आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
विद्यार्थी राजनीति

स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने

कार्यकाल लम्ब्याउने मनसायमा सभापतिहरू
शनिबार, १० फागुन २०८१, ०९ : २७
शनिबार, १० फागुन २०८१

काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिविले त्यसका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

यसअघि त्रिविले विद्यार्थी संगठनहरूसँग गरेको छलफलमा विद्यार्थी संगठनहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरेका थिए । विद्यार्थी संगठनहरूले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरिने तर, निर्वाचन जसरी पनि गराउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा तथा मधेसवादी लगायतका दल निकट विद्यार्थी संगठनले स्ववियु निर्वाचनको तयारी थालेका छन् । केही विद्यार्थी संगठनका स्ववियु सभापतिहरू भने तालाबन्दीमा उत्रिएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी संगठनको प्रतिनिधित्व गर्दै निर्वाचित भएका स्ववियु सभापतिहरूले विभिन्न मागसहित त्रिवि शिक्षाध्यक्ष र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले गत सोमबारदेखि तालाबन्दी गरेका हुन् । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा तालाबन्दी गरिएको भन्दै त्रिविका ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

त्यस्तै स्ववियु कार्यकालबारे गरिएको निर्णयको विषयमा त्रिवि सभापित श्यामराज ओझा, पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु सभापति विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति विष्णु ढुंगेलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।

माघ २८ गते बसेको त्रिवि कार्यकारी परिषद् बैठकले २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गतेदेखि स्वतः समाप्त भएको मानिने व्यवस्था गरेको थियो । ‘स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१’ जारी गर्दै उक्त व्यवस्था गरिएको हो ।

दुई वर्षे कार्यकाल सकिन लागेका बेला स्ववियु सभापतिहरूले त्रिवि सभा राख्न माग गर्दै आएका छन् । स्ववियुहरूले उठान गरेका विद्यार्थीका हक हितका माग सम्बोधन गर्न विगतका त्रिवि सभामा आलटाल गरिएको भन्दै उनीहरूले सभा बोलाउन माग गरे पनि त्रिविले अहिलेको अवस्थामा सभा बोलाउन नसकिने प्रस्ट पारेको छ ।

५ वटै स्ववियु सभापतिले भने त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० मा स्ववियु कार्यसमितिको पदावधि निर्वाचन भएको मितिले साधारणतया दुई वर्षको हुने तर, कुनै कारणवस निर्धारित मितिमा निर्वाचन हुन नसकेमा बढीमा ६/६ महिनाका लागि कार्यसमितिको पदावधि त्रिवि कार्यकारी परिषद्ले थप गर्न सक्ने व्यवस्था छ । त्रिविले उक्त प्रावधान हुँदाहुँदै त्रिवि निर्वाचन पनि नगराउने र स्ववियु संस्थाको अस्तित्व नै मेटाउने मनसायले उक्त व्यवस्था गरेको उनीहरूको अनुमान छ ।

त्रिवि स्ववियु सभापति श्यामराज ओझाले निर्वाचन नगराइ स्ववियु संस्था नै समाप्त पार्ने मनसायका साथ निर्देशिकामै त्यस्तो व्यवस्था गरिएको आरोप लगाए । ‘निर्देशिकामै व्यवस्था गर्नुपर्ने कारण छैन । त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० मा निर्वाचन हुन नसकेको खण्डमा एक वर्ष कार्यकाल थप गर्न सकिने व्यवस्था गरेकै छ । किन निर्देशिकामा मिति नै तोक्नुपर्ने ? यसमा हाम्रो आपत्ति हो,’ ओझाले भने ।

आफूहरू नियम २०५० अनुसार निर्वाचित भएर आएको तर, अहिले आएर निर्देशिका बनाएर पदमुक्त गराउन खोजिएको उनको भनाइ छ ।

दुई वर्षे कार्यकाल सकिन लागेका बेला स्ववियु सभापतिहरूले त्रिवि सभा राख्न माग गर्दै आएका छन् । स्ववियुहरूले उठान गरेका विद्यार्थीका हक हितका माग सम्बोधन गर्न विगतका त्रिवि सभामा आलटाल गरिएको भन्दै उनीहरूले सभा बोलाउन माग गरे पनि त्रिविले अहिलेको अवस्थामा सभा बोलाउन नसकिने प्रस्ट पारेको छ ।

पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले उपकुलपति कप प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै त्यसको छानबिनको माग गरेका छन् । आर्थिक अनियमितता गर्नेमाथि कारबाही गर्न माग गर्दै दुवै सभापतिको तर्फबाट तालाबन्दी गरिएको हो ।

स्ववियु निर्वाचनप्रति विद्यार्थी संगठन प्रतिबद्ध

विद्यार्थी संगठनहरू चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्नुपर्ने मनसायमा छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले चुनावको तयारी थालेका हुन् ।

उनीहरूले तालाबन्दी गर्ने, विज्ञप्ति जारी गर्ने सभापतिहरूलाई निर्वाचनमा असर पर्ने कुनै प्रकारका गतिविधि नगर्न सचेत गराएका छन् । त्रिविले शैक्षिक क्यालेण्डरमा तोके अनुसार नै निर्वाचन गराउनुपर्ने र निर्वाचन सम्पन्न गराउन आफूहरूको तर्फबाट गर्नुपर्ने सहयोग रहने उनीहरूको प्रतिबद्धता छ ।

तालमेल गर्दैनौँ, निर्वाचन गराउन नसके राजीनामा माग्छौँः बडाल

अनेरास्ववियु अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनमा प्रतिबद्ध भएर होमिएको बताए । निर्वाचनका लागि पूर्वतयारीहरू तीव्र गतिमा अघि बढिरहेको बताउँदै उनले क्याम्पस कमिटीका बैठक बसाउने, प्रदेशस्तरका भेला राख्ने जस्ता काम भइरहेको जानकारी दिए ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन र पहिलो शक्ति बन्नका लागि आफूहरू लागिपरेको उनको भनाइ छ । स्ववियु निर्वाचन विश्वविद्यालयको क्यालेण्डरमै राखिएकाले तोकिएको मितिमा गर्न नसकेको खण्डमा पदाधिकारीहरूले राजीनामा दिनुपर्ने उनले प्रस्ट पारे ।

‘स्ववियु निर्वाचन गर्न सक्दैनन् भने पदाधिकारीहरू त्यो पदमा बस्नु हुँदैन, छोड्नुपर्छ । निर्वाचन गराउन सकेनन् भने पदाधिकारीहरूको राजीनामा माग्छौँ । जो–जो निर्वाचनका विरुद्धमा लाग्छन्, तिनीहरूका विरुद्धमा भण्डाफोर अभियान पनि चल्छ,’ बडालले भने ।

विगतमा आफूहरूविरुद्ध सबै मोर्चाबन्दी भएर लाग्दासमेत निर्वाचन गराउन भूमिका खेलेको जिकिर गर्दै बडालले आफ्नो संगठनले जित्ने सुनिश्चत भएका क्याम्पसमा निर्वाचन गराउनै नदिएको आरोप लगाए ।

विगतको जसरी यस पटकको निर्वाचनमा भने तालमेल नगर्ने उनको भनाइ छ । स्थानीयस्तरमा साना क्याम्पसहरूमा तालमेल गरेको खण्डमा त्यसलाई नरोक्ने तर, केन्द्रीकृत रूपमा तालमेल नहुने उनले प्रस्ट पारे ।

विगतको भन्दा राम्रो नतिजा ल्याउछौँ : सेजुवाल

suraj sejwal

नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले आन्तरिक रूपमा निर्वाचनको तयारी गरिरहेका बताए । नेविसंघले स्ववियु जितेका आफ्ना सभापतिहरूसँग समेत छलफल गरेको छ ।

नेपाली कांग्रेसको पार्टी बैठकमा समेत स्ववियु निर्वाचनको विषयमा छलफल भएको छ । त्यस्तै देशभरका नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई निर्वाचनको तयारी जुट्न सर्कुलरसमेत जारी गरिएको छ ।

यो पटक उपत्यकाभित्र कुनै पनि हालतमा तालमेल नगरिने सेजुवाल बताउँछन् । देशैभर तालमेल गर्ने मनसाय नरहेको बताउँदै उपत्यका बाहिरका जिल्लाको हकमा जिल्ला अध्यक्षलाई नै अधिकार दिइएको बताए । उनीहरूले व्यावहारिकता हेरेर तालमेल तथा सहकार्य गर्ने भन्ने रहेको उनको भनाइ छ ।

‘देशभरका क्याम्पसहरूमा अवस्था कस्तो छ भनेर रिपोर्ट पनि लिइरहेका छौँ । विभिन्न समिति बनाउने गृहकार्य भइरहेको छ । घोषणापत्र बनाउने, प्रचारप्रसार गर्ने लगायतका समितिहरू बनाउन छलफल अघि बढेको छ,’ सेजुवालले भने ।

त्यस्तै नेपाली कांग्रेसका भ्रातृ संगठनहरूलाई समेत निर्वाचनमा परिचालन गर्नेगरी छलफल अघि बढिरहेको उनको भनाइ छ ।

तालाबन्दी गर्ने स्ववियु सभापतिहरूले उठाएका विषयमा त्रिवि पदाधिकारीहरूसँग समेत छलफल गरेको सेजुवालले बताए । त्रिवि पदाधिकारीहरूले माग सम्बोधनका लागि समिति बनेको र समितिले कामसमेत थालेको बताएको उनको भनाइ छ ।

यो पटक उपत्यकाभित्र कुनै पनि हालतमा तालमेल नगरिने सेजुवाल बताउँछन् । देशैभर तालमेल गर्ने मनसाय नरहेको बताउँदै उपत्यका बाहिरका जिल्लाको हकमा जिल्ला अध्यक्षलाई नै अधिकार दिइएको बताए । उनीहरूले व्यावहारिकता हेरेर तालमेल तथा सहकार्य गर्ने भन्ने रहेको उनको भनाइ छ ।

तालमेलको पक्षमा कोही छैनन्

bijaya-prakash-sapkota

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटाले निर्वाचनको तयारी अघि बढेको बताए । अखिल क्रान्तिकारीले शनिबार र आइतबार स्ववियु कार्यशाला गोष्ठी आयोजना गर्दैछ । त्यसमा स्ववियु निर्वाचनको रणनीति, जिल्लागत अवस्था लगायतका विषयमा छलफल हुने अध्यक्ष सापकोटाले बताए ।

निर्वाचनमा तालमेल नगरी एक्लै लड्ने योजना रहेको उनले प्रस्ट पारे । तल आ–आफ्नो क्याम्पसमा भूगोलले परिस्थिति अनुसार तालमेल गर्ने छुट भने दिइएको  तर, केन्द्रबाट तालमेल नगर्ने उनले बताए ।

अखिल क्रान्तिकारीको तर्फबाट अस्कल क्याम्पस सभापति प्रेम जैशीले शिक्षाध्यक्ष र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तालाबन्दी गरेका छन् । अध्यक्ष सापकोटाका अनुसार उनीहरूले राखेका विषय जायज भएकाले माग सम्बोधन गर्न वार्ताका लागि त्रिवि पदाधिकारीहरूले बोलाउनुपर्छ ।

त्रिवि रातो किताबमा स्ववियु निर्वाचन नभएको खण्डमा ६ महिना थप गर्न सकिने व्यवस्था रहे पनि निर्देशिका जारी गरेर कार्यकाल तोकिनु ठिक नभएको उनले बताए ।

एकीकृत समाजवादीका विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्ष महेश श्रेष्ठले समेत स्ववियु निर्वाचनको तयारी भइरहेको बताए । प्रदेश अनुसार कामको बाँडफाँट तोेकेर पठाइएको उनको भनाइ छ ।

पार्टीबाट पनि स्ववियु निर्वाचन गराउनुपर्छ भन्ने निर्देशन आएको बताउँदै त्यही अनुसार सिङ्गो संगठन निर्वाचनको तयारीमा जुटेको उनले बताए । केन्द्रबाट तालमेल गर्ने भन्ने नीति नरहेको बताउँदै उनले तल क्याम्पसहरूमा आवश्यकता अनुसार तालमेल गर्न सकिने प्रस्ट पारे । संगठनका तर्फबाट घोषणापत्र र अपिल बनाइसकेको जानकारी दिँदै उनले केही दिनमा सार्वजनिक गरिने बताए ।

नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव डीबी शाहीले स्ववियु निर्वाचनलाई संघर्षको मोर्चाको रूपमा प्रयोग गरिने बताए । वास्तविक स्ववियुका लागि भण्डाफोर गर्नसमेत आफूहरू निर्वाचनमा जान लागेको उनको भनाइ छ ।

सम्भव भएका सबै ठाउँमा उम्मेदवारी दिने र त्यसको लागि तयारी समेत अघि बढिसकेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप