शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : नेकपा (एस)को आचारसंहितामा अनैतिक सम्बन्धको सवाल, जलहरी प्रकरणमा अख्तियारको एक्सन

शुक्रबार, ०९ फागुन २०८१, २२ : ००
शुक्रबार, ०९ फागुन २०८१

आज मिति २०८१ साल फागुन महिनाको ९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. एकीकृत समाजवादीको बैठक, अनैतिक सम्बन्धको कुरा

नेकपा एकीकृत समाजवादी (एस)ले पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएको छ ।

शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।

यस्तै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ । यस्तै बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

यस्तै कम्युनिस्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामूहिकतावाद स्थापित गर्नु भएको आचारसंहितामा उल्लेख छ । जसअनुसार यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु भएको आचारसंहितामा उल्लेख छ ।

महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेखसहित आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।’

२. जलहरी प्रकरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रतिवादी डा।प्रदीप ढकाल, डा।मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दोषी ठहर गर्दै बिगो र जरिवाना तिराउन तथा कैद सजाय हुनुपर्ने माग गरेको थियो । तर, विशेष अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै १८ वैशाख २०८१ मा उनीहरूलाई सफाइ दिएको थियो।

३. समिति बैठक

निजामती सेवा विधेयकमा शाखा अधिकृतले एक तह माथिमात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव सांसद र कानुन सचिवले गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवा विधेयकको दफा १० माथिको छलफलमा बोल्दै उनीहरूले यस्तो प्रस्ताव गरेका हुन् ।

 

४. प्रहरी विधेयक

‘नेपाल प्रहरी विधेयक, २०८१’ मा ५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् ।  विधेयकमा सत्ता र प्रतिपक्षका सांसदबाट कुल ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले शुक्रबार जनाएको छ ।

सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार तीमध्ये प्रतिपक्षी दलका सांसदहरूले ३५ संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तापक्षीय दलका १७ संशोधन प्रस्ताव दर्ता भएका छन् ।

 

५. माओवादीको दाबी

नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे ।

६. सहकारी ठगी प्रकरण

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा एकैसाथ सुनुवाइ हुने भएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा छविको मुद्दाको पेसी तोकिएको थियो ।

तर, सरकारी वकिलले लामिछानेको मुद्दालाई पनि जोशीको सँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन एकैसाथ राख्न आदेश गरेको उच्च अदालत तुलसीपुर (बुटवल इजलास)का सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हिजो बिहीबार बेन्चको आदेश अनुसार एकैसाथ दुवै मुद्दा जान्छ ।’ 

७. वार्तामा बोलावट

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेकाहरूलाई सरकारी वार्ता टोलीले वार्तामा बोलाएको छ ।  गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले शुक्रवार विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न वार्ता आउन आग्रह गरेको हो ।

८. बालेनको बोली

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।

विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

 

९. चिकित्सकको आन्दोलन फिर्ता

चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदै सहमति भएको छ । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू शुक्रबारदेखि फिर्ता लिने र नियमित कार्यहरू सुचारु गरिएका हुन् ।

१०. खेलकुदको तयारी

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैतमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । 

यसअघि मंसिरमा हुने भनिएको प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै चैतमा (२३–३०) गतेसम्म हुने गरी मिति तय गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा मंसिर तेस्रो सातातिर बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको थियो ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप