शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

नवराजपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

शुक्रबार, ०९ फागुन २०८१, २१ : १६
शुक्रबार, ०९ फागुन २०८१

सिरहा । नवराजपुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै सिरहाका करिब दुई दर्जन सामाजिक संघ–संस्थाहरूले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरमा बलात्कारपछि भएको शंकास्पद मृत्यु घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठन गर्नुपर्ने मागसहित आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहामा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा घटनामा संलग्न तीन युवक तथा बलात्कार घटना मिलाउन गाउँमै पञ्चायती गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ। साथै, पीडित परिवारलाई निरन्तर धाक, धम्की दिइएको भन्दै उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न पनि आग्रह गरिएको छ।

स्थानीय प्रशासनले घटनाको प्रकृति अनुसार मुचुल्का उठाएर शवको पोष्टमार्टम लहान बाहिर गरिनुपर्ने मागप्रति बेवास्ता गर्दै मृत्यु भएको तेस्रो दिन मात्र शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको छ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डल अझै फरार रहेको बताइएको छ। साथै, घटना दबाउन भूमिका खेल्ने वडा सदस्य नथुनी साहसहित स्थानीय अगुवा रामप्रित साह, रामकृष्ण मण्डल, रामपुकार मण्डललगायतलाई कानुनी कारबाही गर्न माग गरिएको छ।

घटनाको ११ दिन बितिसक्दा पनि संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा नलिएको भन्दै प्रहरी प्रशासनको नियतमाथि समेत प्रश्न उठाइएको छ।

यसैबिच, माघ २१ गते लहान नगरपालिका–१४, बस्तिपुरस्थित माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय कृष्ण राममाथि जातीय विभेद गरिएको घटनाप्रति पनि सामाजिक संघ–संस्थाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। विद्यालयमा परम्परादेखि नै कक्षा ९ का प्रथम विद्यार्थीले सरस्वती पूजा गर्ने चलन रहे पनि जातीय कारणले रामलाई पूजा गर्न नदिएको घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको संज्ञा दिइएको छ।

सामाजिक संघ–संस्थाहरूले उक्त घटनामा कानुनी उपचार सुनिश्चित गर्नुपर्ने माग समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप