शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
एक कवितामाथि समीक्षा

गोविन्दराज विनोदीको ‘वेदनाको बाँसुरी’मा विचारपक्ष र त्यसको संगति

शनिबार, १० फागुन २०८१, ०९ : ५४
शनिबार, १० फागुन २०८१

गोविन्दराज विनोदी नेपाली छन्द कविताका महत्त्वपूर्ण स्रष्टा हुन् । उनका काव्यहरूमा छन्दको अनुशासन मात्र नभई जीवनका यथार्थ अनुभूतिहरूको गहनता पनि उत्तिकै प्रखर देखिन्छ । उनी जीवनका जटिल अनुभवलाई सरल भाषामा अभिव्यक्त गर्न सक्ने कवि हुन् । ‘वेदनाको बाँसुरी’ पनि यस्तै प्रभावशाली सिर्जना हो, जहाँ भोक केवल शारीरिक आवश्यकता मात्र नभई चेतनाको उत्प्रेरक, श्रमको अनिवार्यता र कहिलेकाहीँ सोच्ने क्षमतामाथिको अवरोधको रूपमा प्रस्तुत हुन्छ ।

यो कविताले भोकको बहुआयामिक प्रभावलाई उजागर गर्छ । भोकले श्रम जन्माउँछ, श्रमले अस्तित्वलाई परिभाषित गर्छ, तर त्यही श्रमले मानिसलाई स्वतन्त्र बनाउँछ कि पुनः अर्को पराधीनताको चक्रमा फसाउँछ ? यस्तै गम्भीर प्रश्नहरू कविताको विचारसञ्चारका केन्द्रबिन्दु बनेका छन् । प्रतीकात्मकता, भावनात्मक गहिराइ र जीवनका यथार्थ अनुभूतिहरूको प्रभावशाली अभिव्यक्तिले कविता बलियो बनेको छ । तर विचारगत रूपमा ठाउँ–ठाउँमा द्विविधा देखिन्छ, जसले पाठकलाई गम्भीर हुन बाध्य पार्छ ।
कविताले भोकलाई केवल भौतिक तृष्णा मात्र नभई चेतनाको स्रोतका रूपमा चित्रण गर्छ—

‘सबै भौतिकी चाहना भोक नै हो,
नयाँ सृष्टिको कल्पना भोक नै हो ।’

यसले देखाउँछ कि भोकले नयाँ विचार, आविष्कार र सिर्जनशीलता जन्माउँछ । यदि भोक नहुँदो हो त विकासको चक्र नै रोकिन्थ्यो । तर यसै कविताको अर्को ठाउँमा भोकले चेतनाको वृद्धि रोक्न सक्छ भन्ने भाव पनि व्यक्त गरिएको छ—

‘कठै ! भोकको बज्न थाल्दा सितार
 सके जाग्न कैले र नौला विचार ।’

यस पंक्तिले भोकको चरम अवस्था चेतनाका लागि अवरोध बन्न सक्छ भन्ने देखाउँछ । कविताले भोकलाई सिर्जनाको प्रेरक तत्त्वका रूपमा चित्रण गरे पनि, जब भोक असह्य हुन्छ, त्यसले चेतनाको संगीत नै बन्द गरिदिन्छ ।

यहाँ सितारको विम्ब अत्यन्त सटीक रूपमा प्रयोग गरिएको छ । सितारको तार उचित तनावमा भए मात्र संगीत उत्पन्न हुन्छ तर यदि अत्यधिक तानियो भने न संगीत रहन्छ, न तार नै सुरक्षित रहन्छ । चेतना पनि त्यस्तै हो । जब भोकले प्रेरणा दिन्छ, नौला विचार जन्मन्छन्; तर जब भोक असह्य हुन्छ, चेतना नै निष्क्रिय हुन जान्छ ।
यसले भोकका दुईवटा पक्षलाई स्पष्ट पार्छ  : उत्प्रेरक भोक जसले श्रम, सोच र सिर्जनशीलताको ऊर्जा दिन्छ । र अवरोधक भोक जसले चेतनाको तारलाई अत्यधिक तानेर मौन गरिदिन्छ ।

यसरी कविताले भोकको प्रभावलाई द्वैध रूपमा प्रस्तुत गरेको छ । जब भोक मध्यम तहमा हुन्छ, यसले सिर्जनशीलता जन्माउँछ । जब भोक अति हुन्छ, सोच्न सक्ने क्षमता नै हराउँछ । यही सन्देश कविताको गहिराइ हो, जसले मानव अस्तित्वको जटिलतासँग पाठकलाई गम्भीर रूपमा जोड्छ ।

कविताको यही सन्दर्भमा अर्को महत्त्वपूर्ण पंक्ति आउँछ—

‘त्यसैले तँमा भोकका वेदना छन्
 र बाँच्ने कलाका नयाँ चेतना छन् ।’

यो पंक्तिले भोकलाई दुईवटा परस्पर विरोधी तर एकसाथ रहने अवस्थाका रूपमा चित्रण गर्छ । भोकले पीडा सिर्जना गर्छ, तर त्यही पीडाले बाँच्नका लागि नयाँ चेतना जन्माउँछ । यसले मानिसलाई संघर्ष गर्न बाध्य पार्छ, अनि त्यसै संघर्षमा जीवनको कलालाई परिष्कृत गर्ने ऊर्जा पनि दिन्छ । यसरी कविताले भोकलाई न त केवल बाधाका रूपमा देख्छ, न त केवल प्रेरणाका रूपमै । बरु यसले भोकलाई जीवनको गतिशीलता दिने तर कहिलेकाहीँ त्यसलाई अवरुद्ध पनि गर्ने एउटा जटिल शक्तिको रूपमा प्रस्तुत गरेको छ ।

अर्को ठाँउमा भोक र श्रमबिचको सम्बन्धलाई कविताले सशक्त रूपमा प्रस्तुत गर्छ—

‘व्यथाका कथा जिन्दगीमा सँगाली
हिँडिस् भोकको तेलमा स्वत्व बाली ।’

भोक केवल पेटको भोक होइन, जीवनभर गरिरहनुपर्ने संघर्षको प्रतीक हो । यहाँ श्रमजीवी वर्गको असहायता मात्र देखिँदैन, एउटा मौन प्रश्न पनि उठ्छ ः के श्रम स्वत्वको बलिदान मात्र हो कि अस्तित्वको पुनः निर्माण पनि ? कविताको यही प्रश्न सबैभन्दा मार्मिक लाग्छ । भोककै कारण मानिस श्रम गर्छ, संघर्ष गर्छ, जीवन चलाउँछ । तर, यही श्रमले ऊ स्वतन्त्र बनाउँछ कि फेरि नयाँ बन्धनमा पार्छ ? यो प्रश्न कविताभरि अनुत्तरित छ, जसले गर्दा कविताको विचार पक्षमा झन् गहिरिएर घोत्लिन आवश्यक छ । जानाजान वा अन्जानमै यसो हुन गएको हो वा यो एक आकस्मिक संयोग मात्रै हो ?

कविताको अर्को बलियो पक्ष भनेको वेदनालाई जीवनको अपरिहार्य सत्यका रूपमा चित्रण गर्नु हो—

‘विना वेदना छन् र मान्छे कहाँ खै ?
 तँ छस् दुःखको यो महानाट्यभित्र ।’ 
‘विना वेदना छन् र मान्छे कहाँ खै ?
 तँ छस् दुःखको यो महानाट्यभित्रै ।’

कविताको यो पंक्ति वेदनालाई मात्र दुःखको रूपमा सीमित नगरी जीवनकै अनिवार्य नियमका रूपमा प्रस्तुत गर्छ । यहाँ वेदनालाई मानवीय अस्तित्वका आधार मानिएको छ— अर्थात् पीडाबिना जीवनको परिभाषा अपूर्ण रहन्छ । मान्छे हुनु भनेको भोग्नु हो, संघर्ष गर्नु हो, निरन्तरको महानाट्यमा अभिनय गरिरहनु हो । यो दृष्टिकोणले मानव अस्तित्वलाई काव्यात्मक तरिकाले व्याख्या मात्र गर्दैन, जीवनको गहिरो दार्शनिक पक्षमा पनि पाठकलाई प्रवेश गराउँछ ।

तर यहाँ अर्को महत्त्वपूर्ण प्रश्न जन्मिन्छ— के सबै वेदनाले अर्थ राख्छ ? के दुःख सधैँ सिर्जनात्मक हुन्छ ? वा कुनै दुःख केवल व्यर्थ बोझ मात्र पनि हुन सक्छ ?
वेदना चेतनाको अभिन्न हिस्सा हो भने के प्रत्येक वेदना सिर्जनाको बिउ हुन सक्छ ? जीवनका केही पीडाहरूले मानिसलाई परिष्कृत गर्छन्, सोचको उचाइ बढाउँछन्, र सिर्जनशील ऊर्जा दिन्छन्। तर केही वेदनाहरू छन्, जसले चेतनालाई केवल थिच्ने काम गर्छन्— न कुनै सौन्दर्य सिर्जना गर्छन्, न चेतनाको प्रकाश फैलाउँछन् । 

यस पंक्तिले पाठकलाई यही सोच्न बाध्य पार्छ— के वेदना जीवनको अपरिहार्य सत्य हो, वा मान्छे स्वयंले वेदनालाई अर्थ दिएर मात्र त्यसलाई जीवनको सार ठान्छ ?
कविता यस्ता प्रश्नहरूलाई अझ गहिराइमा खोतल्न सफल भएको भए, यसको प्रभाव झन् गहिरो र दूरगामी बन्न सक्थ्यो । वेदनालाई केवल अपरिहार्य तत्त्वको रूपमा चित्रण गर्नुको साटो, यसको विविध रूपहरूको विश्लेषण गरिएको भए कविता अझ दार्शनिक उचाइमा पुग्थ्यो ।

यही अस्पष्टता पनि कविताको सौन्दर्य हो । कविताले उत्तर दिनुभन्दा बढी प्रश्न उठाउँछ। यही कारणले गर्दा यो पाठकको मनमा अनन्त गुन्जिरहन्छ ।
कविताको अन्त्यतिर बाँसुरीको विम्ब आउँछ, जसले वेदनालाई संगीतसँग तुलना गर्छ—

‘भरी राग आफ्नै मनश्चेतनाको
विनोदी ! बजा बाँसुरी वेदनाको ।’

बाँसुरीको धुन जस्तै, चेतनाका स्वरहरू पनि वेदनाले भरिएका छन् । तर वेदनाको बाँसुरी केवल पीडाको धुन मात्र होइन, यो जीवनको संगीत पनि हो । यो कठोर यथार्थलाई पनि काव्यात्मक रूपमा गुन्जन भनेकै होला कविताले भन्ने अनुमान लगाउन सकिन्छ । यसो हुन सक्नु कविताको अर्को सशक्त शक्ति हो ।

कविताको संरचनागत विशेषता हेर्दा विनोदीको छन्दमा दक्षता स्पष्ट झल्किन्छ । तर विचारगत सुसंगततामा कतै–कतै खुला ठाउँहरू छन् । भोकले चेतनाको विकास गर्छ तर त्यसले नै चेतनालाई निष्क्रिय बनाउँछ भन्ने द्विविधा अझ प्रस्ट हुनुपर्ने थियो । यस्तै श्रमले स्वत्व बलिदान गर्छ कि नयाँ अस्तित्व निर्माण गर्छ भन्ने प्रश्नले गहिरो विमर्श माग्छ । यी विचारहरूलाई अझ स्पष्ट पारेको भए कविता झन् दार्शनिक र गहन बन्न सक्थ्यो ।

सारमा ‘वेदनाको बाँसुरी’ केवल भावनात्मक रूपमा सशक्त छैन, यसले पाठकलाई श्रम, जीवन र चेतनाका यथार्थलाई पुनर्विचार गर्न बाध्य बनाउँछ । विनोदीका कविता छन्दको अनुशासनमा बाँधिएर पनि विचारको स्वतन्त्र उडान लिने शैलीका हुन्छन् । तर यस कवितामा विचार र लयबिच एक किसिमको द्वन्द्व छ । कतै स्पष्ट, कतै अलमल पार्ने गरी खुला । भोकले चेतना, श्रम र सोचबिच कसरी पुल बनाउँछ भन्ने स्पष्ट व्याख्या गरिएको भए कविताको प्रभाव झन् सशक्त हुने थियो ।

अन्ततः भोक चेतनाको मार्गप्रदर्शक हो कि त्यसकै बाधक ?
 यो प्रश्नको उत्तर खोज्न कविता पाठकको हृदयमा निरन्तर गुन्जिरहन्छ ।
कविताको पूर्ण पाठ :

  • वेदनाको बाँसुरी

– गोविन्दराज विनोदी

सँगै पेट बोकी तँ होस् जन्मिएको
यही पेट भर्दै तँ होस् हुर्किएको
त्यसैले तँमा भोकका वेदना छन्
र बाँच्ने कलाका नयाँ चेतना छन् ।

गरिस् नित्य सङ्घर्ष यै पेटनिम्ति
खपिस् दुःख वा कष्ट यै पेटनिम्ति
बुनिस् पेटकै लागि ताना र बाना
पसीना चुहाई जुटाइस् खजाना ।

पढिस् जे बुझिस् जे सबै पेटनिम्ति
यही पेटमा अन्नको भेटनिम्ति
कठै !  भोकको बज्न थाल्दा सितार
सके जाग्न कैले र नौला विचार ।

दिँदा भोकले खूब बाधा तँलाई
सकिस् रोक्न तैँले कहाँ आँसुलाई
नथाकी गरिस् कर्म यै  भोक टार्न
भइस् बाध्य यै भोकका निम्ति हार्न ।

सबै भौतिकी चाहना भोक नै हो
नयाँ सृष्टिको कल्पना भोक नै हो
सबै भोकको मूल हो पेट एक
यही पेटले दिन्छ बाधा अनेक ।

हुँदा तृप्तिको आस बिर्सेर दुःख
तँ हाँसिस् सधैँ वेदनामा मुसुक्क
व्यथाका कथा जिन्दगीमा सँगाली
हिँडिस् भोकको तेलमा स्वत्व बाली ।

विना वेदना छन् र मान्छे कहाँ खै
तँ छस् दुःखको यो महानाट्यभित्रै
भरी राग आफ्नै मनश्चेतनाको
विनोदी ! बजा बाँसुरी वेदनाको ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. चूडाप्रसाद ढकाल
डा. चूडाप्रसाद ढकाल
लेखकबाट थप