१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. रिंकुका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
अलग–अलग घटनामा मारिएका रिंकुकुमारी सदा र प्रकृति लम्सालका लागि न्याय माग गर्दै सिराहाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शुक्रवार सिराहाको नवराजपुर १ भगवतीकी रिंकुकुमारी सदा र प्रकृति लम्साल मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घ सिराहाले गोलबजारमा प्रदर्शन गरेको हो ।
२. जलहरी प्रकरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रतिवादी डा. प्रदीप ढकाल, डा.मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दोषी ठहर गर्दै बिगो र जरिवाना तिराउन तथा कैद सजाय हुनुपर्ने माग गरेको थियो । तर, विशेष अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै १८ वैशाख २०८१ मा उनीहरूलाई सफाइ दिएको थियो।
३. एकीकृत समाजवादीको बैठक, अनैतिक सम्बन्धको कुरा
नेकपा एकीकृत समाजवादी (एस)ले पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएको छ । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ । यस्तै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ ।
४. समिति बैठक
निजामती सेवा विधेयकमा शाखा अधिकृतले एक तह माथिमात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव सांसद र कानुन सचिवले गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा विधेयकको दफा १० माथिको छलफलमा बोल्दै उनीहरूले यस्तो प्रस्ताव गरेका हुन् ।
५. प्रहरी विधेयक
‘नेपाल प्रहरी विधेयक, २०८१’ मा ५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् । विधेयकमा सत्ता र प्रतिपक्षका सांसदबाट कुल ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले शुक्रबार जनाएको छ । सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार तीमध्ये प्रतिपक्षी दलका सांसदहरूले ३५ संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तापक्षीय दलका १७ संशोधन प्रस्ताव दर्ता भएका छन् ।
६. माओवादीको दाबी
नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे ।
७. सहकारी ठगी प्रकरण
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकैसाथ सुनुवाइ हुने भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा छविको मुद्दाको पेसी तोकिएको थियो । तर, सरकारी वकिलले लामिछानेको मुद्दालाई पनि जोशीको सँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन एकैसाथ राख्न आदेश गरेको उच्च अदालत तुलसीपुर ९बुटवल इजलास०का सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हिजो बिहीबार बेन्चको आदेश अनुसार एकैसाथ दुवै मुद्दा जान्छ ।’
८. वार्तामा बोलावट
ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेकाहरूलाई सरकारी वार्ता टोलीले वार्तामा बोलाएको छ । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो ।
९. बालेनको बोली
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
१०. चिकित्सकको आन्दोलन फिर्ता
चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदै सहमति भएको छ । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू शुक्रबारदेखि फिर्ता लिने र नियमित कार्यहरू सुचारु गरिएका हुन् ।
११. गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
नेपाली कांग्रेसका प्रदेश सांसद जीत शेरचनले सरकारले अपेक्षाकृत काम नगरेकोमा प्रश्न उठाएका छन् । ‘कि मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले मन्त्रीहरूलाई हत्कडी लगाएर बक्सिङ खेल्न पठाउनुभएको छ । कि त बक्सिङ खेल्नै नसक्ने मान्छे पठाइएको छ,’ उनले भने, ‘सरकारको परफर्मेन्स राम्रो भएन । नतिजा देखिएन ।’ गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ४ जना मन्त्री छन् । उनको प्रश्न आफ्नै पार्टीबाट मन्त्री बनेकाहरूलाई पनि थियो । उनले मन्त्रालयमा कर्मचारी हाबी भएको भन्दै सुधार गर्न सुझाए ।
१२. खेलकुदको तयारी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैतमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । यसअघि मंसिरमा हुने भनिएको प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै चैतमा (२३–३०) गतेसम्म हुने गरी मिति तय गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा मंसिर तेस्रो सातातिर बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको थियो ।