियो, त्यो सम्भव भएन, सम्भव नहुनु यसको सीमा हो । यहाँ सम्पूर्णतः जनयुद्धको प्रतिविम्बन भएका कथासङ्ग्रहका साथै आंशिक रूपमा जनयुद्धको प्रतिविम्बन भएका सङ्ग्रहलाई सम्बन्धित स्रष्टाको पहिलो क्यासङ्ग्रह प्रकाशित भएको मितिको कालक्रममा राखिएको छ ।

कथाक्रम अनुसार ऋषिराज बरालका ‘वनमान्छेको कथा’ (२०५४), ‘सैन्य उपहार’ (२०५८), ‘पैयुँ फुल्न थालेपछि’ (२०६३), ऋषिराज बरालका प्रतिनिधि कथाहरू (२०६७) र ‘बर्की नम्बर १३९९९’ (२०७१), घनश्याम ढकालका आजको महाभारत (२०५५) र ‘सहिदको सालिक’ (२०६६), अन्जान विरही (बुद्धिबहादुर श्रेष्ठ) को अन्जान विरहीका कथाहरू (२०५५, दो.स., २०७९), गङ्गा श्रेष्ठको ‘महासमरका यात्रीहरू’ (२०५५), रोहित दाहालका ‘स्पातले बनेका मान्छेहरू’ (२०५६), ‘पैतालाले थिचेको देवता’ (२०७३) र ‘धरातलबाट उठेर हेर्दा’ (२०७८), दिल साहनीको ‘क्यान्टोनमेन्ट’ (२०६७), नवीन विभासका ‘आधा बाटो हिँडेपछि’ (२०५७) र ‘रोल्पा सुइना’ (२०७५), सीपी गजुरेलका प्रतिरोध (२०६०) र झुल्कँदो घाम (२०७३), मातृका पोखरेलका ‘संत्रस्त आँखाहरू’ (२०६१) र घाम झुल्किनुअघि (२०६७), अशोक सुवेदीका ‘नयाँ बस्ती’ (२०६२) र ‘मैले रोजेको बाटो’ (२०६२), पुण्य कार्कीका ‘मध्य रातमा’ (२०६२) र ‘जून, जने र जुनेली रात’ (२०७५), हरिहर खनालका ‘विघटन’ (२०६३), ‘युद्धको पीडा’ (२०७२) र ‘सहिदकी आमा’ (२०७५), झक्कुप्रसाद पुनको ‘अभ्यस्त सिपाही’ (२०६३), सरला रेग्मीका ‘चुँडाल्दै बन्धनहरू’ (२०६३) र ‘लाल विधवा’ (२०७९), कमल निओलका ‘नयाँ इतिहास’ (२०६३) र ‘भोको रात’ (२०६५), सरल सहयात्रीको ‘क्रान्तिका कथाहरू’ (२०६४), क्षितिज मगरको ‘सुनछहरीको ऐनामा’ (२०६५), ‘लेकाली खडका’ र अन्य सम्पा. ‘विद्रोहका आवाजहरू’ (२०६५), सौगात आचार्यको ‘सङ्कल्प यात्रा’ (२०६६), शशीकिरणको ‘फूलमति घर फर्कनै पाइन’ (२०६६), उदयबहादुर चलाउनेको ‘समरयात्रा’ (२०६७), हिरामणि दुःखीको ‘युद्धका कथाहरू’ (२०६८), रणेन्द्र बरालीको ‘दलितको दैलो’ (२०६८), रेशमप्रसाद चौलागाईको ‘दमन र प्रतिरोध’ (२०६८), भानु भण्डारीको ‘होलेरी’ (२०७६), केशव पुडासैनीको ‘भत्केको घर’ (२०७३) आदि झन्डै तीन दर्जन बढी कथा यस समयावधिमा प्रकाशित भएका छन् ।

कलात्मक आयामसम्बन्धी साक्ष्य विश्लेषण
जनयुद्धको प्रतिविम्बनका कलात्मक आयामलाई दुई कोणबाट बुझ्न वा अथ्र्याउन सकिन्छ । पहिलो जनयुद्धसँग सम्बन्धित यावत घटनाप्रसङ्गलाई विषयालम्बन बनाउँदा त्यसमा कथास्रष्टाको सचेत प्रयत्न के–कस्तो छ भन्ने हो । दोस्रो, कथाका उपकरणको विन्यास तथा तिनको कलात्मक निर्मिती के कसरी भएको छ र त्यसमा कथासष्टाको विधाचेत केकस्तो रहेको छ भन्ने हो । अर्थात् विषयको वरण गर्नु पनि कलात्मक कार्य हुनाले प्रतिपाद्य विषयलाई कथाकलाको संरचनामा ढालेर सुन्दर कथा रचना गर्नु पनि कलात्मक कार्य हो । यिनै दुई आधारमा टेकेर जनयुद्धको प्रतिविम्बन भएका कथाको साक्ष्य दृष्टान्त प्रस्तुत गर्न सकिन्छ ।

जनयुद्धको प्रतिविम्बन भएका सबै कथाको विश्लेषण सम्भव छैन । विश्लेष्य कथाको चयन पनि त्यति सहज छैन । प्रथमतः विषय प्रवृत्तिगत आधारमा कथाको वर्गीकरण गरेर तत्तत् प्रवृत्तिको प्रतिनिधित्व हुने गरी विश्लेष्य कथाको चयन गर्नु उपयुक्त देखिएको छ ।


जनयुद्धको प्रतिविम्बन भएका सबै कथाको विश्लेषण सम्भव छैन । विश्लेष्य कथाको चयन पनि त्यति सहज छैन । प्रथमतः विषय प्रवृत्तिगत आधारमा कथाको वर्गीकरण गरेर तत्तत् प्रवृत्तिको प्रतिनिधित्व हुने गरी विश्लेष्य कथाको चयन गर्नु उपयुक्त देखिएको छ । जनयुद्धको प्रतिविम्बन भएका कथालाई सामान्यतया (क) उदात्त विचार, युद्धकौशल, बलिदान तथा उन्मुक्तिको अभिव्यञ्जना दिने कथा, (ख) जनहत्या र राज्यआतङ्कको विरोध गरिएका कथा र (ग) विचलन, विखण्डन र पलायनप्रति चिन्ता र वितृष्णाभाव प्रस्तुत भएका कथा भनेर तीन वर्गमा वर्गीकरण गरिएको छ । 

यी तीन प्रवृत्तिको प्रतिनिधित्व हुनेगरी कथाको चयन गर्दा सक्दो सन्तुलन कायम गरिएको छ । त्यस्तै सकेसम्म सबैजसो कथास्रष्टाका कम्तीमा एकएकओटा कथाको प्रतिनिधित्व होस् भन्नेतर्फ पनि सजगता अपनाइएको छ । त्यसो गर्दा यहाँ जम्मा २५ ओटा कथाको कलात्मक आयामसम्बन्धी विश्लेषण गरिएको छ । कथाको विश्लेषणका क्रममा प्रसङ्गवश वैचारिक पक्षको चर्चा पनि भएको छ ।

क) उदात्त विचार, युद्धकौशल, बलिदान तथा उन्मुक्तिको अभिव्यञ्जना दिने कथामा कलात्मक आयाम
१) मैले उसको नाम स्वस्तिका राखिदिएँ
कथाकार ऋषिराज बरालद्वारा लिखित प्रस्तुत कथा उनको पैयुँ फुल्न थालेपछि कथासङ्ग्रहमा सङ्कलित छ । जनयुद्धका घटनाप्रक्रियाको सम्यक् प्रतिविम्बन गर्ने यस कथामा विचार र कथाशिल्पको सुन्दर समीकरण भएको छ । उदात्त चेत र समुचित परिवेशले मानिसलाई उन्मुक्तिका खातिर युद्धतर्फ डोर्‍याँउँछ भन्ने भाव सम्प्रेषण गर्ने प्रस्तुत कथाको शिल्प सज्जा पनि अत्यन्त सुन्दर रहेको छ । प्रतिविम्बात्मक कलाले ओतप्रोत यस कथामा पूर्ण कथानकयुक्त संरचना पाउन सकिन्छ ।

घटनाक्रमको विकास तात्क्षणिक ढाँचामा भएको यस कथाले सुरुदेखि नै पाठकमा कौतूहल वृ्रत्तिको निर्माण गर्दछ । ‘म’ पात्रले सेल्टर लिएको घरसँगै जोडिएको छिमेकी महिलाको घरपरिवारको सम्पर्कमा ‘म’ पात्र रहनुसँगै एकपछि अर्को उत्सुकता र जिज्ञासा पाठकमा जागृत हुन्छ । पार्टीकै जिम्मेवार साथीलाई दिएको झोला जलाएर खोल्सामा फालिएको भनिएकोमा नायिका स्वस्तिकाले उक्त झोला सुरक्षित रूपमा ‘म’ पात्रलाई दिनु, स्वस्तिकाले युद्धमोर्चामा सामेल हुने निर्णय लिनु र त्यसको जानकारी ‘म’ पात्रलाई दिनु, युद्धमोर्चामा सामेल भई फर्मेसनमा रहेकी नायिकाले ‘म’ पात्रलाई आफ्नो पार्टीनाम राखिदिन अनुरोध गर्नु जस्ता घटनाले पाठक एकपछि अर्को उत्सुकतामा डोरिन थाल्छ । 

आफ्ना दुईवटा मुटुका टुक्रा जेठा छोरो महेश (जो शाही सेनामा जागिरे छ र सक्दो आमाको भरणपोषण पनि गरेको छ) र कान्छो छोरो दीपक (जो उन्मुक्तिका खातिर जनमुक्ति सेनामा भर्ती भएको छ)लाई कहीँकतै केही नहोस् भन्ने चाहना आमाको हुनु स्वाभाविक थियो । युद्धको गति वेगमय थियो ।


‘म’ पात्रले नायिकाको नाम ‘स्वस्तिका’ राखिदिएपछि मात्र पाठकका जिज्ञासा शान्त हुन्छन् । पात्रका बिचको क्रियाव्यापार अत्यन्त शालीन र चुस्त प्रकृतिको छ जसले पाठकलाई पलपलमा पूर्वदीप्तितर्फ डोर्‍याउँछ । पात्रको अवस्थिति रहनसहन, जीवनशैलीअनुरूपको वस्तुगत परिवेश अनि पात्रमा व्यक्ताव्यक्त अवस्थामा रहेका मनोभावको प्रतिम्बन गर्ने मनोगत परिवेश पनि उत्तिकै सबल रहेको छ ।

यस कथाका सबैजसो पात्र जिज्ञासु छन्, भविष्य पछ्याउन आतुर छन् र तिनै पात्रले कथाकारद्वारा प्रतिपादित विचारलाई पाठकसम्म पुर्‍याउने सामथ्र्य राखेका छन् । ‘म’ पात्र स्वयम्मा अनेक जिज्ञासा र उत्सुकता छन्— छिमेकी तीन सदस्यीय महिला परिवारका बारेमा र विशेषतः बुहारी स्वस्तिका (पछि ‘म’ पात्रले राखेको पार्टीनाम)का बारेमा अनि ‘म’ पात्रबाट धेरै कुरा बुझ्नका लागि आमा र बुहारी दुबै उत्सुक छन् । यस कथाको ‘म’ पात्र कथावाचकको भूमिकामा रहेको सचेत पात्र हो भने स्वस्तिका र उसकी सासुआमा पनि सामान्य अवस्थाबाट सचेतोन्मुख पात्र हुन् । उत्तरोत्तर उदात्त विचारले परिष्कृत हुँदै क्रान्तिमा हेलिएकी स्वस्तिकाले शाही सेनाको जागिरे आफ्नो लोग्नेतिर सङ्केत गर्दै अब त्योसित मेरो युद्धमैदानमै भेट हुन्छ सर ! (पैयुँ फुल्न थालेपछि पृ. ५७) भन्ने दृढता व्यक्त गर्छे । 

स्थान दृश्य, परिवेश अनि विभिन्न स्थानमा मानिसको बसोबास भएको बाबियाचौर बारेको जानकारी समाख्याताबाट प्राप्त गर्न सकिन्छ भने बाँकी कुरा पात्रका बिचको भङ्गीपूर्ण संवाद अनि नाटकीय विकासबाट थाहा पाउन सकिन्छ । यस कथाका पात्र गतिशील छन् र क्रान्तिकारी विचारले ओतप्रोत छन् । कुतूहलता र संवाद नै यस्तो कडी हो जसले शङ्काका दृष्टिले हेरिने परिवारलाई क्रान्तिप्रति आस्था र उदात्त विचारले ओतप्रोत बनाएको छ ।

प्रथम पुरुष परिधीय दृष्टिविन्दुको प्रयोग भएको यस कथामा कथावाचकले आफ्नो कथा भनेको नभई विशेषतः स्वस्तिकाको कथा भनेको छ । त्यस परिवारका बारेको ‘म’ पात्रको उत्सुकता र अझ त्यसमा पनि छोरो सेनाको जागिरे भएका कारण ‘म’ पात्रले सेल्टर लिएको घरका कामरेडले “यो घर छ नि सर ठिक छैन ।” भन्नुले ‘म’ पात्रमा झनै जिज्ञासा पैदा गरेको छ । यसको अर्थ स्वस्तिका दृष्टिकेन्द्रीय पात्र हो । यसको, भाषा, अनुच्छेद योजना तथा रूपविन्यासगत सुगठन सुन्दर छ । कथा कथन सिप भङ्गीपूर्ण छ र यसले कलात्मक बान्की प्राप्त गरेको छ । क्रान्तिप्रति आस्था र उदात्त विचारको सम्प्रेषण गर्ने प्रस्तुत कथा कलात्मक बान्की र बुनौटका दृष्टिले स्तरीय एवं सुन्दर कथा हो ।

२) फलामे किल्ला
कथाकार घनश्याम ढकालद्वारा लेखिएको प्रस्तुत कथा सहिदको सालिक सङ्ग्रहमा सङ्कलित छ । माओवादी जनयुद्ध घनीभूत रूपमा अगि बढ्दै गर्दा रोल्पाको होलेरीमा सरकारी सेनाले माओवादी छापामारलाई घेरामा पारेको भनी सरकारी सञ्चार माध्यमबाट सनसनीपूर्ण बनाइएको समाचारलाई कथाकार ढकालले कथात्मक बान्की दिएका छन् । छापामार दस्ता भन्नु फलामे किल्ला हुनाले त्यति सजिलै सरकारी सेनाको घेरामा परेर पराजित हुनु सम्भव छैन भन्ने वैचारिक सन्देश यसले सम्प्रेषण गरेको छ । वस्तुतः युद्धजन्य विषय, माओवादी छापामार र सरकारी सेना आमनेसामने हुँदाको सनसनीपूर्ण घटना अनि त्यसलाई आनकातान बङ्याएर प्रस्तुत गर्ने सरकारी सञ्चार माध्यमको निकृष्ट शैलीलाई कलात्मक बान्की दिइएको यस कथामा कथाकार ढकालको प्रतिविम्बात्मक सिप पनि प्रस्तुत भएको छ । 

क्षीण आख्यानात्मक संरचना रहेको प्रस्तुत कथाको पृष्ठभूमिमा सरकारी समाचार सुन्ने अनि सकारात्मक/नकरात्मक टिप्पणि गर्ने सकडछाप पात्रको संवाद छ जसमा कुनै शृङ्खला तथा विचार व्यवस्था छैन । झण्डै तीन दिनसम्म यस्तै टिप्पणी र समाचार सुनेर अत्यन्त संवेदनशील बनेको ‘म’ पात्रलाई माओवादी नजिकको कुल्लीले ढाडस दिने प्रयत्न गर्छ । छापामार दस्ता सखाप पो हुने हो कि भन्ने चिन्ता र हुटहुटीले सताइएको ‘म’ पात्र हरिसामु उसको पुरानो साथी विकास टुप्लुकिनुसँगै कथाले नयाँ एवं सार्थक मोड लिन्छ । भीडका अनगिन्ती पात्रलाई छोडेर यस कथामा कथावाचक ‘म’ पात्र हरि, हरिको साथी विकास र माओवादीप्रति वैचारिक आस्था राख्ने कुल्ली तीन पात्र क्रियाव्यापारमा सरिक छन् । यी तीनैजना पात्रमा समान वर्ग विचार र चिन्तन देखिन्छ । 

यसमा ‘म’ पात्रमा आन्तरिक द्वन्द्व प्रशस्त देखिन्छ तर बाह्य द्वन्द्व भने शून्यप्राय छ । संवादात्मक क्रियाबाट यसको कथानक नाटकीय रूपमा अगि बढेको भए पनि वस्तुलाई परिपक्क बनाउने संयमको अभाव छ । सामान्यतः यसमा त्यति धेरै घटना घटित भएका छैनन् तर विकासको आगमनपछि कथाले नयाँ मोड लिएको छ । आन्तरिक परिधीय दृष्टिविन्दु रहेको यस कथाको दृष्टिकेन्द्रीय पात्र विकास हो जसले ‘म’ पात्रभित्रका जिज्ञासा र हुटहुटीलाई शान्त पार्ने काम गरेको छ । यस कथामा पात्र आफ्नो विवेकबाट नियन्त्रित हुनुभन्दा पनि कथाकारको बनिबनाउ धारणाबाट नियन्त्रित छन् आरम्भमा अनेकथरिका गुमनाम व्यक्तिका बिचको संवाद हुँदै कुल्ली र ‘म’ पात्र, अनि विकास र ‘म’ पात्रका बिचको संवादबाटै कथाको अन्त्य भएको हुँदा यसमा संम्वादात्मक शैलीको प्रयोग भएको छ । 

पोखिनुको हतारका कारण आकर्षक रूपविन्यासको अभाव यसमा खट्कने गर्छ । त्यसो त जेजस्तो प्रारूप यसमा निर्माण भएको छ त्यसलाई प्रभावकारी बनाउने विधि/पद्धतिको पनि अभाव छ । कथ्य विषयको वरण सुन्दर छ, त्यसलाई सुन्दर बान्की प्रदान गर्ने संयमको अभाव यसमा देखिन्छ । परिवेशको प्रत्यङ्कन ययोचित रूपमा हुन नसक्नुले पनि कथा अपेआकृत सुन्दर बन्न नसकेको हो । यसो भए तापनि विषयको प्रतिपादन अनि प्रतिपाद्य विषयलाई कथाकलाका माध्यमबाट सरल सम्प्रेष्य बनाउने प्रयत्न कथाकार ढकालले गरेका छन्, यो सह्रानीय पक्ष हो ।

३) प्रतिशोध
सहिद स्रष्टा अन्जान विरही (बुद्धिबहादुर श्रेष्ठ) द्वारा लिखित प्रस्तुत कथा अन्जान बिरहीका कथामा सङ्कलित छ । जनयुद्धको आम्भिक चरणमा लेखिएको यस कथाले आरम्भिक चरणका दमन र प्रतिरोधसँग सम्बन्धित घटनालाई कथाकलामा प्रतिविम्बन गरेको छ ।  बलजिते पुन र सर्वजित पुनजस्ता कुख्यात सुराकीले पुलिसको सहारा लिएर गाउँलेहरूलाई धम्क्याउने, यातना दिने र हत्यासमेत गर्ने घोर अमानवीय एवं आततायी क्रियालाई अन्जान विरहीले कलात्मक बान्की दिएका छन् । उदात्त चेतले ओतप्रोत भएका उत्पीडित जनहरू पुलिस प्रशासन र फटाहरूको दमनले तर्संदैनन् बरु प्रतिप्रशोधको ज्वालामा रूपान्तरित हुन्छन् भन्ने सन्देश यसमा सम्पे्रषण भएको छ । सुराकी र पुलिस प्रशासनद्वारा हत्या गरिएको पूर्णकी दुलहीले छोरी अमृतालाई उत्सर्गका निम्ति उत्प्रेरित गर्नुले त्यसको पुष्टि मिल्छ ।

पात्रका बिचको क्रियाव्यापार अनि कार्यकारण शृंखलामा विन्यस्त घटनाले यसको कथानकलाई गति प्रदान गरेका छन् । तात्क्षणिक ढाँचामा  गतिशील बनेको कथानकको विस्तार र विकास नाटकीय रूपमा भएको छ । माओवादी समर्थित युवाहरूलाई सिद्धयाउने उद्देश्यले गाउँमा छिरेका एमाले समर्थित बलजिते र सर्वजित पुनहरूले पुलिसको आडमा निरीह गाउँले पूर्णबहादुरको हत्या गर्नुले गाउँलेहरू थप आन्दोलित भएका छन्, त्याग र उत्सर्गको भावका साथ जुर्मुराएका छन् । यसमा निर्माण गरिएको कलात्मक प्रारूपका कारण यसका पात्रहरू आफ्नो भूमिकामा खरो उत्रिएका छन् र आफूलाई परिस्थितिअनुकूल रूपान्तरण गर्न तयार भएका छन् । पूर्णबहादुरले  अनेक यातनाका बिचमा पनि अविचलित भएर आशावादी विचार सम्प्रेषण गर्नु, सम्पूर्ण गाउँलेहरू बदला र उन्मुक्तिका निम्ति एक ढिक्का हुनु, अनि पूर्णकी दुलहीले छोरी अमृतालाई बदलाका निम्ति उत्प्रेरित गर्नुले यसको प्रारूपीकरण योजना तथा पात्रको भूमिका प्रभावशाली बनेको छ ।  

यसमा कथावाचकको भूमिका प्रभावकारी नभई पात्रको भूमिका र क्रियाशीलता निकै प्रभावकारी बनेको छ । वस्तुतः नाटकीय रूपमा अघि बढेको यसको कथानक विकासमा पात्रको स्वतन्त्र भूमिका बढी प्रभावी देखिन्छ । बाह्य वस्तुगत दृष्टिविन्दुको प्रयोग भएको यस कथाको दृष्टिकेन्द्रीय पात्र भने पूर्णबहादुर हो । घटनाको पूर्वापर प्रसङ्गमा परिवेशको प्रत्यङ्कन यसमा हुन सकेको छैन । चरम यातनाले घायल भएको पूर्णबहादुर बिहानीपख बौरिएर प्राकृतिक सौन्दर्यको उदात्त दृष्टान्त प्रस्तुत गर्नुबाहेक कथामा अन्यत्र त्यस्तो वर्णन कतै देखिन्न बरु पात्रका बिचको मानसिक क्रियाको सन्चार भने भएको छ । कथालाई सुन्दर बनाउने धेयभन्दा पनि सामान्य प्रकृतिको निर्वाहमुखी रूपविन्यास यसमा देखिन्छ । कथाले संवरण गर्ने भाव, विचार तथा सन्देशअनुरूपको कलात्मक बान्की यस कथाले प्राप्त गरेको छ । भाषिक विन्यासमा आलाङ्कारिकता तथा विम्बात्मक प्रस्तुति भन्दा पनि सामान्यतया सरल, सौम्य एवं रागात्मक भाषाको प्रयुक्ति यसमा पाउन सकिन्छ ।

४) युद्धको भुमरी
कथाकार रणेन्द्र बरालीद्वारा लिखित युद्धको भूमरी कथा उनकै दलितको दैलो कथासङ्ग्रहमा सङ्कलित छ । जनयुद्धको कीर्तिमानी घटनामा आधारित प्रस्तुत कथामा मुख्यतया उन्मुक्तिकामी चेतनाको सम्प्रेषण भएको छ । त्यसो त यस कथामा एकातिर सम्भ्रान्त वर्गीय ठकुरी परिवारको वैवाहिक उत्सवमा देखिएको हर्ष अनि त्यही विवाहका क्रममा तात्कालीन राजा ज्ञानेन्द्रका सेनाद्वारा विवाहका जन्ती र विशेषतः दुलाहा–दुलही र बाबु सुवेदारमाथि आतङ्ककारीको लाञ्छना लगाएर चरम यातनासहित कालकोठरीमा पुर्‍याउनुजस्ता विपरीत सम्वेदनालाई कलात्मक बान्की दिइएको छ । त्यस्तै यस कथाकी नायिका जनमुक्ति सेनाकी छामार सिर्जनाको स्थिति पनि अत्यन्त सम्वेदनशीन रहेको छ ।

माओवादीलाई घृणा गर्ने खानदानीया ठकुरीहरू माओवादी छामारबाट पाएको उन्मुक्तिका कारण माओवादी विचार र आन्दोलनप्रति अत्यन्त सकारात्मक बनेका छन् । यसका पछाडि कथामा घटित घटनाक्रमको युक्तिसङ्गत विन्यासले काम गरेको छ । शाही सेनाले दुलहादुलहीलाई आतङ्कारीका रूपमा गरेको क्रुर व्यवहार र प्रताडनाका बिचमा नाटकीय मोडस्वरूप माओवादीको सदरमुकाम कब्जासँगै ठकुरी परिवारको उन्मुक्ति, संयोग र स्वाभाविक बनेको छ ।

ठकुरी परिवारका होवीर सेन र रूपारानी मल्लका बिचको विवाहसम्बन्धी घटनाकै बिचमा शाही सेनाको सुराकी परशुराम काजीको अनुपस्थितिले एउटा अनिष्ठको सङ्केत गर्नुसँगै कथामा शंसय र उत्सुकता समेत निर्माण भएको छ । यो भनेको भावी अनिष्टकारी घटनाको आमन्त्रण हो, र कलात्मक युक्ति पनि हो । त्यस्तै दुई चार धब्बा कालो बादल देखिएको हुँदा साँझपख आँधीहुरी आउने हो कि भन्ने दकस थियो (पृ.५५)भन्ने कथनले पनि भावी कुसङ्केतन र कलात्मक युक्तिको काम गरेको छ तर माओवादी छापामारले जिल्ला सदरमुकाम कब्जा गर्ने घटनाको सङ्केत यहाँ कतै पाइन्न । सायद माओवादी पार्टीप्रति घृणाभाव राख्ने ठकुरीहरूलाई सकारात्मक सोचतर्फ ढाल्नका लागि पनि त्यो घटना सान्दर्भिक थियो । यसका पात्रहरू गतिशील छन् जसले समयसापेक्ष रूपमा आफूलाई रूपान्तरण गरेका छन् ।  क्रान्तिकारी विचारले ओतप्रोत भएकी सिर्जना अत्यन्त अनुशासित एवं संयमित नायिका हो ।

सुबेदार र उसका छोरा–बुहारीलगायत ठकुरी परिवारका पात्रहरू आरम्भमा नकारात्मक चिन्तनले ओतप्रोत भए पनि यथार्थबोध भएपछि सकारात्मक बन्दै गएका छन् । बाह्य सर्वज्ञाता दृष्टिविन्दुको प्रयोग भएको यस कथाकी दृष्टिकेन्द्रीय पात्र भने जनमुक्ति सेनाकी सेक्सन कमाण्डर सिर्जना हो । उसकै सहासिक क्रियाले सदरमुकाम आक्रमण सफल भएको छ भने उसकै अनुकरणीय व्यवहारका कारण ठकुरी परिवारमा वैचारिक रूपान्तरण सम्भव भएको छ । त्यसो त अन्त्यमा सम्पूर्ण घटनाक्रमका आरोह अवरोहलाई नजिकबाट नियालिरहेकी सिर्जना केही विचलित मनस्थितिमा पुगेकी छ । त्यसो हुनुको कारण हो सहिद तथा वेपत्ता साथीहरूको लेखाजोखा नहुनु, जनमुक्ति सेनाको चौथो डिभिजनअन्तर्गत क्रियाशील सिर्जना अयोग्यमा दरिनु र कति साथी सभासद् हुनु जस्ता घटनाले ऊ अशान्त बनेकी छ ।  

घटनाको विकास नाटकीय रूपमा भएको छ र कथा कथनमा समाख्याताको  भूमिका प्रभावी छ । रागात्मक भाषाको प्रयोगले कथा रोचक बनेको छ । बाह्य वस्तुगत परिवेशको प्रत्यङ्कनसँगै पात्रमा अन्तरनिहित संवेगात्मक भावहरू पनि सगबगाएका छन् । बाह्य द्वन्द्व घनीभूत बनेको यस कथामा विभिन्न स्थान र दृश्यको संयोजनसँगै उखानटुक्काको प्रयोगले कथाको भावलाई थप प्रस्ट्याएको पाइन्छ । भङ्गीपूर्ण कथनपद्धति अनि आकर्षक रूपविन्यासका कारण कथाकला दृष्टिमा प्रस्तुत कथा सुन्दर बनेको छ तर प्रस्तुत कथाको संरचना भने त्यति सुगठित र कसिलो बन्न सकेको छैन । 

५) नयाँ बस्ती
नयाँ बस्ती नामक कथासङ्ग्रहमा सङ्गृहीत प्रस्तुत कथाका स्रष्टा अशोक सुवेदी हुन् । अभाव र उत्पीडनबाट उन्मुक्ति पाउने एकमात्र बिकल्प भनेको वर्गसङ्घर्षको प्रक्रियामा सामेल हुनु हो भन्ने सार सन्देश सम्प्रेषण गर्ने प्रस्तुत कथाले जनयुद्धको धनीभूत प्रक्रियाको मार्मिक दृष्टान्त प्रस्तुत गरेको छ । वर्गसङ्घर्षका माध्यमबाट शोषणमुक्त एवं समृद्ध समाजको निर्माण हुनु सम्भव रहेको दृष्टान्त प्रस्तुत गर्ने यो कथा कलाविम्बका माध्यमबाट उद्देश्यसम्म पुग्न कथा सफल भएको छ ।

कथ्य वस्तुको प्रतिविम्बात्मक कथारूप निर्माण गर्नका लागि यसमा दुईजना पात्रलाई प्रमुख भूमिकामा उभ्याइएको छ । परिपुष्ट कथानक स्वरूप प्राप्त गरेको यस कथामा कथावाचक ‘म’ पात्र अविश्रान्त अनि ‘ऊ’ पात्र मुना रहेका छन् । यसमा ‘म’ पात्र अविश्रान्त कथावाचकको भूमिकामा छ, उसले आफ्नो कथासँगै मुनाको कथालाई प्राथमिकतामा राखेको छ । प्रारम्भिक कथा दुबैका उस्तै उस्तै लाग्छन् । पछि नाममात्रको क्रान्तिकारी पार्टी छोडेर मुना साँच्चिकै कान्तिकारी पार्टीमा लाग्छे र वर्गसङ्घर्षमा समर्पित हुन्छे । परिणमतः उसको जीवन व्यवहारमा आमूल परिवर्तन आउँछ ।

प्रस्तुत कथा संवादात्मक शैलीमा अघि बढ्दै जान्छ । त्यो संवाद छरितो प्रकृतिको नभएर समाख्यानात्मक प्रकृतिको रहेको छ । ‘म’ पात्र उत्सुकतापूर्वक मुनाका बारेमा जिज्ञासा राख्दै जान्छ, मुनाले आफ्नो ओजस्वी कथा चिठी र डायरीमार्फत सुनाउँदै जान्छे । २०५२ सालसम्म एकसाथ अन्दोलनमा हिडेका अविश्रान्त र मुना १० वर्षको सङ्घर्षमय जीवनमा मुनाका चिठी र दैनिकी ‘म’ पात्रका लागि उत्प्रेरक स्रोत बनेका छन् । मुनाले १० वर्षपछि सङ्घर्षद्वारा निर्माण भएको नयाँ बस्तीमा आउन अग्रह गरेपछि ‘म’ पात्र त्यहाँ पुग्छ र सबै कुराको अनुभव गर्छ ।

परावर्तित कथानक ढाचामा संरचित प्रस्तुत कथा अन्त्यका प्रसङ्गबाट आरम्भ भएको छ भने त्यसपछिका समग्र घटनाप्रसङ्ग पनि पूर्वस्मृतिस्वरूप प्रस्तुत भएका छन् । यसमा पात्रको प्रारूपीकरण प्रक्रिया अत्यन्त सुन्दर रहेको छ जसकारण उद्देश्यप्राप्ति सहज र स्वाभाविक बनेको छ । आन्तरिक परिधीय दृष्टिविन्द रहेको यस कथाकी दृष्टिकेन्द्रीय पात्र मुना हो । बाह्य वस्तुगत परिवेशको प्रत्यङ्कन यस कथामा नभए पनि पात्रका मानसिक घातप्रतिघात बलशाली बनेका छन् । यसमा बाह्य द्वन्द्व प्रभावकारी रहेको छ । ‘ऊ’ पात्र मुना सङ्घर्षशील, दृढनिश्चीय एवं जोधाहा पात्र हो जसले जुनसुकै कठिन परिस्थितिको सामना गरेकी छ । संयोग कस्तो पनि परेको छ भने नाम मात्रको क्रान्तिकारी पार्टीमा रहँदाबस्दा आफूलाई यौन शोषण गर्ने रामचन्द्रे उसले हानेको गोलीबाट घायल भएको छ । यसको तात्पर्य हो वर्गसङ्घर्षको मोर्चामा सफल हुनुसँगै उसले यौनपिपासलाई बदला लिने अवसर पनि पाएकी छ । सहिद हुने अवसर पाइन मैले यस लडाइँमा । अरु सहयोद्धा कामरेडहरू नै प्रथम हुनुभयो, म त दोस्रा भएँ यसपालि पनि । (पृ.२१) भन्ने अभिव्यक्ति दिने मुनालाई सहिद हुन नपाएकोमा  पश्चाताप् छ । सामान्य तर आकर्षक प्रस्तुति शैली र भाषिक विन्यासले पनि यसको कलात्मक बुनोटमा सहयोग पुर्‍याएको छ । कथाकलाका दृष्टिले कथा सुन्दर छ, यसमा सम्प्रेष्य रूपसौन्दर्य विचारको संवाहक बनेको छ ।

६) युद्धकालकी आमा 
प्रस्तुत कथाका कथाकार कमल निओल हुन् । कमल निओलकै नयाँ इतिहास नामक कथासङ्ग्रहमा सङ्गृहीत प्रस्तुत कथा विचार र कथाकलाको सन्तुलित विन्यास भएको सुन्दर कथा हो । प्रस्तुत कथा जनयुद्धको प्रतिविम्बन भएका समकालीन कथाधाराको प्रतिनिधि कथा हो । युद्ध रहर र लहडको उपज नभई बाध्यात्मक परिस्थितिको उपज हो, यस तात्पर्यमा युद्ध अनिवार्य आवश्यकता पनि हो भन्ने क्रान्तिकारी विचारको सम्प्रेषण भएको यस कथामा विशिष्ट प्रकारको कलात्मक बान्की प्रस्तुत भएको छ ।

शीर्षकले सङ्केत गरेझैँ यो एउटी आमाको कथा हो । ममतामयी, वात्सल्यमयी एवं करूणामयी आमा, शान्तिकी उपासक, सृष्टिकी रक्षक, दूरदृष्टि भएकी आमा अनि ज्ञान, विवेक, उदात्त चेत र समाजबोधले ओतप्रोत भएकी आमाको कथा हो । आरम्भमै कथाकारको कथन छ — आमाको माया अपरम्पार छ । आमा शान्तिकी जननी मात्र होइनन्, त्यो भन्दा बढी पनि । आमालाई युद्ध मन पर्दैन । (२०१६) प्रस्तुत कथाको सुरुमै प्रस्तुत गरिएका यी वाक्यको तात्पर्य अभिधार्थमा होइन व्यञ्जनाका तहमा खोजिनु पर्छ । तसर्थ आरम्भको यो कथन भनेको कथालाई कलात्मक मूल्य प्रदान गर्ने महŒवपूर्ण आधारशीला हो । यसको व्यञ्जनार्थको तहमा पुग्दा नचाहेरै पनि युद्धको सामना गर्नुपर्छ, त्यो यस कथाकी आमाले गरेकी छन् । आफ्ना दुईवटा मुटुका टुक्रा जेठा छोरो महेश (जो शाही सेनामा जागिरे छ र सक्दो आमाको भरणपोषण पनि गरेको छ) र कान्छो छोरो दीपक (जो उन्मुक्तिका खातिर जनमुक्ति सेनामा भर्ती भएको छ)लाई कहीँकतै केही नहोस् भन्ने चाहना आमाको हुनु स्वाभाविक थियो । युद्धको गति वेगमय थियो । जसरी टाढा बर्सिरहेको वर्षा थोरै समय नबित्दै नजिक आइपुग्छ, त्यस्तै भयो आमाको निम्ति पनि युद्ध (पू. १६) । भन्ने कथाकारको कथनले आमाका लागि युद्ध बाध्यकारी बनेको कथ्यवस्तुलाई कलात्मक बान्कीमा प्रस्तुत गरिएको  छ । यसमा कथाकारको प्रतिविम्बात्मक/पुनःसिर्ननात्मक सिप बेजोड रहेको छ ।

यस कथालाई कलात्मक उचाई प्रदान गर्ने मुख्य आधार भन्नु पहिलो पात्रको चयन र चारित्रीकरण हो भने दोस्रो पात्र, परिवेश र घटनाको प्रारूपीकरण हो । कथाको शीर्षकले सङ्केत गरेझैँ प्रस्तुत कथा एउटी आमाको हो, यी आमा भन्नु महेश र दीपककी आमा मात्र होइन, सबैसबैकी महान् आमा हुन् । उनी यस कथाकी सबल नायिका हुन् जसले नचाहेर पनि युद्धको सामना गरेकी छन् । जबजब युद्ध उनको साम्ने आउँदै थियो त्यतिबेला उनले दीपकका साथी (छापामारबाट) बाट युद्धकला पनि सिकेकी छन् । त्यसैले ठट्टैठट्टामा उनले राइफल, एस.एल.आर. माइन, तोप, एल.जी. सब जानेकी छु अब त ! ...लड्नै परे म जति लड्न के सकौला । (पृ.१८) जस्ता अभिव्यक्ति पनि दिएकी छन् ।

शाही सेनाबाट गाउँले चेलीहरूको बलात्कार हुनेदेखि अत्यन्त वीभत्स घटनालाई पनि नजिकैबाट देखेभोगेकी छन् उनले । त्यसले उनी शाही सेनाप्रति क्रुद्ध पनि बन्दै गएकी छन् । यी सबै घटनाबाट अवाक् भएकी आमाले आफ्नो घर अगाडिको छाहारीमा शाही सेनाको जत्था देखेपछि बमको स्विीच दबाइन् र सेनाको जत्थालाई सखाप पारिन् र भनिन्– गाउँलाई बचाउन सृष्टि कर्ताको हैसियतले जे गर्नुपथ्र्यो, मैले पूरा गरेँ (पृ. २०) । यद्यपि थप शाही सेनाको जत्था आएर गोली चलाउँदा उनले पनि वीरगति प्राप्त गरिन् । नाटकीय ढङ्गमा भएको आमाको चारित्रिक विकासले कथा सुन्दर र सफल बनेको छ । त्यसो त उनका छोराहरूको भूमिकाले पनि आमालाई एउटी त्यागी आमा बन्न र उत्सर्गका निम्ति तम्तयार हुन उत्प्रेरित गरेको छ ।

दोस्रो महŒवपूर्ण पाटो भनेको पात्र, घटना र परिवेशको प्रारूपीकरण योजना हो । कथालाई उद्देश्य प्राप्तितर्फ डोर्‍याउनका लागि पात्र, घटना र परिवेशका बिचमा जुन सन्तुलित, सुगठित र तर्कसङ्गत प्रारूप निर्माण गरेर कथामा गति प्रदान गरिएको छ त्यो कलात्मक  युक्ति प्रशंसनीय रहेको छ । युद्ध नचाहने आमालाई युद्धजन्य परिवेश र शाही सेनाद्वारा गाउँगाउँमा हुने गरेका ज्यादतीका घटनाले बमको स्विच थिच्न बाध्य पारेका छन् ।

बाह्य सीमित दृष्टिविन्दुको प्रयोग भएको प्रस्तुत कथाकी दृष्टिकेन्द्रीय पात्र आमा हुन्, यो कथा पनि आमाको हो । यद्यपि आमाको भूमिकालाई मलजल प्रदान गरेर सबल बनाउने काम सहायक पात्र महेश र दीपक अनि युद्धमय परिवेश अर्थात् उद्दीपन विभावका रूपमा रहेका शाही सेनाका क्रियाले गरेका छन् ।

प्रस्तुत कथाको संरचना अत्यन्त कसिलो, भरिलो र खँदिलो छ । थोरैमा धेरै भन्न सक्ने खुबी  कथाकारमा छ । बाह्य द्वन्द्व अत्यन्त घनीभूत बनेको यस कथाको रूपविन्यास पनि प्रभावकारी छ, प्रत्येक वाक्य तथा शब्दको ओजपूर्ण एवं सार्थक विन्यास यसमा भएको छ्र । उखान र कलात्मक सूक्तिले कथालाई सुन्दर बनाएका छन् । अतः युद्ध कुरूप नै नभए पनि कठोर अवश्य हुन्छ तर अगम्य होइन गम्य हुन्छ, युद्धलाई रहर र लहडका रूपमा होइन बाध्यात्मक स्थितिमा स्वीकारिन्छ भन्ने वैचारिक सन्देशलाई सुन्दर कथाकलाका माध्यमबाट प्रस्तुत गरिएको छ ।

७) सपना र डायरी
यस कथाका कथाकार क्षितिज मगर हुन् । उनको सुनछहरीको ऐनामा प्रस्तुत कथा सङ्गृहीत छ्र । यसमा एउटा छापामार योद्धाले देख्ने सपना र यथार्थ जीवनभोगाइबाट तयार पारिएको डायरी (दैनिकी) का बिचमा सुन्दर तादात्म्य देखाइएको छ । अदम्य साहसका साथ युद्ध नलडी सपनाको मञ्ञ्जील चुम्न सकिन्न भन्ने सारसन्देश सम्प्रेषण गर्ने यस कथामा जीवन जिउन सपना अनिवार्य भएको विचार प्रस्तुत भएको छ । जोसँग जीवन छ उसँग सपना हुन्छ (पृ.४५) भन्ने ‘म’ पात्रको कथनले सपनाविना मान्छेको जीवन निरर्थक बन्छ भन्ने धारणासमेत यसमा प्रस्तुत भएको पाइन्छ ।

प्रस्तुत कथामा सपनालाई स्वैरकल्पनाका माध्यमबाट प्रस्तुत गरिएको छ । कथाकलाको प्रभावकारी प्रस्तुतिका लागि युद्धमय परिवेशका सादृश्यतामा प्राकृतिक परिवेशका रौद्ररूपको वर्णन एकातिर गरिएको छ भने अर्कोतिर सुन्दर एवं रङ्गीविरङ्गी फूलले सजिएको वगँैचा (जो समाजवादको प्रतीक हो) को कलात्मक एवं मनोहारी वर्णन छ । त्यहाँ पुग्ने मार्गमा अजङ्गका अजिङ्गर अनि फणाँ किजाएर बसेका गोमन साँप (अर्थात् वर्गवैरीहरू)को अवरोध छ । तर क्रान्तिको अगुवाले नयाँ ढुङ्गा (वैचारिक हतियार/साधन) बनाएर त्यसमा सवार भएपछि साहस र युक्तिपूर्वक पारिको सुन्दर एवं रमणीय वगैँचामा रम्चाउन सहज भएको छ । यो थियो २०५२ सालपूर्वको सपना र अझ व्यक्ति ‘म’ पात्र शिरीषको सपना । दोस्रो सपना ‘म’ पात्र शिरीष र पारिजात नामकी पात्रका विचको संवादमा आधारित छ, यो सामूहिक सपना हो र (खासमा बेनी कब्जा गरेरे फर्कँदा जनसमुदायबाट हुने भव्य स्वागत सम्मानमा तरङ्गित भएको छ । 

यिनै सपनाका पृष्ठभूमिमा बेनीको भीषण युद्धलाई ‘म’ पात्र शिरीषले आफ्नो डायरीमा सजाएकी छ । यसमा दुईवटा डायरी छन्– पहिलोमा बेनी आक्रमणको आद्योपान्त वर्णन छ भने दोस्रो वेनी मोर्चामा सहादत प्राप्त गर्ने साथीहरू अमर, साहस, सुन्दर, समर, अस्मिता आदिको सम्झना र सम्मानमा गहिरो शोक/समवेदना प्रकट गरिएको छ ।
आन्तरिक केन्द्रीय दृष्टिविन्दु रहेको यस कथाकी दृष्टिकेन्द्रीय पात्र शिरीष हो,  ऊ यस कथाकी कथावाचक पात्र पनि हो । उसका आत्मालापी कथन तथा उसले साथी पारिजातसँग गरेका संवादात्मक कथनका सन्दर्भमा ऊ सर्वज्ञ पात्रका रूपमा प्रस्तुत भएकी छ । समग्र परिस्थितिको आकलन गर्ने तथा जस्तोसुकै परिस्थितिको सामना गर्ने विवेकशील एवं चिन्तनशील पात्र हो शिरीष । उसले नै प्रस्तुत कथालाई कलात्मक बान्की दिएर उद्देश्यप्राप्तिसम्म पुर्‍याएकी छ । शिरीषले एउटी अथक एवं सङ्घर्षशील नायिकाका रूपमा आफूलाई प्रस्तुत गरेकी छ ।

सपना र डायरीका विचको तादात्म्य, पात्र, परिवेश र घटनाका विचको तादात्म्य अनि विचार र कलाका विचको सम्न्वयका लागि यसमा मङ्गीपूर्ण एवं कलात्मक प्रारूप निर्माण गरिएको छ । यसको भाषा मनोहारी छ र प्रस्तुतिमा कोमलता छ । यसको रूपविन्यास त सुन्दर छ तर वाक्य गठनमा व्याकरणिक सङ्गति नहुनु यसको कमजोर पक्ष हो ।

८) मछलीवाला
युद्धकौशल र चातुर्यको प्रतिविम्बन गर्ने प्रस्तुत कथाका कथाकार पुन्य कार्की हुन् । उनकै मध्य रातमा कथासङ्ग्रहमा सङ्गृ्र्रहीत यस कथामा युद्धजन्य परिवेशका बिचमा सरकारी सुरक्षा फौजद्वारा सृजना गरिएको त्रासदीपूर्ण जीवनव्यवहार तथा त्यसबिचमा रामलखनजस्ता ¬ान्तिका सहयोगी पात्रको चातुर्यपूर्ण कार्यशैली यसमा प्रस्तुत भएको छ । युद्धका समयमा पार्टीका कार्यकर्ताले शालीनता, शिष्टता अनि चातुर्यद्वारा दुस्मनलाई थाङ्नामा सुताउन र आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने दृष्टान्त यसमा प्रस्तुत भएको छ ।

मछलीवाला कथा कलात्मक बान्की र सिपले युक्त सुन्दर कथा हो । यसलाई सुन्दर बनाउने उपकरण भनेका यसमा निर्माण गरिएको प्रारूपीकरण योजना, पात्रको चारित्रिक विकाससँगै निर्माण भएका संयम, चातुर्य तथा विश्वसनीय व्यवहार र तदनुकूलको परिवेश हो । यिनै आधारमा टेकर यसको कथानक गतिशील बनेको छ र सिङ्गो कथाले परिणतिलाई पछ्याएको छ । यसमा सुरुमै त्रासदीपूर्ण परिवेशको वर्णन गरिएको छ जसले भावी यात्रा तथा जीवनक्रिया सहज छैनन् भन्ने सङ्केत दिएको छ । कार्यकारण सम्बन्धमा आधारित परिवेशले सङ्केत गरेझैँ रामलखनको गन्तव्य निकै चुनौतिपूर्ण बनेको छ । आखिरमा सेना र पुलिसका बारबन्देजलाई चलाखीपूर्ण तरिकाले किनारा लगाउँदै रामलखनले आफ्नो जिम्मेवारी पूरा गरेको छ, त्यसमै उच्च कोटिको कलात्मक सिप र युक्ति यस कथामा प्रतिविम्बित भएको छ । रामलखन बडेबडे माछाका पटेमा ग्रिनेट र राइफलका गोली भरेर दुश्मनलाई थाङ्नामा सुताउँदै गन्तव्यसम्म पुग्न सफल भएको छ । जब माछाका मुखबाट गोलीको ओइरो लाग्न थाल्यो उसको संयम र चतुर्‍याइँ देखेर साथीहरू पनि तीनछक परेका छन् । यस्तो कार्य एउटा कलापारखी मान्छेले मात्र गर्नु सम्भव थियो जुन कला रामलखनले देखाएको छ । यो भनेको अनेक सम्भावनाको आकलन गर्दै पात्रको चयन, चारित्रीकरण तथा घटनाको विन्यसाका सन्दर्भमा निर्माण गरिएको प्रारूपीकरण योजनाकै परिणति हो भन्न सकिन्छ ।

प्रस्तुत कथा भन्नु रामलखनका चातुर्यपूर्ण क्रियाको कलात्मक निर्मिती हो । त्यसैले यो रामलखनको कथा हो । यसको दृष्टिकेद्रीय पात्र पनि रामलखन नै हो । बाह्य सीमित दृष्टिविन्दुको प्रयोग भएको प्रस्तुत कथाका अन्य पात्र रामलखनको केन्द्रीयतामा फन्का मारेका छन् । मैथिली भाषी रामलखनको बचन र व्यवहारमा जुन विश्वसनीयता झल्कन्छ त्यसले दुस्मन पक्षका लाउकेहरू सजिलैसित किनारा लागेका छन् । यसको समाख्याता कथाकार स्वयम् भए पनि मैथिली भाषी रामलखनको साङ्गोपाङ्ग तस्बिर यसमा खिचिएको छ । ठाउँठाउँमा शिष्ट प्रकृतिको मैथिली भाषा र पाठकीय सहजताका लागि नेपाली भाषामा त्यसको तात्पर्यबोध गराउनुसँगै रागात्मक भाषिक प्रयोगले रूपविन्यासलाई आकर्षक बनाएको छ । शालीन, शिष्ट एवं भङ्गीपूर्ण कथनपद्धतिले पनि कथालाई सुन्दर बनाएको छ । सुन्दर शिल्प र सुन्दर विचारको समुचित सम्मिश्रणका कारण यो समकालीन कथालेखनको प्रतिनिधि कथा बनेको छ ।

९) विद्रोहका ज्वालाहरू
यस कथाका कथाकार सरला रेग्मी हुन् । उनकै चुँडाल्दै बन्धनहरू नामक कथासङ्ग्रहमा सङ्कलित प्रस्तुत कथामा युद्धउत्सर्गका गाथा प्रस्तुत गरिएको छ । यसमा विशेषतः बलिदान, वीरता, साहस, त्याग अनि विजयका गाथासँगै अन्याय र उत्पीडनमा पिल्सिएका विपन्न वर्गका गाथासमेत प्रस्तुत भएका छन् । विगतको जनयुद्धले निर्माण गरेका कीर्तिमानी गाथाको स्मरण गर्दै तिनलाई आदर्शका रूपमा पछ्याउनु पर्ने वैचारिक सन्देश यस कथामार्फत प्रस्तुत भएको छ ।

यस कथामा कथावाचक पात्रद्वारा उल्लेख्य नाम प्रशस्तै भए पनि कथामा क्रियाशील पात्र दुईजना मात्र छन् । यो कथा आमाछोरा बिचको लम्बेतान संवाद हो जहाँ १२ वर्षे छोरा नियमका जिज्ञाशाको उत्तर दिने क्रममा आमा विजयाले कथा भन्दै गएकी छ । त्यसैले प्रस्तुत कथामा आमाछोरा बिचको लम्बेतान संवाद छ । यसलाई संवाद भन्न सकिए पनि चुस्त प्रकृतिको संवाद भने होइन । यसमा छोरा नियमले आरम्भ र बिचमा गरी दुई पटकसम्म आमालाई कथा सुनाउन अनुरोध गर्छ । खास गरी छोरा नियमले अपेक्षा गरेको कथा भनेका वीरता, साहस र बलिदानका कथा हुन्, भोक प्यास र तीर्खासमेत हरण गर्ने कथा हुन् । यस तात्पर्यमा छोरा नियमले आमाका लागि उद्दीपकको भूमिका निर्वाह गरेको छ । तर आमाले सुनाउने कथामा व्यक्ति पात्र, घटना सन्दर्भ, युद्धउत्सर्ग, त्याग अनि बलिदानका अनेक दृष्टान्त छन्, कुनै पात्र, विषयप्रसङ्ग वा घटना सन्दर्भमा आधारित शृङ्लावद्ध कथा यहाँ छैन ।

कथावाचकको भूमिका रहेकी विजया दृष्टिकेन्द्रीय पात्र हुन् जसले छोराको जिज्ञासा मेटाउन सक्दो प्रयास गरे पनि पाठकका जिज्ञासा शमन हुँदैनन् । त्यसको खास कारण हो यसमा आमा विजयाको लम्बेतान वर्णन छ, भाषण छ । दुई पात्रका बिचमा संवाद भए पनि यो वर्णनात्मक शैलीमा आधारित छ ।

आख्यान सूत्र नै न्यून मात्रामा रहेको यस कथामा पात्रको चरित्रीकरण पनि हुन सकेको छैन । यसमा आख्यानोचित परिवेश, संरचना र रूपविन्यासको समेत अभाव छ । छोराले राखेका जिज्ञासामा टेकेर आमा विजयातले वीरता, साहास र सौर्यका दृष्टान्त प्रस्तुत गर्दा न्यून प्रकृतिको आख्यामात्मक ढाँचा यसले प्राप्त गरेको छ ।

१०) कामरेड ज्योति
यस कथाका कथाकार भानु भण्डारी हुन् । वीरता, साहस र सौय एवं बलिदानका गाथा प्रस्तुत गर्ने यो कथा भण्डारीकै होलेरी नामक कथासङ्ग्रहमा सङ्गृहीत छ । एउटी नारी पात्रले देखाएको सहास अनि त्यागको अनुपम दृष्टान्त बनेको यस कथामा जनयुद्धको प्रक्रियामा सामेल हुँदाका घटना प्रक्रियाले स्थान पाएका छन् । यस कथाकी नायिका कामरेड ज्योतिले जनयुद्धमा आफ्नो पतिलगायत परिवारका सम्पूर्ण सदस्य गुमाएकी छ, बलात्कारी शाही सेनाका विरुद्ध विद्रोहको ज्वाला दन्काएकी छ, युद्धमा घायल आफ्नो पतिलाई एक्लै बोकेर सुरक्षित स्थानमा पुर्‍याएर उपचार गरेकी छ (यद्यपि त्यो कामयावी हुन सकेन), लोग्नेलाई खाल्डोमा गाडेर पनि हतास भएकी छैन । ऊ सुत्केरी भई, तीन महिना सुत्केरी विदामा बसेर छोरालाई साल्वेनी काकीको जिम्मा लगाएर वेनीमोर्चामा बहादुरीपूर्वक लड्दै गर्दा सहादत प्राप्त गरेकी छ । एउटी नारीमा विद्यमान उदात्त चेत, उद्दाम भाव र उत्सर्गको महिमागान यसमा पाउन सकिन्छ ।

यस कथाको वस्तुविन्यास जति बेजोड बनेको छ त्यसको तुलनामा कथाशिल्प भने कमजोर रहेको छ । मूलतः यसमा पात्रका बिचको क्रियाव्यापारभन्दा पनि वर्णनात्मक शैलीको थिचाइ पाउन सकिन्छ । ज्योति यस कथाकी नायिका हो र दृष्टिकेन्द्रीय पात्र हो । उसकै वरिपरि कथाले फन्का मारेको मात्र होइन समग्र घटनाप्रक्रियामा ज्योतिकै संलग्नता पाउन सकिन्छ । आरम्भ र अन्त्यमा कथाकार कथावाचकका रूपमा उपस्थित भए पनि कथाको केन्द्रीय विषयको सम्प्रेषण ज्योतिबाट भएको छ ।  कथाले प्रारम्भिक चरण पार गरिसकेपछि ज्योतिले युद्धको समयमा आफूले अनुभूत गरेका अद्भूत घटनाका बारेको साङ्गोपाङ्ग तस्बिर प्रस्तुत गरेकी छ । त्यसपछि ज्योति सुत्केरी भएको, तीन महिनासम्म सुत्केरी विदामा बसेको र अन्त्यमा छोरालाई साल्वेनी काकीको जिम्मा लगाएर वेनी मोर्चामा सरिक भई त्यहीँ सहादत प्राप्त गरेको तथ्य कथाकारबाट खुल्न आउँछ ।

यस कथाको क्रियाव्यापारमा संलग्न पात्र क्रान्तिकारी विचारले ओतप्रोत छन् । नेपथ्यका पात्र शाही सेनाका जवानहरू भने सत्ताद्वारा पालित पोषित भ्रष्ट पात्र हुन् । यस कथाको कथनपद्धति वर्णनात्मक छ, भाषाले रागात्मक बान्की प्राप्त गर्न सकेको छैन र यसको रूपविन्यास पनि आख्यानोचित बन्न सकेको छैन । गम्भीर प्रकृतिको वस्तुलाई थेग्न सक्ने शिल्पको अभाव खट्कने गर्छ । यसमा सबैथोक छ तर तारतम्य मिलेको छैन । त्यसैले कथ्य विषयले यसको शिल्प पक्षलाई पछि पारेको छ । 
क्रमशः...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा.गोपीन्द्र पौडेल
प्रा.डा.गोपीन्द्र पौडेल
लेखकबाट थप