सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

तुलसीपुर । केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो ।
विद्यालय रङ्गीचङ्गी छ । कोठामा म्याट, डेस्क, बेञ्च नयाँ छन् । त्यति मात्रै होइन, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ । विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयोग गर्दै आएको गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताए । गएको वर्ष ३२ थान डेस्क, बेञ्च, पुरानो चार कोठे भवनको रङरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताए ।
त्यस्तै विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरिएको छ । यो वर्ष पनि सोही विद्यालयलाई स्मार्ट बोर्ड दिने तयारी रहेको केसीको भनाइ छ ।
विद्यालयलाई थप दुई वटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्ने समेत प्रमुख केसीको भनाइ छ । स्मार्ट बोर्ड भएमा शिक्षक हाजिर नहुँदा पनि त्यही बोर्डमार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अवस्था नआउने केसीको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयबीच भगिनी सम्बन्धमा यसरी एकअर्काप्रति सहयोग आदानप्रदान हुने भन्दै यो सम्बन्ध जोडेर सहयोग गरिरहेको उनले बताए ।
भगिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीलाई जे आवश्यक पर्छ, त्योअनुरूप सहयोग गर्ने उनको भनाइ छ । साथै सोही विद्यालयमा अध्ययन गरेर निस्केका एक जना विद्यार्थीलाई उच्च शिक्षाका लागि पनि सहयोग गरिएको उनको भनाइ छ ।
निजी विद्यालयसँगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको मावि प्रतापकोटका व्यवस्थापन समिति अध्यक्ष लिलामणि बाँठाले बताए । “२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ”, उनले भने, “त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ ।” आवश्यक पर्ने डेस्क, बेञ्च, प्राजेक्टर, म्याट मात्रै होइन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीमा आकर्षण थपेको उनको भनाइ छ ।
विद्यालयले विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्ने गरेका छन् । सोहीअनुसार गोरखाका विद्यार्थीले समय–समयमा कपी, कलम, झोला, न्यानो कपडा सहयोग गर्दै आएका छन् । खाजा खर्च कटाएर यसरी सहयोग गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाँठाले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो