शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती

शनिबार, १० फागुन २०८१, ०९ : ०४
शनिबार, १० फागुन २०८१

सर्लाही । नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी स्थानीय नागरिकहरूमाथि कुटपिट गर्ने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। पछिल्ला दुई हप्ताभित्र मात्र सर्लाही जिल्लामा दुई जना नेपाली नागरिक एसएसबीको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

पछिल्लो घटना सर्लाहीको बलरा नगरपालिकामा भएको हो। बिहीबार साँझ भारतको बसबीट्टा बजारबाट घर फर्किरहेका गोलु रायमाथि एसएसबीका जवानहरूले लाठी प्रहार गरेपछि उनी मोटरसाइकलसहित लडेका थिए। घटनामा उनको दाहिने खुट्टा गम्भीर रूपमा भाँचिएको थियो। गम्भीर अवस्थाका रायलाई काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो, तर खुट्टामा रगत जमेको कारण उनको खुट्टा नै काट्नुपरेको छ।

यसअघि, २८ माघ बिहान विष्णु गाउँपालिका–५ का राजीव पण्डित दशगजा क्षेत्र नजिकै रहेको आफ्नै खेतमा जाँदा एसएसबीले 'बोर्डरमा किन आएको ?' भन्दै अनाहकमा कुटपिट गरेका थिए। एसएसबीको आक्रमणबाट उनको बायाँ खुट्टा भाँचिएको छ र हाल मलंगवा प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ।

स्थानीयवासीहरूका अनुसार केही समययता दशगजा क्षेत्रमा एसएसबीको ज्यादती अत्यधिक बढेको छ। नेपाली नागरिकहरूमाथि गालीगलौज गर्ने, बेइज्जती गर्ने, र सानो कुरामा समेत कुटपिट गर्ने घटनाहरू दोहोरिन थालेका छन्। ग्रामीण भेगका नागरिकहरू आफ्नै खेतबारीमा जानसमेत डराउन थालेका छन्।

पीडित परिवारहरूले नेपाली प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन्। उनीहरूले सरकारसँग तुरुन्तै कूटनीतिक पहल गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

लगातार बढ्दो ज्यादतीप्रति स्थानीयवासी आक्रोशित छन् र दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप