शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय

शुक्रबार, ०९ फागुन २०८१, २२ : ३६
शुक्रबार, ०९ फागुन २०८१

नयाँ दिल्ली । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश र गतिविधिहरूबारे दक्षिण एसियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले शुक्रवार जनाएको छ ।

देशको नाम स्पष्टसँग नलिइकन विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पाकिस्तानका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधा भएको सङ्केत गरे ।

साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै प्रवक्ताले भने, ‘दक्षिण एसियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार छन् ।’

दक्षिण एसियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल सुरु गरेपछि यो भनाइ आएको हो ।

विदेशमन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच मस्कटमा भएको बैठकमा सार्कबारे छलफल भएको प्रवक्ता जैसवालले खुलासा गरे ।

‘सार्क छलफलका लागि आयो कि भएन भन्ने विषयमा । हो, विदेशमन्त्रीले मस्कटमा बङ्गलादेशका विदेश सल्लाहकारसँग भेट गर्दा परराष्ट्र मामिला बैठकमा बङ्गलादेश पक्षले यो मुद्दा उठाएको थियो’, जैसवालले भने ।

गत हप्ता ओमानमा भएको हिन्द महासागर सम्मेलनको साइडलाइनमा छलफल भएको थियो ।

बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गरे । ‘विदेशन्त्रीले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो’, जैसवालले भने ।

ओमानमा भएको सम्मेलनमा दुई पक्षले आपसी चिन्ता र चासोका विभिन्न द्विपक्षीय मुद्दामा छलफल गर्नुभएको जयशङ्करले बैठकको बारेमा जानकारी दिए । साथै उनले वार्ता दुई देशबिचको द्विपक्षीय सम्बन्ध र बहु–क्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडी पहल (बिमस्टेक) मा केन्द्रित रहेको बताए ।

‘बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसैनसँग भेट गरेँ, कुराकानी हाम्रो द्विपक्षीय सम्बन्धका साथै बिमस्टेकमा केन्द्रित थियो’, जयशङ्करले एक्समा लेखेका छन् ।

बङ्गलादेशका विदेश मामिला सल्लाहकारले गङ्गा जल सन्धिको नवीकरणका लागि छलफल सुरु गर्ने महत्त्वमाथि जोड दिए ।

उनले सार्क स्थायी समितिको बैठकको महत्त्वमाथि पनि प्रकाश पार्दै यस सन्दर्भमा भारत सरकारलाई विचार गर्न अनुरोध गरे ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियामा राज्यहरूको क्षेत्रीय अन्तरसरकारी सङ्गठन र भू–राजनीतिक सङ्घ हो । यसका सदस्य राष्ट्रहरू अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप