गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट

पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद जीत शेरचनले सरकारले अपेक्षाकृत काम नगरेकोमा प्रश्न उठाएका छन् । ‘कि मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले मन्त्रीहरूलाई हत्कडी लगाएर बक्सिङ खेल्न पठाउनुभएको छ । कि त बक्सिङ खेल्नै नसक्ने मान्छे पठाइएको छ,’ उनले भने, ‘सरकारको परफर्मेन्स राम्रो भएन । नतिजा देखिएन ।’ गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ४ जना मन्त्री छन् । उनको प्रश्न आफ्नै पार्टीबाट मन्त्री बनेकाहरूलाई पनि थियो । उनले मन्त्रालयमा कर्मचारी हाबी भएको भन्दै सुधार गर्न सुझाए ।
शुक्रवार पोखरामा आयोजित एक कार्यक्रममा एमाले सांसद भीम कार्कीले मन्त्रीहरू जिल्ला जाँदा सांसदसँग संवाद नगरेकोमा प्रश्न गरे । ‘मन्त्रीहरू जिल्ला जाँदा माननीयहरूसँग समन्वय हुनुपर्यो । जाने र फर्किने मात्रै गर्दा समस्या थाहा हुँदैन,’ उनले भने, ‘कम्तीमा त्यही क्षेत्रका सांसदसँग कुराकानी भयो भने सहज हुन्छ ।’
गण्डकी सरकारमा एमालेका पनि ४ जना मन्त्री छन् । सत्ता साझेदारीको ६ महिनापछि गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलको संयुक्त बैठक बसेको छ । बैठकमा दुवै पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरू उपस्थित थिए । अधिकांशले सरकारको काममा असन्तुष्टि जनाए ।
सांसद डिल्लीराम सुवेदीले पनि सरकारको बजेट खर्चमा असन्तुष्टि जनाए । ‘योजना कार्यान्वयन किन कमजोर छ ? यति बलियो शक्ति मिल्दा पनि हामी किन कमजोर भएका छौँ ? फागुन लागिसक्दा बजेट कार्यान्वयन किन कमजोर भयो ?,’ उनले प्रश्न गरे ।
योजना छनोटदेखि बजेट विनियोजनसम्म सांसदसँग सहकार्य नगरिएको उनीहरूको आरोप छ । यसअघि मन्त्री बनिसकेका सांसद महेन्द्र ध्वज जिसी चाहिँ प्रदेशका अधिकार नहुँदा प्रभावकारी काम सरकारले देखाउन नसकेको बताउँछन् । ‘मन्त्री हुने फोटो खिचाउनका लागि मात्रै रहेछ । पहिला मैले खिचाएँ, फेरि कसैको पालो आउँदैछ,’ उनले भने, ‘स्रोतको खोजी गरौँ । बजेटमा मात्रै ध्यान नदिऔं ।’
समानुपातिक सांसदहरूले सरकारबाटै आफूहरू विभेदमा परेको गुनासो गरे । सांसद कल्पना तिवारीले समानुपातिक सांसदहरूले संसदभित्रै विभेद भोग्नुपरेको बताइन् । ‘प्रत्यक्ष र समानुपातिक सांसदबिच ठुलो विभेद छ । समानुपातिक र प्रत्यक्ष फरक हो भन्ने महसुस हुने गरी नै विभेद गरिएको छ,’ उनले भनिन्, ‘तपाईंहरु (प्रत्यक्ष निर्वाचित) भित्र बस्ने र हामी (समानुपातिक) बाहिर बस्ने सांसद हौँ र ? नत्र यो विभेद किन ?’
सांसद राजकुमारी भुजेलले सरकार र संसदीय दलले समेत समानुपातिकलाई कम प्राथमिकता दिएकोमा गुनासो पोखिन् । ‘हामी समानुपातिक माननीय नै होइनौँ जस्तो व्यवहार सरकार र संसदीय दलबाटै भइरहेको छ,’ उनी भन्छिन्, ‘कि सांसद होइन भन्नुपर्यो । सांसद हो भने सांसदको जस्तै व्यवहार गर्नुपरयो ।’
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारी गठबन्धन बलियो भए बजेट विनियोजन र योजना कार्यान्वयन अझै प्रभावकारी हुने बताउँछन् । ‘यो गठबन्धन पहिले नै भएको भए राम्रो हुन्थ्यो, ठुला दलबाट जनताले विश्वास गरेका छन्,’ उनले भने, ‘जनताका अपेक्षा धेरै छन्, बजेट धेरै छैन । अब स्रोतको खोजीमा पनि सरकार लाग्नुपर्छ ।’
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुराना योजनाको दायित्वले नयाँ योजना थप्न समस्या परेको बताए । ‘पुरानै दायित्व धेरै छ । धेरै योजनाहरू अधुरा छन्,’ उनले भने, ‘आगामी बजेट अधुरा योजना सम्पन्न गर्नेतर्फ विनियोजन गर्नुपर्छ । सरकारले त्यसमा ध्यान दिएको छ ।’